उपभोक्तावादले छोपिए मौलिक चाडपर्व

भरतपुर, ८ असोज ।
चाडबाडमा पुँजीवादको प्रभाव विषयमा छलफल गरिएको छ । लेट्सटकको विमर्श कार्यक्रममा पत्रकार रमेशकुमार पौडेल र विपिन पाठक सहभागी थिए ।

कवि एवम् शिक्षक विपिन पाठकले उपभोक्तावादले समाजलाई बेस्सरी गाँजेको बताए । पुँजीवादको प्रभाव पहिले-पहिले पनि परिरहेको अवस्थामा आजका दिनमा भने सिंगो समाज नै उपभोक्तावादबाट आक्रान्त बनेको उनले बताए ।

हिजोआज कुन मान्छेसँग कति सम्पत्ति छ ? उसले कति खर्च गर्न सक्छ ? भनेर उसको मूल्यांकन हुने गरेको बताए । विशेषगरी चाडपर्वमा गरिने तडकभडक र आडम्बरले हाम्रा चाडपर्वका उल्लास र मनोहर हराउँदै गएको पाठकले बताए ।

अर्का वक्ता पत्रकार रमेशकुमार पौडेलले ठूला साना चाडपर्व मनाउने प्रचलन फेरिएर आधुनिक बनेको बताए । दशैँमा कमेरो र रातो माटोले घर लिपपोत गर्ने, बाबियो र बाँसको लिँगोको पिङ हाल्ने परिपाटी लगभग हराएको बताए । नयाँ धान र चिउरा खाने प्रचलन लोप भएकोमा आफ्नो जमीनमा आफै उत्पादन गर्नुपर्नेमा जोड दिए । `बजारका रेडिमेड सामग्रीले हाम्रो समग्र दैनिकी छोपेर हामीलाई पूर्णरूपमा बजारमुखी बनाएको छ, हामी यसरी बजारमुखी हुनु आफैलाई घातक हो´, पौडेलले भने ।

समीक्षक उदय अधिकारीले पुँजीवाद उन्मुख हामीलाई पैसाले जकडेको बताए । ‘पैसा कमाउनका लागि सबथाेक गरिन्छ’, उनले भने- ‘पुँजीवाद हाम्राे जीवन बनिसक्याे, अब यसलाई हटाउन सकिँदैन ।’

सामाजिक अभियन्ता दीपक पाण्डेले पुँजीवादकाे विराेध गर्ने भन्दैमा फेरि पुरानै युगमा फर्किन सम्भव नभएकाे बताए । ‘अहिलेकाे समयलाई कसरी पृथक, मितव्ययी र उत्कृष्ट बनाउने भन्ने साेच्नुपर्छ’, उनले भने- ‘पुँजीवादी व्यवस्था मान्दिनँ, पूरै पुरानै जीवनशैली अपनाउँछु भन्न सम्भव छैन ।’

पत्रकार तथा उपन्यासकार सूर्यप्रकाश कँडेलकाे मत पनि पाण्डेसँगै मिल्दाेजुल्दाे थियाे । उनले समयसँगै जिउने शैली र व्यापारकाे ढंग परिमार्जन र परिवर्तन हुँदै गएकाे बताए । सञ्चारकर्मी पूजा परियारले पुँजीवादलाई एकाेहाेराे नराम्राे रूपमा मात्रै प्रस्तुत गर्न नहुने बताइन् । ‘पुँजीवादका राम्रा पक्ष पनि छन्’, उनले भनिन्- ‘दलित परिवारमा पहिले चाडबाडकाे बेला बाहुन क्षेत्रीकाेमा भाग थाप्न जाने चलन थियाे, अहिले आफैँ कमाउने भए, व्यापार गर्ने भए ।’

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट