राप्ती, भदौ १५ ।
राप्ती नगरपालिकाको कार्यालय र वडाहरुमा छड्के जाँच भएको छ । राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल र सम्बन्धित वडाका वडाअध्यक्षहरुले समयमा कार्यालय नआउने कर्मचारीलाई छड्के जाँच गरेका हुन् ।
बुधबार मात्र १६ जना कर्मचारी छड्के जाँचमा परेका छन् । बिहान १०:१५ देखि बेलुकी ४:४५ बजेसम्म गरिएको चेकिङमा कर्मचारीहरु परेका हुन् ।
राप्तीनगर नगर कार्यपालिकाको कार्यालय, राप्ती-१ देखि ६ सम्मका वडा र भण्डारा अस्पतालको कार्यालय सहयोगीदेखि अधिकृत स्तरसम्मका कर्मचारीहरु चेकजाँचमा परेका हुन् ।
अब स्वीकृत बिना कार्यालयमा उपस्थित नहुने कर्मचारीहरु कारबाही पर्ने भएका छन् । अनुपस्थित कर्मचारीहरुलाई स्पष्टीकरण सोधिने र नियमानुसार उनीहरुलाई कारबाही गरिने प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताए ।
कर्मचारीहरुको हाजिरी तथा सिट चेकिङ गरिएको उनले बताएका छन् । कर्मचारी सेवामुखी हुनुपर्नेमा उनले जोड दिएका छन् । “आफूखुशी बिना खबर बिदामा बस्न पाइँदैन, यसले सेवाग्राहीलाई मारमा पार्छ ।” उनले भने “यस्तो सिस्टमको अन्त्य भएमा मात्र कार्य सम्पादन चुस्त ढंगले सम्पन्न गर्न सकिन्छ ।”
समयपालना नगर्ने, जानकारी नगराई बिदामा बस्ने, समयमा राजश्व दाखिला नगर्ने, समयमा रिपाेर्ट नबुझाउने वडा र शाखाहरूलाई नियमन गर्न चेकजाँच गरिएकाे लम्सालले बताएका छन् । यस्ताे कार्यलाई आगामी दिनमा निरन्तरता दिइने पनि उनले बताए ।





