भरतपुर, १७ असोज ।
कथाकार निर्दोष जीवनको कथासंग्रह `मैयाँ´को दोस्रो संस्करण सार्वजनिक भएको छ । दोस्रो संग्रहमा ३१ वटा कथाहरू छन् ।
सङ्ग्रहका सबै कथाहरू सामाजिक बिसयमा लेखिएका छन् । गर्भपतनजस्तो आपराधिक प्रवृत्ति, अभिभावकबिनाको जीवनमा भोग्नुपरेका दुःख – कष्ट – यौवनलाई पैसासँग साट्न विवश चेलीको दर्दनाक कथालाई कथाकारले मीठो गरि कथामा बुनेका छन् । क्याम्पसको जीवनशैली, सहरिया जीवनले बिर्साएको गाउँघर, गरिबीले निम्त्याएका यावत पीडा, छोराछोरीबीचको विभेद, मनको शङ्काले मित्रतामा आएको दरारजस्ता विषयवस्तुलाई कथाकार जीवनले विभिन्न कथामा उतारेका छन् । `यस कथासङ्ग्रहमार्फत मैले हामी आफैले बाँचेको समाजको यथार्थचित्र उतार्ने कोसिस गरेको छु´, कथाकार जीवनले भने ।
मैयाँको पहिलो संस्करण युरेका पब्लिकेसन्सबाट २०७५ सालमा प्रकाशित भएको हो । सङ्ग्रहमा अन्य कथाहरू पनि थपेर दोस्रो संस्करणका रूपमा इन्डिगोइन्क पब्लिकेसन्सबाट यो कृति असोजको पहिलो साता बजारमा आएको हो । १६६ पृष्ठको पुस्तकको मूल्य २९९ रुपैयाँ रहेको छ ।





