भरतपुर, ९ असोज ।
नेपाली सुनचाँदी व्यवसायी संघ चितवनले सातबुँदे माग सार्वजनिक गरेको छ । संघले आइतबार विज्ञप्ति जारी गर्दै सात बुँदे माग सार्वजनिक गरेको हो ।
संघका प्रवक्ता विकास बर्माद्वारा जारी विज्ञप्तिमा प्रादेशिक संरचनाको आधारमा बागमती प्रदेशलाई छुट्याइएको सुन चितवन जिल्लाले समेत पाउनुपर्ने र नेपालमा आयात भएका एवं पुराना गरगहना खरिद गर्दा वितरणको व्यवस्था गर्न राष्ट्रिय गोल्ड बैंकको स्थापना गर्नुपर्ने उल्लेख छ ।
विज्ञप्तिमा हाल सुन वितरणका लागि नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागको सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि २०६८ तत्काल खारेज गरी व्यक्तिगत खाता नम्बर (पिएएन) को आधारमा सुन आयात तथा बिक्री वितरणको कार्यविधि निर्माण गर्न माग गरिएको छ ।
संघले प्रतिदिन १० केजीको दरले सुन आइरहँदा ६० प्रतिशतभन्दा बढी सीमित आठ जिल्लालाई दिएर बाँकी ४० प्रतिशत अन्य ६९ जिल्लालाई वितरण गर्ने कस्तो न्याय भन्दै प्रश्न समेत गरेको छ । छाता संगठनहरुले आफ्नो परिवारको नाममा एसोसिएट संस्था खोलेर घुमाईफिराई आफ्नै पोल्टामा सुनको कोटा पार्ने गरेको संघको आरोप छ ।





