`सानो घर’ को ठूलो सपना

भरतपुर, ७ असोज ।
भित्ताभरि रङ्गीबिरङ्गी चित्र बनाएर टाँसेका छन् छोरीहरूले । बालसुलभ हातले कोरेका चराचुरङ्गी, फूल, मान्छे अनेक–अनेक रङ्गीबिरङ्गी चित्रहरू हेरेर उनको अनुहारको भाव बदलिन्छ ।

भरतपुर–१२ स्थित बाइपासरोडमा रहेको बालगृह ‘सानो घर’ की सञ्चालक विमला श्रेष्ठलाई छोरीहरूका यस्तै आकार लिँदै गरेका प्रगतिले छुट्टै आनन्द दिन्छ । जिन्दगीको ४७औँ वर्षमा हिँड्दै गरेकी विमलाका सपना र खुसी यिनै छोरीहरूका वरिपरि घुमिरहेका हुन्छन् । आफैँतिर घोत्लिँदै उनी सुनाउँछिन्– ‘कोही नर्सिङतर्फ जान चाहन्छु भनेका छन्, कोही चित्रकार । छोरीहरू आफ्नो खुसीले बाँच्न सकून् यही नै मेरो चाहना हो ।’

१२ वर्षअघि उनले यो बालगृह स्थापना गर्दा ठूलो कुरा केही सोचेकी थिइनन् । स–साना खुसी सँगाल्ने-दिने क्रममा नै बालगृह जन्मिएको थियो । यो अवधिसम्म आइपुग्दा विमलाले अनेक खुसी सँगालेकी छन्, अनेकन संघर्षका फेहरिस्त पार गरेकी छिन् । छोरीहरू आफ्नै बलबुतामा उडान भरून् भन्ने विमलाको चाहना बढ्दै गएको छ । सोहीअनुसार छोरीहरूले उनले देखेका सपनाका पदचापहरू पछ्याइरहेका छन् ।

सुस्तमनिस्थति सेवा केन्द्रदेखि बालगृहसम्म
भारतको कोलकातामा जन्मे पनि पश्चिम चितवनको पटिहानीमा हुर्किइन् बढिन् विमला । नारायणगढको बालकुमारी कलेजमा आइएलसम्म पढिन् । २०५२ सालमा पूर्वी चितवनको रत्ननगरमा उनको बिहे भयो । उनले जीवनमा अनेक सपना बुनेकी थिइन् । कहिले वकिल त कहिले पत्रकार बन्ने उनको दिमागमा सपनाहरूले साउती मार्थे । तर, विवाहपछि पढाइमा ‘ब्रेक’ लाग्यो । उनका सपना पनि पारिवारिक झमेलामै हराए । आत्मविश्वास र केही गर्ने हुटहुटी भने उनको साथमै थियो । त्यही कारण उनले झण्डै ६ वर्ष अपाङ्गता भएका बालबालिका पढ्ने स्कुल चलाइन् ।

२०५९ सालताका रत्ननगरको नेपाल माविमा अपाङ्गता भएका बालबालिकाको लागि एककोठे टहरोमा पढाइन्थ्यो । विमलाकी छोरी पनि अटिजम (एक प्रकारको अपाङ्गता)बाट पीडित हुन् । आफ्नै छोरी देखेर पनि विमलालाई व्यवस्थित रूपबाट अपाङ्गता भएका बालबालिका पढ्ने विशेष विद्यालय सञ्चालन गर्ने सोच आयो । नेपाल माविको हाताभित्र विद्यालयकै जग्गामा ६ कोठे भवन बनाएर सुस्तमनस्थिति सेवा केन्द्रको शाखा उनले चलाइन् ।

विमलाकै सक्रियतामा अपाङ्गता भएका बालबालिकालाई लक्षित गरेर त्यहाँ सहज तवरले पढाइ हुन् थाल्यो । झण्डै ६ वर्ष अध्यक्ष भएर काम गर्दा विमलाले सोचेजस्तो सफलता पाउन सकिनन् । त्यसपछि उनले सो विद्यालयबाट हात झिकिन् । विमलाभित्र सेवाभावको हुटहुटी कायमै थियो । त्यसमा नै उनले वास्तविक खुसी भेट्न थालेकी थिइन् । विमलाले बिहे गरिसकेपछि पारिवारिक तनाव भोगिन् ।

