भरतपुर, ७ असोज ।नारायणगढ बजारमा `ज्याङ्गो दाइको ठेला´ पपुलर छ । सामान ओसारपसार गर्न धेरैले सम्झने नाम हो, ज्याङ्गो दाइ । खाइलाग्दो ज्यान भएका यिनी जस्तोसुकै सामान पनि जुरुक्क पारेर भनेको ठाउँमा पुर्याउँछन्, ल्याउनुपर्ने ठाउँबाट पनि उसैगरी ल्याउँछन् । भरियाको काम गर्ने यी बलिया मान्छेको वास्तविक नाम बिष्णुबहादुर थापा हो । २०२९ सालमा मोरङको बिराटनगरमा जन्मेका उनी २०५६ सालमा चितवन आएका हुन् । २३ वर्ष अगाडि चितवन आएर तरकारी बोक्ने काम गरेका यीनले सुरुवाती दिनमा रिक्सा चलाए, त्यसपछि ठेला चलाउँदै आएका छन् ।
चितवन आउनु अगाडि ज्याङ्गो प्रहरी थिए । ७ वर्षसम्म सिपाही भएर काम गरिरहेका उनी जागीर छोडेर चितवन आएका हुन् । यिनी प्रहरी छँदा श्रीमती सुत्केरी भइन् । रक्तस्रावले सुत्केरी श्रीमतीको मृत्यु हुन पुग्यो । श्रीमतीको मृत्युले ज्याङ्गो विचलित भए । पीडाको अवस्थामा छुट्टी बस्न खोजेका उनले आफूले चाहेजस्तो छुट्टि पाएनन् । त्यसपछि उनले प्रहरीबाट राजीनामा दिए । स्वतन्त्र भएर बिराटनगर छोडेका उनी बरालिँदै चितवन आएका हुन् ।
चितवन आएर उनले लायन्सचोकमा रहेको तरकारी मण्डिमा काम गर्न थाले । `गाडीमा बोराका बोरा तरकारी आउँथे´, ज्याङ्गोले पुराना दिन सम्झिए -`खानको लागि काम त गर्नै पर्यो, म तिनै तरकारी बोक्न कस्सिएँ । म काममा मेहनत गर्ने मान्छे, सबैले पत्याए, त्यही काम गरेँ ।´ बिहान तरकारी बोकेपछि दिउँसो खाली हुन्थ्यो । ज्याङ्गो खाली बस्न खोजेनन् । उनले रिक्सा चलाउने निधो गरे । `मैले सीताकली र नवदुर्गा रिक्सा चलाएँ´, ज्याङ्गोले भने -`दिनभरी रिक्सा चलाएको भाडा २५ रुपैयाँ तिर्नुपर्थ्यो, कमाइ चैँ दैनिक २५० देखि ३०० रुपैयाँ हुन्थ्यो ।´ त्यतिबेला छोटो दुरीमा पनि एकजनाको भाडा ५ रुपैयाँ लिने गरेको ज्याङ्गो सम्झिन्छन् ।
रिक्सामार्फत नारायणगढबाट भरतपुर, गैंडाकोटसम्म यात्रुलाई सेवा दिने गरेका ज्याङ्गो कहिलेकाही रजहर, कावासोती, सौराहा र मकवानपुरसम्म पनि पुगेको बताउँछन् । `द्वन्द्वकालमा बन्द हड्ताल हुँदा विचल्लीमा परेका यात्रुलाई बोकेर टाढासम्म पनि पुगियो´, ज्याङ्गोले भने – `त्यतिबेला सामानसहित यात्रु बोकेको २/३ हजार पनि कमाइ हुन्थ्यो ।´ रिक्सा चलाउँदाका केही नमीठा अनुभव पनि छन् ज्याङ्गोसँग । रिक्सा चढेर भाडा दिनेक्रममा धेरै यात्रुले मागेजति भाडा नदिएको गुनासो पनि सुनाए। कतिले त लिउ यत्ती मात्रै हो भाडा भन्दै हेप्ने गरेको पनि उनले सुनाए । हाम्रो देशमा कतिपय मान्छेले कामलाई सम्मान गर्न नजानेको ज्याङ्गोले बताए ।
