कमेडियन अपूर्व क्षितिजलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, २२ भदौ।

नेवाः समुदायको भावनामा आँच पुर्‍याएको अभियोग लागेका कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला प्रहरी परिसर काठमाडौंले अनुमति पाएको छ ।

जिल्ला अदालत, काठमाडौंले सिंहविरुद्ध अनुसन्धानका लागि थप समय हिरासतमा राख्न अनुमति प्राप्त गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले बताए ।

तर बोहोराले पाँचै दिन सिंहलाई हिरासतमा भने नराखिने बताए । उनले भने, ‘अदालतमा जाने दफामा पनि जाहेरी आएको थियो, चारवटा मुद्दा भएकाले सबै अनुसन्धान सक्न समय लागेको हो ।’

उनले बिहीबार सिंहको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा जाने बताए । यसअघि अपूर्वका परिवार र नेवाः समुदायका अभियन्ताबीच छलफल भएर क्षमापत्र लेखाएर उनलाई छुटाउने प्रक्रिया अघि बढाउने सहमति भएको थियो ।

क्षमायाचना गरेर भिडियो हटाए पनि एक साताभन्दा लामो समयदेखि हिरासतमा राखिएको भन्दै क्षितिजको रिहाइको माग भइरहेको छ । सामाजिक सञ्जालदेखि संसदसम्म उनको रिहाइका लागि माग उठेको छ ।

संसदमा विशेष समय लिएर नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो हाँस्य कला प्रस्तुत गर्ने क्रममा कसैलाई मर्का परे पनि क्षमायाचनापछि थुनामा राखिएको भन्दै आपत्ति जनाएका थिए ।

कमेडी क्याफे नामक युट्युब च्यानलबाट अपलोड गरिएको ‘नेवारको परम्परा’ शीर्षकको सामग्रीमा अभियन्ताहरुले आपत्ति जनाएका थिए । नेवार समुदायको आक्रोश बढ्न थालेपछि क्षितिजले युट्युबबाट भिडियो हटाएका थिए ।

तर सम्पदा संरक्षण महाअभियानको नेतृत्वमा १०४ जनाको हस्ताक्षरसहित जिल्ला प्रहरी परिसर, टेकुमा किटानी जाहेरी दर्ता गराएका थिए । सोधपुछका लागि बोलाइएका अपूर्व भदौ १२ गते अभद्र व्यवहारको कसूरमा पक्राउ परेका थिए । अनलाइनखबरबाट

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट