तीज (कविता)

हुँदा खानेलाई संस्कार
हुने खानेलाई झङ्कार
संस्कारको नाउँमा
देखासिकी
र प्रतिस्पर्धाले
जरा गाड्दै गएको
चेलीहरूको चाड
हरितालिका
यान कि तीज !

छैन पानी
लोप्चन कुवामा
झर्दैनन् जोर धारा
पँधेरोमा
मनका दुःख र पीडासँगै
खुशी र हाँसो छर्दै
मस्किँदै, इल्लिँदै
नुहाउँदैनन् दिदीबहिनीहरू पँधेरोमा
थाप्दैनन् चाल्नीबाट पानी
भनिँदैन “अपमार्ग
सीता लस्कर सर्व पाप
हरहर”

टोकिँदैनन् दतिवन दाँतले
खोजिँदैन नागबेली
घ्यूमा भुटीभुटी पाक्दैन
ढकने किटको कराहीमा
आजकल तीजमा !

पहिला पहिला त
केही दिन मात्र
मनाइन्थ्यो तीज !
तर
आजभोलि त
महिनौँदेखि मनाइन्छ
त्यो पनि
घरमा होइन
ठूला ठूला तारे होटल

पार्टी प्यालेसमा
यहाँ संस्कारको नाउँमा !

पर्वको नाउँमा
देखासिकी बढेको छ
धन र सम्पत्तिको
होडबाजी चलेको छ
मात्र धन हुनेका लागि
मात्र बनेको छ तीज !

सायद !
आमाहरूले
एउटै धोतीले
वर्षौं तीज
कटाउनुहुन्थ्यो
तर
आजभोलि त
एक पटक लगाएको कपडा
दोस्रो पटक
लाउन हुन्न रे !

चमेलीले
नयाँ गहना लगाई भने
सुन्तलीले पनि
उसकै सिको गर्नुपर्छ रे
गोजीमा दाम होस्
या नहोस्
श्रीमान्सँग होस्
या नहोस्
उसले भनेपछि
श्रीमान्ले किनिदिनै पर्ने
जसरी पनि
कमाउनै पर्ने
उसको तलबले पुग्दैन
अब
लामा हात नगरेर
के गर्ने बिचराले !

श्रीमानलाई
बाङ्गो बाटो हिँड्न
बाध्य बनाउँदैछ
आजकल तीज !

मेरी हजुर आमा र आमाले
वर्षौं सम्म एउटै साडी लगाउनु हुन्थ्यो
एउटै गहनाले गुजारा गर्नु हुन्थ्यो
खै वहाँहरूलाई महादेवले
कहिल्यै भन्नू भएन
नयाँ लगाऊ भनेर
तर
आजकल त
पुरानो लाउनु हुन्न रे
तीजमा !

मलाई कताकता
सोच्न बाध्य बनाउँदै छ
कतै
आधुनिकताको नाममा
हामी हाम्रा धर्म,
संस्कृति, संस्कार,
परम्परा र पर्वको
उपहाँस त गरिरहेका छैनौं ?

तीन सय चौसठ्ठी दिन
पतिको सत्तोसराप गरेर
एक दिन पानी खाँदैमा
पति निरोगी
र लामो आयु
पक्कै हुने होइन
यो कुरा बुझ्न जरूरी छ
आधुनिक तीजका
झुण्डहरूलाई !

श्रीमानलाई
लामो हात गर्नबाट
रोक्न जरूरी छ
एकछिन राम्रो हुँदैमा
धर्म गरिँदैन
मनमा शान्ति मिल्दैन
बरु सकिन्छ भने
दिनरात बानी गरेर
हातमुख जोर्न
डल्ली र कलीको जस्तै तीज
मनाउन सिकौँ !

जसको मन सफा छ
लामो हात गर्न जान्दैनन्
सच्चा संस्कार डल्ली
र कालीसँग छ
सिको गरौँ उनैको
खाँटी तीज डल्ली
र कालीसँग छ !
संस्कारको तीज !
संस्कृतिको तीज !
महिलाहरूको
महान् चाड तीज !

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट