भरतपुर अस्पतालका मेसु पौडेलको एक वर्ष : बिरामीमा थपियो केही हर्ष

भरतपुर, १७ भदौ ।
केन्द्रीय स्तरको भरतपुर अस्पतालका प्रमुखको कार्यकाल कति समयसम्म रहने कुनै टुंगो हुँदैनथ्यो । पछिल्ला वर्षको अभिलेख हेर्दा थुप्रै प्रमुखहरू २–३ महिनामै फेरिएका थुप्रै उदाहरण छन् । तर यसपटक भने प्राडा कृष्णप्रसाद पौडेल लगातार लामो समयसम्म पदमा रहे । दोस्रोपटक भरतपुर अस्पतालको प्रमुख बनेर आएका पौडेल यस अस्पतालको मेडिकल सुपरिटेण्डन्ट (मेसु) भएको भदौ १३ गते एक वर्ष पूरा भएको छ ।
२०७८ साल भदौ १३ गते डाक्टर पौडेल चितवनस्थित भरतपुर अस्पतालको मेसुमा नियुक्त भएका थिए । यस अस्पतालको मेसुमा नियुक्त भएपछि आफूले अस्पताल सुधारका थुप्रै काम गरेको पौडेलले दाबी गरेका छन् । डाक्टर पौडेलले एक वर्षमा गरेका मुख्य कामहरुलाई सार्वजनिक पनि गरेका छन् ।

मेसु भएपछि उनले सबैभन्दा पहिले अस्पतालको ओपिडी समय परिवर्तन गरे । ओपिडी टिकटलाई निःशुल्क पनि बनाए । यो कामको सर्वत्र चर्चा भयो । ओपिडी समय बिहान १० बजेदेखि ३ बजेसम्म भएकोमा डाक्टर पौडेलले बिहान ८ बजेदेखि ५ बजेसम्म कायम गराएका छन् । मुलुकको सरकारी अस्पतालमा पहिलोपटक जीओपिडी सेवालाई स्थापना गरेर यसको सेवालाई चितवनबाट सुरुवात गरे । अपरेशन थिएटर ६ वटा भएकोमा त्यसलाई बढाएर ७ वटा पुर्‍याए । अस्पतालमा आठ शय्याको ट्रमा इमरजेन्सी सेवा पनि सुरु भएको छ । बन्द भएको स्पाइनल वार्ड नयाँ भवनबाट सुरु गरिएको छ भने फिजियोथेरापी सेवालाई थप आधुनिक र सुविधाजनक बनाइएको छ । दुई वर्ष बन्द भएको न्यूरोसर्जरी भदौ १५ गतेदेखि सुरु गरिएको डाक्टर पौडेलले जानकारी दिए ।

भरतपुर अस्पतालमा डाइलासिस मेसिन १० वटाबाट १५ वटा, आइसीयू २० शय्याबाट ३० शय्याको बनाउन लागिएको छ । नवजात शिशुका लागि नयाँ एचडीयू र १० शय्याको पीआइसीयू स्थापनाको काम पनि अन्तिम चरणमा पुगेको छ ।

सेवाग्राही असन्तुष्ट
अस्पतालले धेरै सुधार भैरहेको बताइरहेका बेला अस्पतालमा आएका सेवाग्राही भने अस्पतालको सेवाबाट सन्तुष्ट भएको पाइँदैन । डाक्टरलाई देखाउन र चेकजाँचमा ढिलाइ र सास्ती खेप्नुपरेको सेवाग्राहीको गुनासो छ । ‘टिकट लिएर डाक्टरको पर्खाइमा निकैबेर कुर्नुपर्छ’, गैंडाकोटबाट आएकी कोपिला सुवेदीले भनिन्, ‘डाक्टर छन् कि छैनन्, आउँछन् कि आउँदैनन्, थाहै हुन्न । भित्र सोध्यो आउनुहुन्छ भन्छन् तर डाक्टर कुरेको घण्टौं हुँदा पनि पालो आउन्न ।’ पहिलाको तुलनामा अहिले अस्पतालमा धेरै सुधार आएको र केहि सजिलो भएको भने सुवेदीले स्वीकार गरिन् ।

