काठमाडौँ,२१ भदौ ।
चीनको दक्षिणपश्चिमी सिचुवान प्रान्त गएको ६.८ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ४६ जनाको मृत्यु भएको छ ।
चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार सिचुवान प्रान्तको लुडिङ काउन्टीमा सोमबार गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ४६ जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले जीवन बचाउन र मानवीय क्षति न्यूनीकरणका लागि सबै किसिमका राहत प्रयास गर्न निर्देशन दिएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले लुडिङ काउन्टीमा दिउँसो १२ बजेर ५२ मिनेटमा भूकम्प गएपछि उक्त निर्देशन दिएका हुन् ।
भूकम्पको धक्का केन्द्रबिन्दुबाट करिब २२० किलोमिटर टाढा रहेको सिचुआनको राजधानी चेङ्दुमा पनि महसुस गरिएको थियो । गत जुनमा पनि यो क्षेत्रमा शक्तिशाली भूकम्प गएको थियो ।





