ठेकेदारलाई कारबाहीदेखि नि:शुल्क बहिरङ्ग

गैंडाकोट,२० भदौ ।
गैँडाकोट नगरपालिकाले जनप्रतिनिधिको एकसय दिनको उपलब्धी सार्वजनिक गरेको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन पश्चात् गठन भएका स्थानीय सरकारले एकसय दिनमा गरेको उपलब्धी नगरप्रमुख मदनभक्त अधिकारीले सोमबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको उपलब्धीमा यो अवधिमा नगरपालिकाले ७२ वटा काम गरेको उल्लेख गरेका छन् । नगरपालिकाले यो अवधिमा विगत पाँचवर्षमा गठन हुन नसकेको नगरको लेखा समिति, सुशासन समिति, विधान समिति गठन गरेको दाबी गरिएको छ । यस अवधिमा १ वटा ऐन, १ वटा नियमावली र ५ वटा कार्यविधि निर्माण गरिएको उल्लेख गरिएको छ ।

अस्पताल, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्रको कार्यविधि बनाइ व्यवस्थापन समिति गठन गरेको छ । नगर अस्पतालमा गैंडाकोट ३ र १८ वडाका गर्भवती महिलाहरुका लागि आमा घर सञ्चालनमा ल्याइएको छ । गैँडाकोट स्वास्थ्य चौकी र नगर अस्पतालमा प्रसुती सेवालाई प्रभावकारी बनाइएको दाबी गरिएको छ । गैँडाकोट ३ र १८का गर्भवती महिलाहरुलाई लक्षित गर्दै घुम्ति भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याइएको नगरप्रमुख अधिकारी बताउँछन् ।

नगर अस्पतालमा बहिरङ्ग सेवालाई निशुल्क बनाइएको बताइएको छ।
सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने व्यक्तिमा पर्न गएको समस्यालाई सहजीकरण गर्न बैंकिङ समस्या समाधान तथा सहजीकरण समिति गठन गरिएको बताइएको छ ।
भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी लगत संकलन सम्बन्धी कार्यविधि २०७८ बमोजिम नगरस्तरीय समिति गठन गरिएको छ ।

फोहोरमैला व्यवस्थापन सम्बन्धि देखिएका समस्यालाई समाधान गर्न एक कार्यदल गठन गरि अध्ययन सुरु गरिएको छ । यस्तै कृषितर्फ नगरपालिकाले पशुवस्तुमा सबै वडामा पूर्ण खोप कार्यक्रमको सुरुवात गर्दै गैँडाकोट ३ र १८ लाभान्वित हुने गरि पशु स्वास्थ्य सेवा प्राविधिक नियुक्ति गरिएको बताएको छ ।

पशुमा कृत्रिम गर्भाधान सेवा प्रदान, गैँडाकोट १० मा साझेदारीमा १९ घरधुरीमा गाइ प्रवर्द्धन कार्यक्रम, गैँडाकोट ६ मा भैँसीको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत २४ घरधुरीमा यान्त्रीकीकरण सामग्री वितरण गरेको उल्लेख गरेको छ ।
यस्तै नगरपालिकाले गैँडाकोट ७ मा हरिहर पिस पार्कको सडक निर्माणको लागि ठेक्का सम्झौता गरेको छ ।

क्षेत्रीय रंगशालामा कभर्ड हल निर्माणको कार्यलाई तीब्रता दिएको दाबी गरेको छ । एकसय दिने अवधिमा गैंडाकोट नगरपालिका भित्र बसोबास गर्ने गरिव तथा विपन्न घरपरिवार पहिचान गर्दै जीविकोपार्जन माथि उकास्नका लागि तथ्यांक संकलन कार्य सम्पन्न गरीएको बताइएको छ ।

यस्तै झराही खोला तटबन्धनको काम सुचारु गरिएको बताइएको छ। गैँडाकोटमा भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउन तीव्र रुपमा काम सुरु गरेको दाबी गरिएको छ । त्यसको लागि भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको लगत संकलन लगायत व्यवस्थापनका लागि नगरपालिकामा सेवा केन्द्र स्थापना गरि कर्मचारीसमेत नियुक्त गरि काम अघि बढाएको छ । ४ हजार ५ सय १० भूमिहिन र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्न प्रक्रिया अघि बढाएको बताइएको छ ।

गैँडाकोट नगरपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि कूल ४३७ बेरोजगारीहरुको प्राथमिकता क्रम सूची स्वीकृत गरि रोजगरि सिर्जनाका कार्यक्रम अघि बढाएको छ ।

वीपी अन्तर्राष्ट्रिय खेलमैदान र नेपाल विश्वविद्यालयको लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइ नापी विभागबाट नापजाँचका लागि नापी कार्यालयमा पत्राचार गरिएको उपलब्धीमा उल्लेख छ ।

गैँडाकोट ६ नमुना बोटेटोल, राममन्दिर पूर्व करिब ५ सय मिटर नारायणी तटबन्धनको काम सम्पन्न भएको उल्लेख गरिएको छ ।
निर्माण कार्य जिम्मा लिई अलपत्र पार्ने नतासा निर्माण सेवालाई कारवाही गरि २१ लाख बैंक जमानत जफत गरी कालो सुचिमा राखिएको समेत बताइएको छ ।

बेलटाँडी सिँचाई बाँधको मर्मत गरिएको, नगरपालिका क्षेत्रभित्रका सार्वजनिक तथा सरकारी जग्गाको खोजी तथा नापजाँच तथा संरक्षणका लागि आवश्यक पक्रिया अघि बढाइएको नगरप्रमुख अधिकारी बताउँछन् ।
यस्तै गैँडाकोट नगरपालिकाको उपप्रमुख शान्ति कोइरालाका अनुसार न्यायिक समितिमा यो अवधिमा ३२ वटा निवेदन दर्ता मध्ये २३ वटाको मेलमिलापबाट सम्पादन भएको छन् । यस्तै ९ वटा मेलमिलापको चरणमा रहेको उनको भनाइ छ । यस्तै गैंडाकोट नगरपालिका क्षेत्र भित्रका सार्वजनिक तथा सरकारी जग्गाको खोजि गरी अभिलेख गर्ने गरी संरक्षण कार्य अगाडि बढाइएको समेत उपलब्धीमा उल्लेख छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट