भरतपुर, २५ भदौ ।
हिरासतमा रहेका व्यक्तिहरूमा अध्ययनको वातावरण सिर्जना गरी सकारात्मक सोच, ज्ञान र चेतनाको विकास गर्ने उद्देश्यले रत्ननगरमा पुस्तक हस्तान्तरण गरिएको छ ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघ, चितवनको पहलमा हिरासत कक्षमा पुस्तकालय अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय, रत्ननगरमा विभिन्न विधाका पुस्तक हस्तान्तरण गरिएको हो । शिक्षा दिवसको अवसर पारेर भदौ २३ गते पुस्तक हस्तान्तरण कार्यक्रम आयोजना गरिएको थियो ।
हिरासतमा रहेका व्यक्तिहरूलाई समयको सदुपयोग गर्दै अध्ययनमार्फत ज्ञान र चेतनाको विकास गर्ने वातावरण निर्माण गर्ने उद्देश्यले पुस्तक उपलब्ध गराइएको संघले जनाएको छ । साहित्य, ज्ञान, चेतना तथा सकारात्मक सोच विकासमा सहयोग पुग्ने विभिन्न विधाका पुस्तकहरू हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका केन्द्रीय सचिव परमेश आचार्य प्रमुख अतिथि तथा इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक सुवास भट्ट विशिष्ट अतिथि रहेका थिए ।
त्यस्तै प्रहरी वरिष्ठ नायब निरीक्षक युवराज पाण्डे, उद्योग वाणिज्य संघ चितवनका सदस्य बुद्धिसागर कँडेल, संघका सल्लाहकार विनोद ढकाल र कोषाध्यक्ष राममणि अधिकारीको सहभागिता रहेको थियो ।
कार्यक्रमको सभापतित्व नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघ, चितवनका कार्यवाहक अध्यक्ष वीरबहादुर न्यौपानेले गरेका थिए ।
‘पुस्तक जहाँ पुग्छ, त्यहाँ ज्ञानको उज्यालो पुग्छ’ भन्ने भावनासहित समाज सुधार र सकारात्मक परिवर्तनका लागि अभियान सञ्चालन गरिएको संघका कार्यबाहक अध्यक्ष न्यौपानेले बताए ।





