चितवनको पर्यटन : पाइयो पहिचान, पुगेन प्रबर्द्धन

पर्यटनसँग चितवनको साइनो सम्बन्ध निकै पुरानो हो । यस्सो विचार गरेर हेर्दा यहाँ पौराणिककालदेखि नै पर्यटन सुरु भएको थियो भन्न सकिन्छ । चितवनसँग आडैको देवघाटको महिमा धार्मिक ग्रन्थहरूमा छ । र, त्यहाँ देवताहरू नै घुम्न, स्नान गर्न आउने वृत्तान्त धार्मिक पौराणिक कथाहरूमा पढ्न पाइन्छ । त्यसैले चितवनसँग पर्यटन देवताकै पालादेखि जोडिएर आएको हो ।

आधुनिक कालखण्डमा हेर्ने हो भने राणाकालमै चितवन विदेशीहरूको मनोरञ्जन स्थल थियो । यहाँका अजङ्गका वन्यजन्तु बाघ, गैँडाको सिकार गर्न राणाकालमै ब्रिटिस र भारतका राजा महाराजाहरू आउने गरेको इतिहास छ । ‘सिकार पर्यटन’का लागि चितवन त्यो बेला उपयुक्त गन्तव्य थियो । राणा शासनको अन्त्यपछि पनि यो क्रम जारी नै रह्यो । भर्खर दिवङ्गत भएकी बेलायती महारानी एलिजावेथसमेत चितवन आएकी थिइन् ।
वि.सं. २०३० सालमा चितवन निकुञ्जको स्थापना भएपछि चितवनमा पर्यापर्यटनको लहर चल्यो । त्योभन्दा आठ वर्षअघि मेघौली नजिक जंगलमा बेलायती नागरिक जिम एडवर्डले ‘टाइगर टप्स जंगल लज’ खोलेका कारण सौखिन र धनाड्य विदेशी पर्यटक चितवन आउन सुरु भइसकेका थिए । वन्यजन्तु मात्रै हैन, निकुञ्ज आडका आदिवासी थारु समुदायको संस्कार संस्कृति र दिनचर्या पनि उनीहरूका लागि चाखलाग्दो बन्यो ।

धार्मिक, वन्यजन्तु तथा समाज अध्ययन र चाखमा आधारित पर्यटनको आधार चितवनमा मजबुत बन्दै गयो । वन्यजन्तु पर्यटनका लागि चितवन देशको पहिलो गन्तव्य हो । कोरोनाकालमा सबै क्षेत्र सिथिल बन्यो । तर, पर्यटन क्षेत्रबाट सकारात्मक खबर आयो । गएको आर्थिक वर्ष ०७८÷७९ मा एक लाख ९० हजार ४५८ पर्यटकले निकुञ्ज घुमेको सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

यीमध्ये नेपाली मात्रै एक लाख ५५ हजार ६७१ जना थिए । निकुञ्ज घुम्ने कुल पर्यटक र नेपालीको संख्या यो अहिलेसम्मकै उच्च हो । चितवन निकुञ्ज ३० सालमा स्थापना भए पनि निकुञ्जको आधिकारिक प्रकासनहरूमा पर्यटकको संख्या आर्थिक वर्ष २०३१/३२ सालबाट राख्ने गरेको पान्छ । सो बेलामा जम्मा ८३६ जनाले निकुञ्ज घुमेको तथ्याङ्क छ । कोरोनाकाल जस्तो प्रतिकूल समयमा पनि निकुञ्ज घुम्न उल्लेख्य पर्यटक आए ।
यसरी हेर्दा चितवनलाई पर्यटनले पहिचान दिएको छ, आर्जनमा सघाएको छ । र, आपतविपत समस्यामा पनि खुसी हुने बहाना दिएको छ । पौराणिक कालदेखि जोडिएको क्षेत्र भएर हुन सक्छ, चितवनले यो गज्जबको ताकत बनाएको छ । तर, पर्यटन विकासमा स्थानीय तत्परता के कति छ ? त्यो विचरणीय छ । देवताकै पालाको देवघाट र राणा शाहदेखि चल्दै आएको वन र वन्यजन्तुबाहेक हामीले नयाँ के थप्यौँ ?

