गैंडाकोट, १५ असोज ।
गैंडाकोट नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष प्रेम सापकोटाले हरेक चाडपर्वलाई मितव्ययी तरिकाले मनाउन आग्रह गरेका छन् । बडादशैं २०७९ को अवसरमा आयोजित शुभकामना आदानप्रदान एवम् अनुभव साटासाट कार्यक्रममा बोल्दै वडाध्यक्ष सापकोटाले हिजोआज चाडपर्व मनाउने नाउँमा अनावश्यक तडकभडक र देखासिकी बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । `चाडपर्वमा देखासिकी गर्ने चलन बढ्दो छ । संस्कार र परम्परा जोगाउने नाउँमा अनावश्यक तडकभडक गर्दा सामाजिक सद्भाव खलबलिन पुग्छ । हामीले मितव्ययी तरिकाले आफ्ना चाडपर्वहरू मनाउनुपर्छ´, सापकोटाले भने ।
बागेश्वरी असल शासन क्लब (बास)नवलपुर शाखाको आयोजनामा विजय विकास स्रोत केन्द्रको सभाहलमा कार्यक्रम गरिएको हो ।
क्लबका कोषाध्यक्ष शिव पौडेलले बागेश्वरी असल शासन क्लबले भ्रष्टाचारविरुद्धका कार्यक्रम गर्दै आइरहेको अवस्थामा दशैं, तिहार, नेपाल संवत् र छठ पर्वको अवसर पारेर शुभकामना आदानप्रदानको कार्यक्रम राखिएको बताए । क्लबका उपाध्यक्ष राजेन्द्र पौडेलले युवा, वयस्क र ज्येष्ठ नागरिकका दशैं अनुभव सुनेर चाडपर्वका महत्त्व र बिशेषता आजका पुस्तालाई सुनाऔँ भनेर कार्यक्रम गरिएको बताए । दशैंका अनुभव साटासाट कार्यक्रमका सहभागी सबैले बाल्यकालको दशैंलाई स्मरण गरेका थिए । पत्रकार सुजन अधिकारीले लिंगे पिङ खेल्न लाइन लागेर पर्खनु परेको स्मरण गरे । अर्का सहभागी चुन्न पौडेलले दशैंमा मामाघर प्यारो हुने तर आफ्नो मामाघर टाढा भएकोले जानलाई समस्या भएको स्मरण गरे ।
पत्रकार रमेशकुमार पौडेलले दशैंमा कुराउनी पकाएर खाएको प्रसङ्ग सम्झिए । नवविवाहिताले पहिलोपटक दशैंमा ससुराली जाँदा पाथीभरि कुराउनी बोकेर जाने प्रचलन रहेको बताए । `जन्त गएकाहरूले दशैँमा बेहुलाको घरमा दुध दिनुपर्ने र संकलन गरिएको दुधबाट कुराउनी बनाएर ससुराली जाने प्रचलन हिजोआज विस्तारै लोप हुने अवस्थामा छ´, पौडेलले भने ।
त्यसैगरी प्राध्यापक गोविन्द रिमालले दशैंमा घर रङ्ग्याउन रातो माटो र कमेरो माटोको प्रयोग गरिने र उक्त माटो लिनलाई नजिकैको जंगलमा गएको स्मरण गरे । कवि एवम् युवा व्यवसायी भानु सापकोटाले दशैंमा नयाँ लुगाको रूपमा बुबाले स्कुलको ड्रेस किनिदिएको र खुसी भएर लगाएको स्मरण गरे । आफ्ना बाबुनानीलाई चाडपर्वका महत्त्व बुझाएर सभ्य तरिकाले मनाउन सिकाउनु पर्नेमा जोड दिए । अविरल यात्री, लेखराम सापकोटा, प्रदीप चौधरी, प्रेम क्षेत्री, भूमिलाल पौडेल,एकराज सुवेदी, शंकर आचार्य, माया कँडेललगायतले पनि बाल्यकालको दशैँ सम्झँदै त्यतिबेलाका गतिविधिहरू सुनाएका थिए ।
ज्येष्ठ नागरिक रामलाल पराजुलीले पनि दशैंमा गाउँघरको रौनक बेग्लै हुनेगरेको बताए । `परिवारका सबै सदस्य जम्मा हुन्थे, टोलभरी रमाइलो हुन्थ्यो, आजभोलि घरमा रमाइलो हुन्छ, चोक चौतारा सुनसान हुन्छन्´, पराजुलीले भने । बागेश्वरी असल शासन क्लब नवलपुर शाखाका अध्यक्ष तेजेन्द्र रानाले भ्रष्टाचार विरुद्ध र सुशासनका पक्षमा लागिरहने प्रेरणा मिलोस् भन्दै सबैलाई शुभकामना व्यक्त गरे ।




