भरतपुर, १५ भदौ ।
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले आसन्न संघीय निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका छन् । पार्टीको २ नम्बर क्षेत्रीय समितिमा उम्मेदवार बन्न नाम दर्ता गराउँदै खनालले संघीय निर्वाचनमा लड्ने आफ्नो आकांक्षा औपचारिक रुपमै सार्वजनिक गरेका हुन् ।
खनालले बुधबार क्षेत्रीय सभापति भरतप्रसाद लामिछानेमार्फत नाम दर्ताका लागि निवेदन दिएका छन् । खनालको प्रस्तावकमा क्षेत्रीय सचिव प्रल्हाद उप्रेती र समर्थकमा वडा नम्बर ३ का सभापति तारामित्र पण्डित रहेका छन् ।
क्षेत्रीय समितिले संघीय निर्वाचनमा उम्मेदवार बन्नका लागि अपरान्ह सम्मको समय दिएको छ । बुधबार नै निवर्तमान जिल्ला सभापति जितनारायण श्रेष्ठले पनि उमेदवार बन्न नाम दर्ता गराएका छन् ।