छोरीको जिन्दगी सहज छैन भन्ने उनलाई परिवारभित्रै सासूससुराले उनीमाथि गर्ने व्यवहारबाटै चाल पाइसकेकी थिइन् । उनले परिवारबाट नपाएको खुसी सामाजिक काम गर्दा पाउँथिन् । ‘मैले सामाजिक सेवामा भित्री खुसी भेटेकी थिएँ । परिवारबाट माथि उठेर सेवा गर्नुपर्दछ भन्ने लाग्थ्यो’, उनी भन्छिन् । अनन्तः उनले २०६७ सालमा आमाबुवा नभएका र विपन्न बालिकाहरूलाई लक्षित गरेर बालगृह सञ्चालनमा ल्याइन् । ‘सानो घर त्यस्तो मैले ठूलो सपना देखेर खोलेको होइन मनमा एउटा मात्र कुरा आउँथ्यो– उनीहरूलाई मेरो खाँचो छ । एउटा सानो घर बनाउँछु छोरीहरूलाई आफूले सक्नेजति सक्षम बनाउँछु भन्ने लाग्थ्यो’, उनले भनिन्– ‘अहिले पनि मलाई ठूलै काम गरेँ भन्ने लाग्दैन । उनीहरू जुनसुकै परिस्थतिबाट आए पनि उनीहरूलाई घर होस्, खुसीले बाचून, खेलून् र आफ्नो सपनाको उडान भर्न सकून् ।’
रत्ननगरमा आफ्नै घरको फ्ल्याटबाट ५ जना छोरीलाई आश्रय दिएर सुरु गरेको बालगृह अहिले भरतपुरमा सरेको छ । अहिले छोरी पुगेका छन्– १२ जना । विहेमा जम्मा भएको पैसाले उनले रन्त्नगर–२ किनेको आधा कठ्ठा जग्गा पाँच लाखमा बेचेर घर बनाइन् । तर, त्यहाँ पारिवारका सदस्यका कारणले टिक्ने सक्ने अवस्था नभएपछि अहिले सानो घरको खुसी भरतपुर बसाइ सरेको छ ।

अहिले उनको परिवारमा २१ जना छोरीहरूले संरक्षण पाएका छन् । उनीहरू नर्सरीदेखि स्नातक तहसम्म अध्ययन गर्दैछन् । सानो घर सुरुआती अवस्थादेखि दाताको सहयोगमा चल्दै आएको छ । सुरुआती अवस्थामा छोरीको अपाङ्गता भत्तासमेत बालगृहको लागि प्रयोग गरेको उनी सुनाउँछिन् । रत्ननगरमा भाडा तिर्नु नपर्ने अवस्थाबाट अहिले भाडाको घरमा आउँदा खर्च बढेको छ । चुनौती थपिएको छ ।

नर्सरीदेखि स्नातकसम्म पढ्ने छोरीहरूको खर्चको आकार बढ्दै गएको छ । यद्यपि दाताहरू र बालगृहको कार्यसमितीले दिने होस्टेमा हैंसेले बालगृहको गर्जो टरेको छ ।
अहिले घरभाडा, खाद्यान्न, कर्मचारीलाई तलब गरेर मासिक एक लाखसम्मको खर्च हुने उनी बताउँछिन् । छोरीहरूको भविष्य बनाउन उभिएकी विमलाको अपेक्षा स्थानीय सरकारले जग्गाको व्यवस्थापन गरिदिएमा एउटा आफ्नै घर बनाउन सकिन्थ्यो भन्ने छ । हुन त उनले स्थानीय सरकारसँग जग्गा प्राप्तिको लागि पटक–पटक आग्रह पनि गर्दै आएकी छिन् । तर, सुनुवाइ नभएको गुनासो गर्छिन् उनी । ‘बाटो बनाउन विकासको काम गर्न जति जरुरी छ, त्यति नै उनीहरूको भविष्य बनाउन पनि जरुरी छ । राज्यले पनि त्यसको लागि इँटा थप्न जरुरी छ’, उनी भन्छिन् ।

राज्यले बालगृहमाथि लगानी पनि गर्नुपर्ने र त्यसको प्रतिफल पनि खोज्नुपर्ने उनको तर्क छ । सरकारसँग विमलाको अर्को पनि गुनासो छ । बालगृहमा आफ्नो भविष्य सुनिश्चत गराइरहेका बालिकालाई आफन्त लिन आएको खण्डमा पढाइ छुटाएर घर लैजाने गरेको अनुभव उनले सुनाइन् । चितवनको चेपाङ समुदायका एक बालिका बुवा बितेको र आमा दोस्रो बिहेपछि बिचल्लीमा परेको खबरपछि उनले गाउँमै पुगेर बालिकालाई बालगृहमा ल्याइन्, हुर्काइन् । तर, ७ कक्षामा पढ्दै गरेकी ती बालिकाका आफन्त तारन्तार घर लैजाने भन्दै बालगृह धाउन थाले । ‘उनी पढाइमा अब्बल थिइन् । तोक्वान्दो खेलमा पनि राष्ट्रिय स्तरमा पुगेकी थिइन् । तर, वडाअध्यक्षको सिफारिस लिएर आई लगे । पछि त उनीहरूले बिहे गरिदिएछन्’, उनले मलिन हुँदै भनिन् ।

सरकारले बालगृहलाई पूर्ण अधिकार नदिँदा ती बालिकाको भविष्य अन्धकारमा पुगेको विमला बताउँछिन् । ‘राज्यकै नियमका कारण परिवार आफन्त आउँदा हामीले नचाहेर पनि पठाउनुपर्छ । हामीलाई हक नै दिएको छैन पठाउँदैनौँ भन्ने’, उनले भनिन्– ‘यसरी पढ्दापढ्दै पठाउँदा उनीहरूको भविष्य नै अन्योल पनि त ।’
विशेषगरी चेपाङ समुदायमा यस्तो खाले समस्या दोहोरिरहेको उनी बताउँछिन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट