भरतपुर, १७ असोज ।
कविडाँडा आख्यान पुरस्कार- २०७८ लोकराज भट्टको `छाइल´ उपन्यासलाई दिइने भएको छ ।
कविडाँडा साहित्य समाज चितवनले केही वर्षदेखि हरेक वर्ष दिँदै आएको यो पुरस्कार यसवर्ष `छाइल´ उपन्यासलाई दिने निर्णय गरेको छ ।
`नेपाली भाषामा प्रकाशित आख्यानहरूमध्ये कुनै एक कृतिलाई प्रत्येक वर्ष अर्पण गरिने यो पुरस्कारका लागि यस वर्ष बुक्स हिमालयद्वारा प्रकाशित साहित्यकार लोकराज भट्टको उपन्यास ‘छाइल’ छनोटमा परेको छ´ कविडाँडाले सार्वजनिक गरेको बिज्ञप्तिमा भनिएको छ ।
पच्चिस हजार रुपैयाँ नगद राशि रहेको यो पुरस्कार पहिलोपटक २०७५ सालमा महेश थापाको कथासंग्रह `मरिचिका´लाई दिइएको थियो । त्यसपछि २०७६ सालमा भुवन शर्माको `परित्यक्ता´ उपन्यास र २०७७ मा आख्यानकार श्याम साहको कथा सङ्ग्रह “पथेर”लाई दिइएको थियो । त्यस्तै आगामी वर्ष २०७९ देखि यो पुरस्कारको राशि एकलाख पच्चिस हजार रुपैयाँ पुर्याइने कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले जानकारी दिए ।
यो पुरस्कार आगामी कात्तिक ५ गते शनिबार चितवनमा कार्यक्रमको आयोजना गरि प्रदान गरिने पुरस्कार निर्णय समितिका सदस्य सुरेन्द्र अस्तफलले बताए ।
पश्चिम नेपालको डोटी घर भएका लेखक भट्टले छाइल पुस्तकमा प्रेम बाल्यकालहुँदै युवावस्थामा प्रवेश गर्ने हुँदा युवाहरुले भोगेको र जान्नुपर्ने कथा यस उपन्यासमा समेटिएको बताए । उनले उपन्यासमा डोटीका भुइँमान्छेहरुको कथा ल्याएको र तत्कालीन परिवेश अनुसार नै कथा समेटिएको हुँदा जानाजान कुनै पक्षलाई तल र कुनै पक्षलाई माथि नपारेको प्रस्ट पारे ।