शक्तिखोरबाट आएकी हस्तमाया मगरले रगत जाँच, एक्सरेलगायतका काममा आफूलाई मेसो नभएको तर सहयोग माग्दा नपाएर अलमल परेको बताइन् । ‘हामीलाई त हाम्रो समस्या सुनेर सम्बन्धित ठाउँमा लगेर काम गरिदिए सजिलो हुन्थ्यो’ मगरले भनिन् ।
सेवाग्राहीको गुनासो सुनाएर मेसु पौडेलसँग जिज्ञासा राख्दा कुनै एउटा निश्चित समयमा बढी भीड हुनाले केही सेवाग्राहीलाई अप्ठ्यारो परेको हुनसक्ने बताए । ‘बिहान १० बजेदेखि १२ बजेसम्मको समयमा अत्यधिक भीड हुन्छ । यस्तो बेलामा जति नै जनशक्ति परिचालन गरे पनि काम गरिरहँदा भीड देखिनु स्वभाविक हो । सेवाग्राहीले भीड हुने समय पहिचान गरेर त्यही अनुसार आउने हो भने गुनासो गर्नुपर्ने ठाउँ हामीले राखेका छैनौँ’, मेसु पौडेलले भने ।

पत्रकार वसन्त पराजुली सरकारी अस्पताल सेवाग्राहीसँग जति जिम्मेवारी हुनुपर्ने हो त्यति नभएको बताउँछन् । ‘चिकित्सकहरु नै बिरामीप्रति जिम्मेवार नभएका गुनासा छन्, यसमा सचेत हुन जरुरी छ’, पराजुलीले भने, ‘सरकारी अस्पतालमा उपचार गराइरहेका बिरामीलाई थप विशिष्टकक्ष आइसियू, एनआइसियूमा लगेर उपचार गर्ने अवस्था आउँदा अन्यत्र रिफर नगरी यही अस्पतालमा उपचार हुने गरी व्यवस्था मिलाउनु पर्छ । तब मात्र अस्पतालले अवस्थामा सुधार ल्याएका छौँ भनेर भन्न पनि सुहाउँदो हुन्छ ।’
डाक्टरलाई बिरामी र कुरुवाको सुझावलाई मनन गरेर काम गर्न सुझाव दिँदै पराजुली भन्छन्, ‘यो अस्पतालप्रति जनविश्वास बढी छ तर अस्पतालको व्यवस्थापकीय पक्ष कमजोर छ । सबै मिलेर सुधार गर्नुपर्ने जरुरी छ ।’

आमूल परिवर्तन बाँकी
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारीले पछिल्ला वर्षमा यस अस्पतालमा केही नीतिगत र सेवासँग सम्बन्धित विषयमा सुधार आए पनि आमूल परिवर्तन भने नभएको बताउँछन् । सरकारले स्वास्थ्य बीमा लागू गरेपछि सेवाग्राही प्रत्यक्षरूपमा लाभान्वित भएको डाक्टर अधिकारीले बताए ।
चितवनको जनसंख्या अनुसार बीमाका बिरामीका लागि अस्पतालमा जनशक्ति र सुविधाको अझै पनि अभाव रहेको उनले बताए । ‘हामीले चाहँदाचाहँदै पनि धेरै कुरा गर्न सकिरहेका छैनौँ, सरकारी अस्पतालमा धेरै कुरा निःशुल्क छन्, हामीले बिरामीको निःशुल्क उपचार गरिरहेका छौँ, आम्दानीका स्रोत छैनन्’, डाक्टर अधिकारीले भने, ‘हामीले उपलब्ध जनशक्ति र स्रोत साधनबाट लगनशील भएर काम गरेका छौँ, दैनिक सेवा सञ्चालनमा गुनासो नआउने गरी काम गरिरहेका छौँ ।’

मेसु पौडेलले सार्वजनिक गरेका काम
१) ओपिडी टिकट पूर्ण रूपमा निःशुल्क गरिएको छ । भीडभाडको अवस्थालाई कम गर्न टिकट काउन्टर र बिल काउन्टर थप गरि सेवालाई प्रभावकारी बनाइएको छ ।
२) ओपिडी समय बिहान १० बजेदेखि ३ बजेसम्म भएकोमा हाल आएर बिहान ८ बजेदेखि ५ बजेसम्म कायम गरिएको छ ।
३) नेपालका सरकारी अस्पतालमा पहिलोपटक जीओपिडी सेवा सुरु भएको छ । गत वर्षको असोज १७ गतेबाट सुरु भएको यो सेवा बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म चल्दछ । बिहानै ७ः३० मा टिकट काउण्टर खुला हुन्छ र २ बजेसम्म सेवामा रहन्छ । टिकट काटेर धेरैबेर कुर्न पर्ने झन्झट छैन ।४) अस्पतालभित्र सोधपुछ कक्ष र फ्रेण्ड्स अफ भरतपुर अस्पतालसँग मिली अग्रभागमा हेल्प डेस्क २०७८ साउन १ गतेबाट नियमितरूपमा सञ्चालन भैरहेको छ ।
५) २०७८ मंसिर १ गतेबाट अपरेसन थिएटर ६ वटा भएकोमा त्यसलाई बढाएर ७ वटा बनाइएको छ । विकास समिति बजेटबाट नै २ वटा मोडुलर ओटी बनाई ओटी आधुनिकीकरण गर्न काम सुरु हुँदैछ ।
६) ब्युटिफिकेसन कमिटी बनाई अस्पताल सरसफाई र सौन्दर्यकरण गरिएको छ । अस्पताललाई सकेसम्म स्वच्छ सफा राख्न सबै कर्मचारीहरु र संघसंस्थाको सहयोगमा प्रत्येक सोमबार बिहान नियमित सरसफाई कार्यक्रम चलिराखेको छ । शौचालय र ढलनालाको निकास राम्रो नहुँदा यो सधैँ चुनौतीको विषय बनेको छ । ढलको निकास दिन स्थानीय निकायलाई यहीँबाट पनि अनुरोध गरिएको छ ।
७) २०७८ मंसिर ३ गते ८ शय्याको ट्रमा इमरजेन्सी सुरु गरिएको र अस्पतालमा ट्रमा म्यानेजमेन्ट सिस्टम प्रभावकारी बनाइँदैछ । सी ब्लकलाई टरसिएरी लेभलको ट्रमा सेन्टर बनाउने काम सुरु भइसकेको छ । इमरजेन्सी सेवालाई भदौ महिनाभित्रमा नयाँ भवनमा सारिँदै छ । नेशनल ट्रमा सेन्टरपछिको दोस्रो सरकारी ट्रमा सेन्टर भई दुर्घटनाका बिरामीलाई छिटो छरितो सेवा दिन सकिने अस्पतालको दाबी छ ।
८) प्रसूति सेवालाई छुट्टै भवन निर्माण गरी अझ गुणस्तरीय बनाउन समितिकै खर्चले प्रसुति भवन छुट्टै बनाउन प्रपोजल र डिपिआर तयार गरिएको छ ।
९) कोभिड महामारीको समयमा आइसीयू बेड अभाव भएको थाहा पाएर १० बेड आइसीयू र ५ बेड पिआइसीयू थप गर्ने काम भैरहेको छ ।
१०) जनताको सबैभन्दा ठूलो गुनासो सेवा लिँदा हुने भीडभाड हो भन्ने हामीलाई थाहा छ । अनलाइन टिकट गत कात्तिक ५ गतेबाटै सुरु गरिएपनि यसको प्रभावकारिता कम देखियो र पुनः निःशुल्क ओपिडी सेवा दिनुपर्ने भएकाले पछि छरितो अनलाइन टिकेटिङ गुरु भएको छ । भीड कम गर्न सकेसम्म प्रयास गरिएको छ । करिब ५ लाख बीमितको प्राथमिक सेवा बिन्दु भएको, रेफरल सिस्टमको कमी आदि कारणले यो गाह्रो विषय भएको छ । बीमाको मोेडालिटीमा परिवर्तनको आवश्यकता हामीले देखेका छौँ ।
११) आठ वटा कडा रोगका लागि राज्यले दिएको सुविधा र सामाजिक सेवा इकाइबाट दिइने सुविधाले कुनै पनि नेपाली नागरिक पैसाको अभावले भरतपुर अस्पतालमा उपचारबाट विमुख हुनु पर्दैन । तर चुस्त व्यवस्थापनको आवश्यकता अझै छ भन्ने हामीलाइ थाहा छ ।
१२) मानव स्रोत र पूर्वाधारको हिसाबले यो आफैँ मेडिकल कलेज बनिसक्नुपर्ने अस्पताल हो । र पनि हामी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानसँग मिलेर नर्सिङ र एमडीरएमस कार्यक्रमहरु सञ्चालन गरिराखेका छौँ । यो वर्ष बीएस्सी नर्सिङ सुरु गर्ने तयारीमा हामी छौँ ।
१३) सेवालाई अझै गुणस्तरीय बनाउन क्युए कमिटि र ड्युटी अफिसरको व्यवस्था अघिल्लो वर्षको पुस महिनाबाट सुरु गरिएको छ ।
१४) छिटो सेवा चाहिने बिरामीलाई लक्षित गरी यही जेठ ३ गतेदेखि छुट्टै भवनमा पेइङ सुपरस्पेसियालिटि क्लिनिक स्थापना गरिएको छ । यो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विस्तारित अस्पताल सेवा (इएचएस) कार्यविधि अनुसार नै सञ्चालन गरिएको हो ।

१५) चिकित्सक, नर्स, प्राविधिकहरुलाई स्वास्थ्य विषयको अनुसन्धानमा प्रेरित गर्न विकास समितिले निर्णय गरी एक वर्षमा १० वटा उत्कृष्ट रिसर्च प्रपोजललाई थोरै भएपनि अनुसन्धानको रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ । साथै अस्पताललाई प्राज्ञिक थलो बनाउन एकेडेमिक कमिटि, इन्स्टिच्युशनल रिभ्यु बोर्ड गठन गरिएको छ । कन्टीन्युइङ मेडिकल एजुकेशन (सिएमई) सञ्चालन हुने गरेको छ । यो अस्पताल देशभरिका स्वास्थ्यकर्मीलाई विभिन्न तालिम दिने लोकप्रिय केन्द्र बन्दै गएको छ ।
१६) निष्पक्ष रुपमा लिखित र मौखिक गरी चिकित्सक, नर्स, फार्मेसी र ल्याबमा परीक्षा लिएको छ ।
१७) कर्मचारी प्रशासन र अस्पताललाई अनुशासित बनाउन दण्ड र पुरस्कारको परिपाटी अगाँलिएको छ ।
१८) सी ब्लकलाई ट्रमा सेन्टरको रुपमा विकास गरिँदैछ ।
१९) पिआइसीयू र आइसीयू १५ वटा शय्या थप गर्ने काम अन्तिम चरणमा छ । डायलासिस १० वटाबाट १५ शय्या बनाइँदै छ ।
२०) एमआरआई मेसिन गत वर्ष स्वास्थ्य मन्त्रालयबाट स्वीकृत भएपनि अर्थ मन्त्रालयमा रोकिएको थियो । तर यस वर्ष अर्थ मन्त्रालयले बजेट कार्यक्रममा पारिसकेकाले खरिद प्रक्रिया सुरु भइसकेको छ ।
२१) बन्द भएको स्पाइनल वार्ड नयाँ भवनमा सुरु गरिएको छ ।
२२) फिजियोथेरापीलाई उपकरण थपी आधुनिक र नयाँ ठूलो ठाउँमा सारी सुविधाजनक बनाइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट