भरतपुर, १५ भदौ ।
पश्चिम चितवनस्थित भरतपुर-२७ मेघौली पर्साढापमा तीज विशेष मेला गरिएको छ ।
हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको पावन अवसरमा पर्साढाप व्यापार संघद्वारा तीज विशेष कार्यक्रम गरिएको हो ।
पर्साढाप आँपबगैँचास्थित शिवालय पार्कमा मेला आयोजना गरिएको थियो । रमाइलो मेलामा तीज गीत नृत्य प्रतियोगितासँगै ठेला हान्ने, घैंटो फुटाई, म्युजिकल चियरलगायतका खेलहरु पनि खेलाइएको थियो ।
करिब ५०० जना भन्दा बढीको सहभागिता रहेको कार्यक्रम भव्यरुपमा सफल भएको पर्साढाप व्यापार संघका अध्यक्ष भीमकुमार श्रेष्ठले बताए । विगतका वर्षहरुमा भन्दा यो वर्ष कार्यक्रम थप उल्लासमय रहेको श्रेष्ठको भनाइ छ । `करिब २ वर्ष कोभिडले गर्दा कार्यक्रम हुन सकेन, यस वर्ष हामीले कार्यक्रम गर्न सफल भयौं´, श्रेष्ठले भने ।
तीज विशेष प्रतियोगितात्म्क कार्यक्रम, विभिन्न खेलकुदका कार्यक्रम र रमाइलो मेलाले कार्यक्रमको शोभा बढाएको व्यापार संघका सचिव तीर्थ सापकोटाले जानकारी दिए ।
तीज विशेष प्रतियोगितामा क्रमश: सत्यवन आमा समूह, न्यौपाने चेलिबेटी समूह, जानकी मावि विद्यार्थी समूह र हिमशिखर महिला समूह प्रथम, द्वितीय , तृतीय र सान्तवना पुरस्कार प्राप्त गर्न सफल भएका थिए ।
पर्साढाप बजार विकास समिति, पर्साढाप युवा क्लब, जानकी युवा क्लब, राधा समाज कल्याण आमा समूह, शिवालय हाट बजार समितिलगायत थुप्रै सहयोगी संस्थाहरुले कार्यक्रममा सहयोग गरेका थिए ।





