बर्खामा राप्तीले बगाएर ल्याएका रुखका जराहरू बगरमा त्यसै मिल्किएका थिए । सामुदायिक वनमा पनि त्यस्ता जरा थुप्रै देखिन्थे । भरतपुर १३, गंगानगरका शंकर महतो थारूलाई त्यो मिल्किएको जरालाई कसरी आकर्षक बनाउन सकिएला भन्ने खुल्दुली लागिरहन्थ्यो । कोभिड–१९ का कारण निषेधाज्ञा जारी भयो । शंकरले त्यो समयलाई अवसरका रूपमा लिए । दैनिक १८ घन्टासम्म खटेर रूखका जरामा रंगरोगन गरे । शंकरले दर्जनभन्दा बढी रूखका जरामा कला मिसाएर चिटिक्क बनाए । कुनै बेला बगरमा त्यसै मिल्किएका जरा हेर्न अहिले पर्यटकको भिड बढ्न थालेको छ । कुनै समय मिल्किएका जराहरुमा अहिले टिकटक बनाउन र सेल्फी खिच्न पुग्नेको भिड छ ।
विदेशीको सिको गर्दै अम्रेला स्ट्रिट बनाउने प्रतिस्पर्धा चलेको बेलामा भरतपुर–१३ को छितामाईमा पुग्दा साँच्चै गाउँले परिवेशको झल्को मिल्छ । उनले जराको सदुपयोग मात्रै गरेनन्, उनकै सक्रियतामा छितामाई छत्री पुल, छितामाई काठेपुल निर्माण सम्पन्न भयो । उनकै अगुवाई र सक्रियतामा थारू सांस्कृतिक संग्रहालय चितवनमै बनिरहेको छ । राप्तीमाथि काठकै फ्लाई पुल निमार्णको क्रममा छ, जहाँबाट सजिलै राप्तीको अवलोकन गर्न सकिन्छ ।
थारुले बनाएको जराकै कुरा गरौँ । एउटा जरालाई सिंगार्न उनलाई दुई हप्ता लाग्यो । बिहान चिया पिएर निस्किन्थे । आँखाले काम गर्न सकिञ्जेल काम गर्थे । उनी खुसी हुँदै भन्छन्, ‘सुरुमा त के गर्न लाग्यो भन्नेहरू पनि अहिले प्रशंसा गर्छन् । दुई वर्षको लगातार कामको रिजल्ट देखिँदै छ । कामलाई निरन्तरता दियो भने हुने रहेछ ।’ छितामाई छत्री पुल बनाउन भरतपुर महानगरपालिकाले सहयोग गरेको छ । अन्य संरचनाका लागि राष्ट्रिय निकुञ्ज र तराई भूपरिधि कार्यक्रमबाट आर्थिक सहयोग मिल्यो । यो क्षेत्र नेपाल सरकारको एक सय पर्यटकीय गन्तव्यभित्रको क्षेत्र पनि हो ।
थारु पटिहानी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष पनि हुन् । तर कार्यलयमा भन्दा बढी वनजंगलको सरसफाई र संरक्षणमा भेटिन्छन् उनी । गाउँ छोडेर जादाँ उनलाई राम्रोसँग निद्रा लाग्दैन । लागोस् पनि कसरी ? उनी आफ्नै गाउँको वन र वातावरण संरक्षणमा रमाएको १६ वर्ष भयो । समिति अन्तर्गत बेलसहर र वीरेन्द्रनगर सामुदायिक वन उपभोक्ता समूह छ ।
मन्त्री बन्ने चाहना
राजनीतिका लागि उनले जागिर छाडेका शंकर महतोले समुदाय छोड्न सकेका छैनन् । ‘उसिनेको फर्सीमात्रै खाएर पनि दिन काटियो’ शंकर भन्छन्, ‘दुःख गरेर आइएस्सीसम्म पढेँ ।’ कक्षा तीन पढेपछि उनका बुबाले चिठीपत्र पढ्न नसक्ने भइस् अब नपढ्नू भनेका थिए । तर, उनले मामाघर गएर पढे । पढाइ रोकिएपछि २०३४ देखि २०४८ सालसम्म विभिन्न विद्यालयमा अंग्रेजी र गणित विषय पढाए । पछि शिक्षकको जागिर छाडेर उनी फुलटाइम राजनीतिमा लागे ।
तत्कालीन नेकपा एकता केन्द्रको कार्यालय सचिवको जिम्मेवारी पूरा गरेका उनले एक दिन मन्त्री बन्छु भन्ने सोचले शंकर महतोको पछाडि थारु लेख्न र भन्न थाले । राजनीतिमा लाग्नु अघि आफ्नो थर महतो लेख्ने शंकरले राजनितिमा लागेपछि थारु लेख्न थाले । उनी भन्छन्, ‘एक दिन मन्त्री बन्छु भन्ने सपना पनि देखेको थिएँ । तर, कहिल्यै पनि कसैको चाकरी गरेर अगाडि बढ्न खोजिनँ ।’
