भरतपुर,२६ भदौ ।
चितवनमा तीन जनाको युवाको समुहले मोबाइल एप्लिकेसनबाटै “कन्टोल” गर्न सकिने डिजिटल स्मार्ट स्विच बोर्डको उत्पादन थालेका छन् । अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेण्टमा इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्समा बि.ई पढेका माडीका जीवन दवाडी, सप्तरी राजविराजका सुनिल कुमार यादव, निजगढ बाराका सागर तिमिल्सिनाको अग्रसरतामा नेपालमै पहिलो पटक “डिजिटल स्मार्ट स्विच बोर्ड”को उत्पादन थालेका हुन् । आफ्नो घर/उद्योगमा रहेका विधुतीय उपकरण बन्द वा सुचारु जहाँसुकै बसेर पनि इन्टरनेट प्रयोग गरेर मोबाइलबाटै गर्न सकिने उत्पादन प्रमुख जीवन दवाडी बताउँछन् ।
२०७७ सालमा भरतपुर महानगरपालिका १६ मा एडभान्सटेक इन्ड्रस्टिज प्रालीको स्थपना गरि काम थालेका यी युवाले झण्डै तीन वर्षको लामो अनुसन्धान र गृहकार्य पश्चात् आफ्नो उत्पादन बजारमा ल्याएका हुन् । प्रविधिको प्रयोगबाट सन्चालन हुने “डिजिटल स्मार्ट स्विच बोर्ड” उत्पादन गर्ने कम्पनी नेपालकै पहिलो हुनु नेपालीको लागि गौरवको विषय रहेको दवाडी दाबी गर्छन् । डिजीटल स्मार्ट बोर्डका डिजाइन देखि सफ्टवेयरको काम नेपालमै भएको उनले बताए । “हामी यस्तो देशमा छौ जहाँ सियो पनि उत्पादन हुन गाह्रो छ । यस्तो अवस्थामा यत्तिको टेक्निकल पोडक्ट बनाउन ठूलो चुनौती पार गरेर उत्पादन पनि सुरु गरिसकेका छौ” उनले भने । उनीहरुको मस्तिष्कमा “डिजिटल स्विच बोर्ड”को आइडियाको बिज भने कलेज पढ्दाताका नै रोपिएको थियो ।
इलेक्ट्रीक इन्जिनियर बिइको अन्तिम सेमेस्टरको “पोर्जेक्टव” अन्र्तगतमा उनीहरुले रिमोर्टबाट चल्ने “स्विच बोर्ड” निर्माण गरेका थिए । घरिघरी उठेर स्विच खोल्न बन्द गर्ने झन्झटिलो कार्यको विकल्प खोज्दै उनीहरुले प्रयोगात्मक सिकाइको लागि बनाएको “नमुना” स्विच बोर्डले धेरैको ध्यान खिच्यो । उनीहरुलाई यहिँ वस्तुलाई व्यवसायिक रुपले उत्पादन गर्न सकिने सुझाव शिक्षकहरुबाट पाएको दवाडी बताउँछन् । मध्यमवर्गीय परिवारमा जन्मेका तीनै जनाको दिमागमा डिजीटल स्विच बोर्ड उत्पादन गर्ने परिकल्पना भएपनि उत्पादान थाल्न चाहिने स्रोतको चुनौती भने कायमै थियो । अहिले चुनौतीलाई पार गर्दै २८ जनाको १० करोड लगानीमा उत्पादन सुरु गरिसकेको कम्पनीमा अध्यक्ष सुनिल कुमार यादव बताउछन् ।
अध्यक्ष यादव प्रविधीको क्षेत्रमा नेपाललाई अगाडि लैजानका लागि आफ्नो उत्पादनले थप मदत पुर्याउने दाबी गर्छन । डिजिटल स्विच बोर्डबाट तीन तरिकाले घर/उद्योगमा रहेका विधुतीय उपकरण बत्ती, पङ्खा , फिज्र, टिभी लगायतका विद्युतीय उपकरणलाई मोबाइल एप्लिकेसनका साथै टच स्क्रीन तथा रिमोर्टबाट पनि स्विच बोर्डलाई बन्द वा सुचारु गर्न सकिने अध्यक्ष यादव प्रष्ट पार्छन । यादवले ३ बाई ३ र ३ बाई ५ साइजका आकर्षक स्वीच बोर्डहरु उत्पादन भएको बताए । हाल मासिक ३ हजार थान स्वीच बोर्डहरु उत्पादन भइराखेको उनले जनाए ।





