राप्ती, १४ असोज ।
विकट पहाडी गाउँ राप्ती नगरपालिका-१३ मा पर्ने लाेथरकाे कान्दा, ज्यारबाङ ,भजेउरा, डिङमाङ डाँडा र कालीखोलाका एक सय घर चेपाङ परिवारलाई दशैंका लागि खाद्यान्न सहयाेग प्राप्त भएकाे छ । प्राप्त सहयोगलाई शुक्रबार लाेथर कालिखाेलामा वितरण गरिएकाे छ ।
विकट चेपाङ गाउँ कान्दा रूपान्तरणमा १२ वर्षदेखि सक्रिय रहँदै आएकाे मितेरी फाउण्डेशन नामक संस्थाले दशैं सद्भाव काेसेली कार्यक्रम अन्तरगत खाद्यान्न सहयाेग गरेकाे हाे । संस्थामा आवद्ध बालकृष्ण थपलियाका अनुसार प्रति परिवारले ३० केजी चामल, नुन, तेल, साबुन, मसला प्राप्त गरेका छन् । एक लाख ८८ हजार रूपैयाँ बराबरकाे सामग्री वितरण गरेकाे थपलियाले बताए ।
संस्थाका पदाधिकारी, सदस्य शुभचिन्तकहरूले रकम जुटाएर काेशेली पठाएका हुन् ।
कान्दा गाउँमा ६७ सालकाे जेठमा जंगली विषालु च्याउ खाएर एकै परिवारका आठ जनाकाे निधन भएकाे थियाे । त्यसकाे समाचार संकलन गर्न कान्दा पुगेका पत्रकार एकल सिलवालले त्यहाँकाे दुरदशा देखेर रूपान्तरण अभियान चलाउन आफ्ना मीत रंगकर्मी रवीन्द्रसिंह बानियाँसँग मिलेर मितेरी फाउण्डेशन नामक संस्था खाेलेका थिए ।