धार्मिक र वन्यजन्तु पर्यटन नै चितवनको पहिचान हो । योबाहेक अरू के कति थप्ने र ? भन्न पनि सकियो । तर, सम्भावना छन् भने अन्य क्षेत्रको प्रबर्द्धन किन नगर्ने ? मैदानमा बाघ गैँडा मात्रै हैन, पहाडमा झरना र गुराँस पनि भएको जिल्ला हो चितवन । त्यहाँ पनि आदिवासी चेपाङहरू बस्ने गर्दछन् । खै त पहाड उकाल्न खोजेको पर्यटकलाई ? दुई चार वर्षयता पहाडमा पनि घुमघाम चलेको छ । तर, जिल्लाकै मात्रै मान्छे जाने हुन् त्यता ।

सिङ्गो माडी, सिङ्गो पहाडी क्षेत्र र महत्त्वपूर्ण धार्मिक स्थल वाल्मीकि आश्रम चितवनमै भइकन पनि ओझेलमा छन् । सिद्धीको चित्राम झर्ना र कोराकको कामिङचुलीमा खै कहिले पुग्ने हुन् पर्यटक ? सिराइचुलीमा पर्यटक लैजाने हल्ला चर्चा सुरु भएको दुई दशक भयो । तर, न चित्तबुझ्दो पूर्वाधार बने, न राम्रो प्रचारप्रसार नै भयो । पर्यटक नजाने हैनन् जान्छन् । तर, फाट्टफुट्ट । एकपटक सिराइको सूर्योदय हेरेकाहरू दोहर्‍याएर कमै जान्छन् ।
सिराइकै यो हालत छ भने कामिङचुली गएर सूर्योदय हेर्ने कष्ट कसले गर्नु । बरू ठूलो हल्लाखल्ला नभई जलबिरेको लामो झरना, शक्तिखोरको सिन्ती र गैरीबारी झरनामा मान्छेको भीडभाड बढ्यो । सडक बनेपछि पर्यटक आफैँ पुग्छन् भन्ने राम्रो उदाहरण यो हो । उपरदाङगढी पनि त्यस्तै हो । लामो समय सुनसानमा परेको उपरदाङगढीमा अहिले एकाएक चहलपहल बढेको छ । सडक पुगेपछि फरक त पर्दो रहेछ ।

चितवनको पुरानो सदरमुकाम र बहादुर शाहको पालमा बनेको अढाई शताब्दी पुरानो किल्लाको आडबाट अहिले शक्तिखोर–फिस्लिङ सडक गएको छ । सडक निर्माणाधीन नै छ । तर, त्यही बन्दै गरेको सडकले पनि उपरदाङगढीमा चहलपहल बढाएको छ । माडी पनि अहिले पहिलाको जस्तो छैन ।

अयोध्यापुरीको शिवद्वारमा होमस्टे खुलेपछि त्यहाँ पनि नयाँ अनुहारको ओहरदोहर बढ्यो । सोमेश्वरलाई सिङ्गार्न थालेपछि मान्छेहरू डाँडा उक्लन सुरु भएको छ । निकुञ्ज र देवघाट बाहिर पनि पुग्न थालेछन् त पर्यटक भन्ने यसले देखाउँछ । हो, जहाँ सडक गयो त्यहाँ घुम्दै–घुम्दै मान्छेहरू पुग्न थालेका छन् । तर, हामीले ठाउँअनुसारको विशेषता बताउन भने सकेका छैनौँ ।

आज उपरदाङगढी पुग्ने पर्यटकले त्यो ठाउँ र किल्लाको कथा कति सुनेको छ ? त्यसको महत्त्व र मर्मलाई कति बुझेको छ ? केवल घरदेखि पर साथी भाइसँग जाने, खाने, पिउने, रमाइलो गर्ने मनयासले मात्रै त त्यहाँ गएको हैन ? त्यहाँ पुग्नेहरूले जे जस्तो गतिविधि गरेका हुन्छन्, त्यसले ठाउँको विशेषता मन परेर त्यहाँ गएको हो भन्ने देखाउँदैन । खानपिनमा रमाउने र समय कटाउने मेसोले मात्रै गए झैँ लाग्छ ।
अचेल घुम्न जानेहरूले ठाउँको कथा र विशेषता बुझ्नेभन्दा पनि फोटो भिडियो या सेल्फी खिच्दा ब्याकग्राउण्ड राम्रो आउने भए पुग्छ । अचेल निकुञ्ज घुम्न आउनेहरूले नै यसको महत्त्व, विशेषता, संवेदनशीलता बुझ्न छाडेका छन् । अरूको त झन् के कुरा भयो र ! यो चितवनको मात्रै होइन पूरै नेपालको समस्या हो । मान्छे रारा किन जाने, लुम्बिनी या पोखरा किन जाने र चितवन किन जाने ? ठाउँको विशेषता हेरेर सायदै निर्णय लिन्छ ।

ठाउँअनुसार फरक कथा र विशेषता छ । राराताल, फेवाताल, जगदिशपुर ताल र बीसहजारी ताल, सबै ताल नै हुन् । तर, यी सबैको महत्त्व र चरित्र फरक छ । यस्ता कुरा कसले बुझाउने, कसले बुझ्न खोज्ने ? ठाउँको विशेषताअनुसारको पर्यटनको प्रबर्द्धन हुन सकेको छैन । निकुञ्जभित्र जंगल सफारी जाँदा दोहरी या अन्ताक्षरी खेल्न रुचाउँछौँ, बीसहजारी तालमा बोटिङ गर्न पाइएन भनेर दुःख मान्छौँ । यो पनि चिन्ताको विषय हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट