भरतपुर, ८ असोज ।
थारु संस्कृतिको जगेर्नाका लागि कालिका एफएम, कालिका एचडी तथा थारु कल्याणकारिणीसभा चितवनको आयोजनामा यमोसा उत्सव कार्यक्रम हुँदैछ । कालिका एफएम परिसरमा शनिबार विहान ११ बजेपछि यमोसा उत्सव कार्यक्रम हुन लागेको हो । कालिका एफएमको गौरवमय २० औँ वार्षिकोत्सवका अवसरमा हुन लागेको यमोसा उत्सव कार्यक्रमले लोप हुने अवस्थामा पुगेको थारु संस्कृति जगेर्नामा सघाउने विश्वास लिइएको छ ।
थारु समुदायले यमोसा पर्व दिवंगत भएका आफन्त तथा पितृहरुको सम्झनामा मनाउने गरिन्छ । कालिका एफएमका निर्देशक दीपक पौडेलले थारु समुदायको कला, संस्कृति उजागर गर्दै प्रर्वद्धन गर्न कार्यक्रम गर्न लागिएको बताए । कार्यक्रममा यमोसा मनाउने विधि, महत्वबारे समेत चर्चा हुने पौडेलले जानकारी दिए ।
कार्यक्रममा थारु समुदायका मौलिक नृत्यहरु समेत प्रस्तुत हुनेछन् । थारु कलाकारहरुको बेजोड प्रस्तुती समेत यमोसा उत्सव कार्यक्रममा समावेश हुनेछन् । कार्यक्रम कालिका एफएम, कालिका एचडीबाट प्रत्यक्ष प्रशारण हुनेछ । थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललित चौधरीले यमोसा पर्वबारे जानकारी गराउने उद्देश्यले यमोसा उत्सव कार्यक्रम गर्न लागिएको बताए । यमोसा पर्व दुई दिन मनाइन्छ । आज शनिबार मछुवारी (माछा मार्ने) दिन र भोलि आइतबार पितृको पूजा गरेर आफन्ती बोलाएर माछा, मासुलगायतका परिकारहरु खाने प्रचलन रहेको छ । यमोसा उत्सवमा चितवनका थारु समुदायका अगुवाहरु, जनप्रतिनिधिलगायतको सहभागिता रहनेछ ।




