गैंडाकोट, २२ भदौ ।
गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले आत्मनिर्भर हुने र बोल्न सक्ने व्यक्ति सधैँ सफल हुने बताउँदै महिलालाई आधा आकाश भन्न नहुने बताएका छन् । शिवालय नमुना महिला समूह गैंडाकोटले आयोजना गरेको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिमका सहभागीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि अधिकारीले भने, ‘आफ्नो कलाकौशलले तपाइँहरुसँग सिंगो आकाशलाई ढाक्न सक्ने खुबी छ । तपाईंहरूलाई सिंगो आकाश ढाक्न सफलता मिलोस्, शुभकामना छ ।’
गैंडाकोट नगरपालिकाकी उपमेयर शान्ति कोइरालाले सामाजिक र पारिवारिक समस्यामा निर्णय लिन सक्ने गुण हरेक महिला र नेतृत्व तहमा हुनुपर्ने बताउँदै महिलाहरुलाई कुनै समस्या, कसैको करकाप र दवाबमा पीडा सहँदै नबस्न आग्रह गरिन् ।
गैंडाकोट नगरपालिकाको आर्थिक सहयोगमा गरिएको कार्यक्रमको प्रमुख प्रशिक्षकमा राजनीतिकर्मी समाजसेवी खेमराज सापकोटा र समाजसेवी मीना खरेलले प्रशिक्षण गराएका थिए । तालिममा एक सय जनाभन्दा बढी सहभागी थिए ।
तालिममा सहभागी गैँडाकोट–४ की शर्मिला विश्वकर्माले तालिम लिएपछि आफूमा आत्मविश्वास जागेको बताइन् । ‘घरमा, समाजमा वा कुनै कार्यक्रममा बोल्दा अफ्ठेरो लाग्थ्यो । अब भने निर्धक्कसँग बोल्न सक्छु । मनमा लागेका कुरा भन्न सक्छु जस्तो लागेको छ’ विश्वकर्माले भनिन् ।
शिवालय नमुना महिला समूहकी अध्यक्ष बिमला पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा टोलनाथ घिमिरे, कृष्णप्रसाद न्यौपाने, लक्ष्मी भट्टराई, शान्ता घर्ती, इन्दु घिमिरे, धना परियार, कमला तिवारी, गीता तिवारी, ज्ञानीदेवी न्यौपाने, संगीता पण्डित, अमिता काफ्लेलगायतको उपस्थिति थियो । कार्यक्रमलाई समूहकी सचिव सीता सुवेदीले सहजीकरण गरेकी थिइन् ।





