भरतपुर, १५ भदौ ।
हिजोआज आम मानिसले पुस्तकालयको प्रयोगलाई कम गर्दै गए पनि यसको महत्त्व भने नघटेको पाठकहरूले बताएका छन् । १५ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा रामेश्वर पुस्तकालय तथा वाचनालयमा गरिएको अन्तरक्रिया कार्यक्रममा विभिन्न वक्ताहरूले पुस्तकालयको महत्त्वका बारेमा विचारहरू राखेका छन् ।
प्राध्यापक एवम् लेखक उदय अधिकारीले चितवन जिल्लामा भएका पुस्तकालयलाई राज्यले व्यवस्थित गर्न नसक्दा धिकिरधिकिर अवस्थामा चलिरहेको बताए । जिल्लामा पुस्तकालयलाई जोगाउन र पाठकमैत्री बनाउन स्थानीय सरकारले समन्वय गर्नुपर्ने धारणा राखे । बालकुमारी कन्या मावि नारायणगढका प्रधानाध्यापक हेरम्बकुमार श्रेष्ठ असीमले पाठकको रुचि र आवश्यकता अनुसारका किताब यहाँका पुस्तकालयमा अद्यावधिक हुन नसकेको गुनासो राख्दै पुस्तकालयलाई समयसापेक्ष व्यवस्थापन गर्न सकेमा पाठकको अभाव नहुने बताए । गीतानगर सामुदायिक पुस्तकालयका लोकनाथ पौडेलले ग्रामीण क्षेत्रमा पुस्तकालयमा आएर पढ्नेहरू प्रशस्तै भएको बताए । `सामुदायिक पुस्तकालयमा किताब थप्न स्रोत र साधनको अभाव छ´, पौडेलले भने – `राज्यले सहयोग उपलब्ध गराएमा गाउँमा राम्रोसँग पुस्तकालय चलाउन सक्ने जोश जाँगर हामीसँग छ ।´
रामेश्वर पुस्तकालयका अध्यक्ष एवम् कार्यक्रमका सभापति बालकृष्ण थपलियाले रामेश्वर पुस्तकालयमा पाठकको आवतजावत राम्रो रहेको बताए । बेलाबेलामा नयाँनयाँ पुस्तकहरू थपिरहेको बताउँदै पाठकको चाहना अनुसारका किताबहरू नियमितरूपमा संकलन गरिरहेको पनि थपलियाले बताए । `पुस्तकालयकर्मीहरू अध्ययनशील र पुस्तकका बारेमा जानकार हुनसकेमा पुस्तकालयहरू व्यवस्थित हुन्छन् र पाठकमैत्री बन्न सक्छन्´ थपलियाले भने । प्रमुख अतिथि रहेका भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मीले नगरभित्रका सामुदायिक पुस्तकालयलाई व्यवस्थित बनाउन प्रज्ञाप्रतिष्ठान लागिपर्ने बताए । चितवन पुस्तकालय संघ तदर्थ समितिका अध्यक्ष एकनारायण पौडेलले पुस्तकालय सभ्य, सुसंस्कृत अनि शिक्षित समाजको अभिन्न अंग भएकोले अब घरघरमा पुस्तकालय हुनुपर्ने धारणा राखे ।
इन्जिनियर सागर कार्कीले युवापुस्तामा पुस्तक अध्ययनको संस्कार बढिरहेको बताउँदै आफूजस्तै युवाहरू मिलेर बेटर चितवन मिनी लाइब्रेरी सञ्चालनमा ल्याएको बताए । `हामीसँग अहिले २५ सय शीर्षकका किताबहरू छन्´, कार्कीले भने – `अत्यन्तै न्यून शुल्कमा सदस्य बनेर घरमै लगेर किताब पढ्न पाउने व्यवस्था हामीले गरेका छौँ, हामीलाई सबैतिरबाट हाम्रो कामको स्याबासी पनि आएको छ ।´ स्थानीय सरकारले पुस्तकालयलाई प्राथमिकतामा राखेर सहयोग उपलब्ध गराउनुपर्ने माग कार्कीले राखे । विद्यार्थीहरूलाई पाठ्यक्रमभन्दा बाहिरका किताबमा पनि रुचि जगाउन सकेमा मानिसमा चेतनाको स्तर बढ्ने कार्कीको तर्क छ ।
भरतपुर महानगरका नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलले नगरभित्रका सामुदायिक पुस्तकालयलाई व्यवस्थित गर्न पहल गरिने बताए । `वडासँग समन्वय गरेर सम्बन्धित वडामा रहेका सामुदायिक पुस्तकालयको व्यवस्थापनका लागि पहल गर्नेछौँ´, पौडेलले भने- `नगरको साहित्य र कलाको विकासका लागि भरतपुर महानगर प्रज्ञाप्रतिष्ठान खोलिएको छ । प्रतिष्ठानसँग समन्वय गरि पुस्तकालयलाई कसरी व्यवस्थित बनाउने सन्दर्भमा छलफल अगाडि बढाइनेछ ।´
`पढौं, पढाऔं, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔं´ भन्ने नाराका साथ बुधबार देशैभर १५औं राष्ट्रिय पुस्तकालय दिवस मनाइएको छ । चितवन पुस्तकालय संघ भरतपुर चितवनको आयोजना र भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानको सहकार्यमा कार्यक्रम गरिएको हो ।
बालकुमारी क्याम्पसका पूर्वक्याम्पस प्रमुख चिरञ्जीवी श्रेष्ठले चितवनमा आफूले अनुसन्धान पुस्तकालय स्थापना गरेर काम अगाडि बढाएको बताए । श्रेष्ठले आफू बालकुमारी क्याम्पसको प्रमुख हुँदा पुस्तकालयलाई बलियो बनाउन योगदान दिएको कुरालाई पनि स्मरण गरे । चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालले पनि परिषद्मा पुस्तकालय स्थापना गरिएको र पाठकका लागि खुला गरिएको पनि बताए । कार्यक्रममा रामेश्वर पुस्तकालयका सल्लाहकार एवम् चितवन इङ्लिस स्कुलका केशवकुमार श्रेष्ठ, सम्पूर्ण किताबका लेखराम सापकोटा, बालकुमारी कलेजका यम पौडेललगायतले पुस्तकालयको आवश्यकता र महत्त्वका बारेमा बोलेका थिए । रामेश्वर पुस्तकालयले पुस्तकका विभिन्न सन्दर्भमा पठन संस्कारलाई बढावा हुनेगरी कार्यक्रमहरू गर्दै आइरहेको कार्यक्रम संयोजक पुस्तकालयकी सहसचिव कविता श्रेष्ठले बताइन् । कार्यक्रममा जिल्लाका अधिकांश पुस्तकालयका प्रतिनिधिहरूको उपस्थिति थियोे ।





