भरतपुर, २० भदौ ।
पुष्पाञ्जली बचत तथा ऋण सहकारी संस्था लिमिटेड नारायणगढको अध्यक्षमा वामदेव शर्मा घिमिरे चयन भएका छन् ।
संस्थाको १३ औँ वार्षिक साधारणसभा तथा अधिवेशनले घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा नेत्रप्रसाद आचार्य, सचिवमा प्रभात ढुंगाना, कोषाध्यक्षमा अरुणकुमार खनाल र सहसचिवमा सेवन पन्त छन् ।
त्यसैगरी सदस्यहरूमा अन्नपूर्ण ढुंगाना, विनिता सुवेदी, विनिता नेपाल, मणिभद्र कँडेल, कोषराज घिमिरे, ध्रुवप्रसाद पौडेल, उमानाथ कँडेल र सरला पण्डित चयन भएका छन् ।
सगुन पार्टी प्यालेस भरतपुरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ चितवनका अध्यक्ष हरिप्रसाद पौडेल रहेका थिए । कार्यक्रममा बोल्दै पौडेलले पुष्पाञ्जली साकोसले छोटो अवधिमा पनि सेयर सदस्य र वचतकर्ताको लगानीलाई राम्रो प्रतिफल दिएर काम गरेकोमा बधाई दिए । `पुष्पाञ्जली साकोसले नारायणगढ बजार क्षेत्रका साना ठूला व्यवसायीलाई बचत गर्न लगाएर ॠण लगानी गराई व्यावसायिक सुनिश्चितता प्रदान गर्न सफल बनेको छ´, पौडेलले भने । चितवन जिल्ला बचत तथा ऋण सहकारीका अध्यक्ष हरिश्चन्द्र सुवेदीले पनि शुभकामना मन्तव्य राखेका थिए । श्रवण रेग्मीको अध्यक्षतामा गरिएको कार्यक्रमलाई साकोसका सचिव नेत्रप्रसाद आचार्यले सहजीकरण गरेका थिए । साकोसमा कुल ६ सय ७३ जना सेयर सदस्य छन् । साकोसको सेयर पुँजी ३ करोड ३५ लाख ५९ हजार रहेको छ भने कुल बचत ३३ करोड ५८ लाख १८ हजार रहेको छ ।