बिस्तारै बिस्तारै नारायणगढमा अटो, मयुरी र म्याजिकको संख्या बढ्न थालेपछि रिक्सा बिस्थापित हुन थाले । त्यसपछि ज्याङ्गोले ठेला चलाउन थालेका हुन् । ज्याङ्गोसँग अहिले दुईवटा ठेला छन् । एउटा आफ्नै ठेला हो भने एउटा भाडामा लिएका हुन् । भाडाको ठेलाको ज्याङ्गोले दैनिक १५० रुपैयाँ साहुलाई बुझाउँछन् । आफ्नै ठेला चाहिँ उनका ज्वाइँले चलाउँछन् । ठेलाबाट हिजोआज कमाइ हुन छाडेको ज्याङ्गो बताउँछन् । `हिजोआज मान्छेका आफ्नै साधन छन्, हिँडडुल र ओसारपसार गर्न आफ्नै साधन भएपछि ठेलाको कमाइ हुन छाडेको हो´, ज्याङ्गो भन्छन् – `दिनभरिमा पनि १ हजार कमाइ हुन गार्हो छ । पहिले पहिले ठेला चलाएर दिनकै ३ हजार पनि कमाइन्थ्यो ।´
ज्याङ्गोले विशेषगरि पुस्तक पसलका सामान ओसारपसार गर्छन् । पुस्तक पसलेका विश्वासका पात्र पनि हुन् यिनी । पंकज पुस्तक भण्डारका संचालक पंकज अग्रवालका अनुसार ज्याङ्गो मेहनती र जिम्मेवार भरिया हुन् । `हामीले हाम्रो सामान पठाउने र ल्याउने काम सकेसम्म यिनैलाई दिन्छौँ, पाउने व्यक्तिले सजिलोसँग पाउने गरि र ल्याउने ठाउँबाट पनि सजिलोसँग ल्याउने काम यिनले गर्छन्´, अग्रवालले भने । ज्याङ्गोलाई ज्याङ्गो नाम दिएको पनि अग्रवालले नै हो । तरकारी मण्डीमा काम गरिरहेका उनलाई देखेर अग्रवाल जिल खाएछन् । `यी दाइ बडो मेहनतसँग तरकारी बोकिरहेका थिए । यिनको काम गर्ने शैली देखेर मलाई लोभ लाग्यो । ठूलाठूला भारी पनि सजिलोसँग बोकिरहेका थिए । मेरो पसलमा पनि काम भैरहने हुनाले मैले उनलाई म कहाँ आउन अनुरोध गरें । उनी सजिलोसँग आए । मेरो पसलमा ल्याउने र पुर्याउने सामानको जिम्मा यिनैलाई दिएँ । यिनी बलिया मात्रै होइनन्, बुद्धि भएका पनि छन् । गाडी नम्बर र मोबाइल नम्बर पनि कण्ठै हुन्छ यिनलाई । यिनको फुर्तिलो र बलियो ज्यान देखेर ज्याङ्गो नाम पनि मैले नै राखिदिएको हुँ । अहिले सबैले ज्याङ्गो दाइ भन्छन् । खासमा यिनको वास्तविक नाम मलाई अहिलेसम्म थाहा छैन´, अग्रवालले भने । मास्के पुस्तक भण्डारका सञ्चालक सरोज मास्केले पनि ज्याङ्गो असल र सहयोगी भएको बताए । सोधखोज गरेर पनि जिम्मेवारीपूर्वक काम गरिदिने सरल स्वभाव ज्याङ्गोमा भएको मास्केले बताए ।
ज्याङ्गोले ठेला चलाएरै अहिलेसम्म आफ्नो जीविका चलाएका छन् । यिनका श्रीमती र दुई छोरी मध्ये जेठी छोरीको बिहे भैसकेको छ भने कान्छी छोरी बालकुमारी कन्या मावि नारायणगढमा कक्षा ८ मा पढ्छिन् । श्रीमतीको मृत्युपछि चितवन आएका ज्याङ्गोले दोस्रो विवाह यहीँ आएर गरेका हुन् ।
गैंडाकोट-२ स्थित नारायणी किनारमा बस्दै आएका ज्याङ्गो दशैं, तिहारजस्ता चाडपर्वमा भने बिराटनगर घरमा जाने गरेका छन् । चितवनमा सबैले आफूलाई माया गरेको पनि ज्याङ्गोले सुनाउँछन् । `चितवन आएर मैले नयाँ नाम र नयाँ जीवन पाएँ, यो ठाउँ मलाई प्रिय लाग्छ । मेरा आफन्त, इष्टमित्र यहिँ कमाएको छु, म बाँचुन्जेल यहीँ बस्छु´, ज्याङ्गोले भने ।





