२०२९ सालमा बर्मामा जन्मिएका शंकर तिवारीलाई बुवाआमाले काखमा बोकेर नेपाल ल्याए । चितवनको माटोमा हुर्किएका तिवारीले साथीहरूको लहैलहैमा २०५३ सालमा मोटरपार्टस्को पसल गरे । माओवादी द्वन्द्व उच्च भएपछि उनी भइरहेको व्यवसाय बेचेर रोजगारीका लागि दुबई हानिए । २०६० सालमा फ्लोरिस्ट हेल्परको रूपमा दुबई गएका उनी छोटो समयमा नै आफ्नो दक्षता देखाएर फ्लोरिस्टमा पदोन्नति भए । करिब ७ वर्षसम्म फूलहरूको विभिन्न डिजाइन बनाउन सिकेका उनी त्यसपछि नेपाल फर्किए ।
नेपाल आएर केही समय बसेपछि उनलाई परदेशमा सिकेको काम नेपालमा प्रयोग गर्ने रहर पलायो। अनि खुल्यो नारायणगढमा– ‘शुभम् फ्लावर्स ।’
देशका विभिन्न स्थानबाट फूलहरूको कारोबार गर्दै बुके बनाएर बेच्ने गरेका उनी विस्तारै काठमाडौँमा रहेको ‘फूल सहकारी’मा जोडिए । त्यसपछि आफूलाई आवश्यक पर्ने विभिन्न किसिम र रङका गुलाफका फूलहरू त्यहिँबाट मगाउन थाले । उनी भन्छन्– “सिजनमा त धान्दैन नेपाली उत्पादनले । नेपाली बजारको माग धान्नको लागि छिमेकी देश भारतबाटै आयात गर्नुपर्छ । बेमौसमा भने नेपाली उत्पादनले बजारको माग पूरा गर्नसक्छ ।’’
उनले नारायगढमा बूके बनाएर देशका विभिन्न क्षेत्र आँबुखैरेनी, नेपालगञ्ज र इटहरीसम्म पठाइरहेको दाबी पनि गरे । शुभम् फ्लावर्समा गुलाफका अलावा बिहेका माला र तिहारमा सयपत्री माला पनि पाइन्छ । साथै, बर्थडे केक र सगुनमा प्रयोग गरिने चकलेटका प्लेट पनि सजावट गरिने सञ्चालक तिवारीले बताए ।
नेपालमा फूलको व्यवसाय कस्तो छ भन्ने जिज्ञासामा तिवारी भन्छन्– “मासिक एकलाख रुपैयाँसम्म कमाउन खासै मेहनत गर्नु पर्दैन । तर, फूलहरू स्टक रह्यो भने बढी खेर जाने हुनाले प्रशस्त मार्जिन राखेर काम गर्नुपर्छ । बिना मार्जिन काम गर्न सकिन्न । फूललाई फ्रिजमा राखेर तापक्रम मिलाउनुपर्छ । तर, उत्पादन भने बढी खर्चिलो छ ।’’ दुई कठ्ठा जमिनमा टनेल बनाएर फूलखेती गर्नलाई कमसेकम पन्ध्रलाख रुपैयाँ लाग्ने उनको अनुभव छ ।
भ्यालेन्टाइन र बिहेका महिनाहरू बुके बिक्रीको सिजनको रूपमा मानिन्छ । यस व्यवसायबाट उनी आफू सन्तुष्ट रहेको बताउँछन् । ‘‘बुकेको बजारीकरण गर्नको लागि युवा पुस्ता अब फूलको व्यवसायमा आउनुपर्छ । यसले व्यवसायमा व्यापकता ल्याउँछ’’, उनी भन्छन् ।





