भरतपुर, २१ भदौ ।
वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा सोमबार भएको रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेका छन् । चितवन र वरपरका क्षेत्रहरूमा रगत सङ्कलन प्रभावित भएपछि रगतको अभाव पूरा गर्न रक्तदान कार्यक्रम गरिएको हो ।
रोटरी क्लब अफ नारायणगढ, रोटर्याक्ट क्लब अफ नारायणगढ र स्पाउज क्लब अफ रोटरी क्लब अफ नारायणगढको संयुक्त आयोजना र नेपाल रेडक्रस सोसाइटी, क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
रक्तदान कार्यक्रममा २० महिला तथा ३७ पुरुष गरी ५७ जनाले रक्तदान गरेको रोटरी क्लब अफ नारायणगढका अध्यक्ष नगेन्द्रबहादुर श्रेष्ठले बताए । रक्तदाताहरूलाई नारायणगढ रोटरी क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधान, रोटर्याक्ट क्लब अफ नारायणगढका अध्यक्ष रुपेश मल्ल र स्पाउज क्लब अफ रोटरी क्लब अफ नारायणगढका अध्यक्ष सम्झना प्रधानले प्रमाणपत्र वितरण गरेका थिए ।





