चितवन, २० भदौ ।
प्रहरीको नक्कली परिचय पत्र देखाएर लुटपाट गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
चितवनको कालिका नगरपालिका–८ जुटपानी–शक्तिखोर सडकखण्डको गैरिवारीचोकबाट ना३५प ६५२० नम्बरको स्कुटरसहित विशाल पौडेल र विजय महत नाम गरेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।
भदौ १८ गते बिहान करिब साढे ११ बजेको समयमा कालिका–८ गैरीवारीमा आइसक्रिम तथा कुल्फी बेच्दै हिँडेका भारतीय नागरिक ४७ वर्षीय वीरेन्द्र साहलाई उनीहरूले ‘हामी प्रहरी हो’ भन्दै प्रहरीको नक्कली कार्ड देखाई धाकधम्की दिई नगद पाँच हजार ४०० रुपैयाँ लुटेर भागेका थिए।
डाँका गर्ने मानिसको खोज तलास गर्ने क्रममा सोही दिन साढे १ बजे आरोपितलाई स्कुटर र प्रहरी सहायक निरीक्षक विशाल पौडेल लेखिएको नेपाल प्रहरीको नक्कली परिचय पत्रसहित पक्राउ गरिएको जिल्ला प्रहरीका प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए।
उनीहरूमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा चितवन जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई अनुसन्धान कार्य भइरहेको अधिकारीले बताए।




