देवचुली, १७ भदौ ।
देवचुली नगरपालिकामा व्यवसाय दर्ता तथा नवीकरण शिविर सुरु भएको छ । देवचुली उद्योग वाणिज्य संघ तथा बजार व्यवस्थापन समितिको सहकार्यमा देवचुली नगरपालिकाले बिहिबार देवचुली वडा नम्बर १७ फारम बजारबाट शिविर सुरु गरेको हो ।
पहिलो दिनको शिविरमा २१ वटा नयाँ दर्ता तथा ३२ वटा नवीकरण गरिएको छ । सो शिविरबाट करिब दुई लाख चालीस हजार राजश्व संकलन भएको देवचुली नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख शिव सापकोटाले बताए । सापकोटाका अनुसार बिहिबार सुरु गरिएको शिविर नगरका विभिन्न स्थानमा संचालन गरिनेछ । देवचुली नगरपालिकाले १७ गते शुक्रबार रजहर बजार, १८ गते शनिबार सिजी गेट, १९ गते आइतबार मुण्डे/कुमसोत, २० गते सोमबार धारापानीचोक/गैंडीचोक, २१ गते मंगलबार प्रगतिनगरबजार/पृथ्वीनगरचोक, २२ र २३ गते ( बुधबार/बिहीबार) दलदलेबजारमा व्यवसाय दर्ता तथा नवीकरण शिविर गर्ने सापकोटाले बताए ।
बिहिबार सुरु गरिएको शिविरको देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले अनुगमन गरेका थिए ।शिविरमा देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सूर्य दवाडी , निवर्तमान अध्यक्ष रेशम सापकोटालगायतको सहभागिता थियो ।




