दशैँको पर्खाईमा चितवनको पर्यटन

आइतबारदेखि सोह्र श्राद्ध सुरु भएको छ । सोह्र श्राद्ध सकिएको भोलिपल्ट घटस्थापना पर्छ । यस हिसाबले अबको १६ दिनपछि दशैँ सुरु हुन्छ । घटस्थापनादेखि पूर्णिमासम्म १५ दिन दशैँमध्ये सुरुका ९ दिन नवदुर्गाको पूजाआराधना गरिन्छ । १०औँ दिनदेखि पूर्णिमासम्म टीका लगाउने चलन छ । दशैँको टीका लगाउने मुख्य दिन भनेको दशमी नै हो । त्यसैले दशैँलाई विजयादशमी पनि भनिन्छ ।

दशैँ नेपालीहरुको महान चाड भएको र लामो बिदा पनि हुने भएकोले हरेक वर्ष दशैँको अवसरमा घुमफिर गर्ने चलन पछिल्ला दिनमा बढेको छ । यसले आन्तरिक पर्यटनको विकास भएको छ । पर्यटनका हिसाबले मुलुकको तेस्रो गन्तव्य मानिएको चितवनमा बाह्य देशका पर्यटक समेत आउने गर्छन् । चितवनका पर्यटकीय स्थलमध्ये सौराहा र मेघौली प्रमुख हुन् । दशैँमा पर्यटकीय चहलपहल बढ्ने भएकोले सौराहा र मेघौली दशैँको पर्खाईमा छन् । अन्य पर्यटकीय गन्तव्य पटिहानी र माडीले पनि दशैँले ल्याउने पर्यटक कुरिरहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज, दुर्लभ एकसिंगे गैंडा, हात्ती, पाटेबाघ र विभिन्न चराचुरुङ्गी हेर्न तथा जंगल सफारीको आनन्द लिन पर्यटकहरु चितवन आउने गरेका छन् । वार्षिक २ लाख हाराहारी पर्यटक चितवन आउने गरेको तथ्यांक छ । नेपाल आउने पर्यटकको २० प्रतिशत पर्यटक चितवन आउने गरेको पाइन्छ ।

सौराहामा मात्रै सवा सय हाराहारी पर्यटकीय होटल छन् । पश्चिम चितवन र नवलपरासी क्षेत्रमा समेत गरेर यस्ता होटलको संख्या एक सय ५० हाराहारी रहेको छ । जसमा एक खर्ब रुपैयाँभन्दा धेरै लगानी भएको छ । होटलमा मात्रै तीन हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।
सौराहामा विदेशी पर्यटक चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु बाघ, गैंडा हेर्न आउँछन् । पछिल्लो समय नेपाली र सार्क क्षेत्रका पर्यटक आउने क्रम बढेको छ ।

मेघौली भरतपुरबाट २५ किलोमिटर पश्चिममा पर्दछ । एकातिर चितवन राष्ट्रिय निकुञ्ज अनि अर्काेतिर दुई ठूला नदी राप्ती र नारायणीले घेरिएको सुन्दर टापुका रूपमा रहेको छ  मेघौली । थारू, कुमाल र मुसहर जातिको संस्कृति यहाँ हेर्न सकिन्छ  । मेघौली सामुदायिक वनको ५ सय ५० बिघामा राइनो पार्क निर्माण थालिएको छ  । मेघौलीमा विमानस्थल पनि छ  ।
मेघौलीबाट सहजै गैंडा देख्न पाइन्छ  । जलयात्रा र सूर्यास्त अवलोकनका लागि गोलाघाट उपयुक्त गन्तव्य हो  । साँझपख राप्ती र नारायणीको संगमस्थल गोलाघाटमा सूर्यास्तको दृश्यले पर्यटकलाई लठ्ठै पार्छ  ।

सरकारले चितवन निकुञ्जभित्रका होटल हटाएपछि मेघौली क्षेत्रमा ठूलो लगानीमा होटल खुलेका छन् । चौधरी ग्रुपको मेघौली सेराई, बाराही होटल, गोलाघाट वाइल्ड लाइफ रिसोर्ट, होटल सारङ खुलेका छन् ।
चितवन आउने पर्यटकहरुको औसत बसाइ प्रायः दुई रात रहने गरेको छ । चितवनमा पर्यटकहरु हतारमा आउँछन्, हतारमै जान्छन् । सौराहा आउने पर्यटकहरु कमै मात्र पटिहानी र मेघौली पुग्छन् भने पटिहानी र मेघौली आउने पर्यटक कमै मात्र सौराहा जान्छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट