भरतपुर, १५ भदौ ।
नेपाली कांग्रेस पार्टीभित्रको बेथितिका बारेमा खरो रुपमा उत्रिने काँग्रेसका युवा नेता सुवोध प्रधानले प्रदेश सभा सदस्यमा उठ्ने इच्छा राखेका छन् ।
बाग्मती प्रदेश सभा सदस्यका लागि चितवन क्षेत्र नम्बर २ (क) बाट प्रधानले समानुपातिकतर्फ आवेदन दिएका छन् । `पार्टीलाई रचनात्मक बाटोमा अघि बढाउन र विकासका लागि आवाज उठाउन प्रदेश सभा सदस्य हुन खोजेको हुँ´, पार्टीको क्षेत्रीय समितिमा आवेदन दिँदै प्रधानले भने ।
प्रधान विभिन्न चुनावीक्रममा अग्रपंक्तिमा खटिँदै आएका छन् । २०७० सालमा सुशील कोइराला चितवनबाट निर्वाचन लड्दा प्रधान अग्रमोर्चामा खटिएका थिए । सानै उमेरदेखि उनी पार्टीको गतिविधिमा सक्रिय छन् । बुबा श्यामकृष्ण प्रधानको प्रेरणाबाट राजनीतिमा लागेका उनी पार्टीका विकृति र विसंगतीका बिरुद्ध आवाज उठाउँदै आएका छन् । उनका वुवा श्यामकृष्ण र वीपी कोईराला घनिष्ठ साथी हुन् । प्रधानकै घरबाट कोइरालाले राजनैतिक रणनीति तयार गर्थे । त्यसैबेलादेखि उनमा वीपीको प्रभाव परेको थियो ।
सानै उमेरमा राजनीतिमा चासो राखेका प्रधान पार्टीलाई जनतामुखी बनाउने अभियानमा छन् । उनलाई पार्टीभित्र स्पष्ट र खरोवक्ताका रुपमा चिन्छन् । उनी काँग्रेस निकट लोकतान्त्रिक खेलकुद महासंघका अध्यक्ष हुन् । नेपाल तरुणका पूर्व केन्द्रीय सदस्य हुन् । पार्टीमा उनी रचनात्मक काम गर्छन् । २०७२ को भूकम्पपछि उनी पुनर्निर्माणका लागि खटिएका थिए । काङ्ग्रेसको झन्डा लिएर भूकम्प प्रभावित क्षेत्रमा काम गरेका थिए ।