अहिले आफूले बनाएको नेता देख्दा उनको मन खिन्न हुन्छ । ‘हाम्रो परिवेश अर्कै थियो । विगतमा हाम्रा साथीहरु भएको सम्पत्ति पार्टीमा दिएर झोला बोकर निस्कनु हुन्थ्यो । अहिले पैसाको झोला बोकेर राजनीतिमा निस्कन्छन् । देशको अस्मिता नै बेचेर नेता बनेको देखेर दिक्दार लाग्छ’ उनले भने ।
थारु सुकुमबासी हुन् । बेलसहर सामुदायिक वनछेउकै ऐलानी जमिनमा दुई छोरा र दुई छोरीसँगै बस्छन् । उनकी श्रीमती लामो समय बिरामी भएर २०६७ सालमा संसारबाट बिदा भइन् । उनी प्रायः साइकलमै भेटिन्छन् । प्रकृति संरक्षणमा उनी दिनरात नभनी खटिरहन्छन् । तर, उनी आफ्नो कामप्रति अझै सन्तुष्ट छैनन् । ‘जसरी काम गर्नुपर्ने थियो, त्यसरी काम गर्न सकिएन,’ उनी भन्छन्, ‘कहिले बजेट हुँदैन, कहिले टिम मिल्दैन ।’
शंकर लगातार तेस्रोपटक पटिहानी मध्यवर्ती उपभोक्ता समितिको अध्यक्ष भए । पहिलो कार्यकालमा बजेट नै नआएपछि निकुञ्जमा आन्दोलन गर्न गए । दोस्रो कार्यकालदेखि केही बजेट आउन थाल्यो । भन्छन्, ‘अहिले बजेट त आयो तर कोभिडले कामै गर्न सकिएन ।’ उनले संरक्षणसँगै स्थानीयको आयआर्जनको लागि विभिन्न काम पनि गरेका छन् । मानव र जनावरको द्वन्द्व न्यूनीकरण गर्न पर्खाल निर्माण भएका छन् । सामुदायिक वनलाई आकर्षक र पर्यटकीय स्थल बनाइएको छ ।
छितामाई
भरतपुर १३ को बेलसहर सामुदायिक वनमा विफरको देवीको रुपमा थारुहरुले पुज्ने मन्दिर छितामाई छ । कसैले सिता भन्ने गरे पनि थारुहरु यसको वास्तविक नामा छिता भएको बताउँछन् । झण्डै २ सय वर्षको इतिहास रहेको यो मन्दिरमा रहेका पुजारी उनको परिवारको पाँचौँ पुस्ता हुन् । किम्बदन्ती अनुसार विक्रम बाबालाई थारुहरुले छितामाईको भाइको रुपमा पुज्दै आएका छन् । विक्रम नाम गरेको आदिवासी (गुरौ) को नाममा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र चैते दशैंको अवसरमा विक्रम बाबा मेला लाग्ने गर्छ ।
सहजै देखिन थाले बाघ
‘व्यक्तिगत स्वार्थ र विकासका नाममा जथाभावी वनजंगल मास्दा जंगली जनावारले वासस्थान परिवर्तन गरेका रहेछन् । अचेल दिउँसो घाम लागेको बेलामा तीन वटा डमरु र एउटा बघिनी सजिलै देखिन्छ,’ सामुदायिक वनतर्फ देखाउँदै थारुले भने ।
छितामाईको बेलसहर सामुदायिक वनको यस क्षेत्रमा वि.सं. २०१० को दशकतिर बेतघारी थियो । मानिसको संख्या बढ्दै गएपछि घाँस, दाउरा र चरन क्षेत्रका कारण वनजंगल मासिन थाल्यो । जंगल मासिएपछि बाघ पनि बसाइँ सरेको स्थानीयहरू बताउँछन् । थारु र थारुहरुको मिहिनेतले पहिले झैँ बाघ देखिन थालेको छ ।
पछिल्लो तीन वर्षमा महतोलगायतले डेढ सय बढी बेतका बिरुवा किनेर रोपे । यो क्षेत्र पुरानै अवस्थामा फर्केसँगै बाघले पनि आफ्नो वासस्थानको रूपमा यसलाई रोजेको छ । ‘धेरै अघिदेखि नै यो बाघको वासस्थान हो। तर, हाम्रै कारणले यहाँ पिकनिक खान आउने, घाँसदाउरा गर्ने मानिसको भिड बढ्यो । यसलाई पुरानै अवस्थामा फकाउनुपर्छ भनेर हामीले तीन वर्षदेखि योजना बनाएर बेत लगायौँ । अहिले झाडी बनेपछि मानिसहरू आउन सक्ने अवस्था भएन । बाघको पनि सुरक्षित वासस्थान बनेको छ । बेत भएको ठाउँलाई बाघले सुरक्षाका हिसाबले राम्रो मान्छ । बाघले बच्चा हुर्काउन र लुक्न बेतघारी नै बढी प्रयोग गर्छ । बेतले पर्यावरणसँगै स्थानीयको आर्थिक आयआर्जनको हिसाबले पनि टेवा पुग्छ । बेत फर्निचर निर्माणमा प्रयोग हुन्छ ।





