भरतपुर, १५ भदौ ।
नारायणी इंगलिस पब्लिक स्कूलमा एसक्यूसी चितवन हबको सातौं हब कन्भेन्सन सम्पन्न भएको छ । क्वेष्ट नेपालकी अध्यक्ष एवं ग्यालेक्सी पब्लिक स्कूलकी प्राचार्य सुरिना गुरुङको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रम चितवन हब संयोजक ओमराज मैनालीको सभापतित्वमा भएको थियो ।
क्वेष्ट नेपालका केन्द्रीय सदस्य एवं स्मल हेभन मोडल स्कूलका प्राचार्य विमलकुमार क्षेत्री, भरतपुर महानगर प्याब्सन अध्यक्ष लेखनाथ खनाल, विद्यार्थी गुणीय चक्र (एसक्यूसी) का अभियन्ता एवं भ्याली स्टेट कलेजका प्रिन्सिपल बाबुराम खनालको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रमका सह-आयोजक नारायणी इङ्लिस पब्लिक स्कूलका प्राचार्य वेदराज न्यौपानेले स्वागत मन्तव्य राखेका थिए ।
एसक्यूसी मास्टर ट्रेनर प्रतीक्षा श्रेष्ठले सन्चालन गरेको उक्त कार्यक्रममा अर्किड स्कूलका शिक्षकहरु राधा लुंगेली, दीपा भट्टराई, हरि सापकोटा, मुक्तिराम सापकोटा र मिलन पनेरु तथा नारायणी इङ्लिस पब्लिक स्कूलका शिक्षकहरु नवीन बगाले, अर्जुन पौडेललगायतको टिमले कार्यक्रमको सहजीकरण गरेका थिए ।
२१ वटा विद्यालयबाट २४० जना विद्यार्थीहरुको सहभागिता रहेको यस कार्यक्रममा ‘केस स्टडी प्रेजेन्टेसन, प्यानल डिस्कसन, एड मेकिंग, कोलाज आर्ट, स्पेलिंग बी, स्टोरी फर्मेसन’ मिश्रित समूह निर्माण गरी प्रतिस्पर्धा गराइएको थियो ।
अर्किड स्कूल, वाल्मीकि शिक्षा सदन र ब्लु-बर्ड स्कूलले समूहगत ‘केस स्टडी प्रेजेन्टेसन’ दिएका थिए भने सहभागी सम्पूर्ण विद्यालयले प्यानल डिस्कसन, कोलाज आर्ट, स्पेलिंग बी, स्टोरी फर्मेसन, एड मेकिंगमा अब्बल प्रस्तुति प्रदर्शन गरेका थिए ।
मिश्रित समूहगत रुपमा प्रतिस्पर्धा रहेको यस कार्यक्रममा अधिकांश विद्यार्थीहरु पुरस्कृत भएका थिए । अर्किड स्कूल र नारायणी इङ्लिस पब्लिक स्कूलका विद्यार्थीहरुको छुट्टाछुट्टै सांस्कृतिक समूहले स्वागत नृत्य प्रस्तुत गरेका थिए । नारायणी इङ्लिस पब्लिक स्कूलका राष्ट्रिय सेवा दलका विद्यार्थीहरुले स्वयंसेवाको उदाहरण प्रस्तुत गरेका थिए ।
एसक्यूसी अर्थात् विद्यार्थी गुणीय चक्र अन्तर्गत हरेक विद्यालयमा कक्षा ६ देखि १० का विद्यार्थीहरुमध्येबाट ६ देखि १० जनाको समूह निर्माण गरी वैज्ञानिक पद्दतिको अवलम्बन गर्दै विद्यालयमा व्याप्त समस्याहरुको पहिचान, कारण र निदान खोजिन्छ ।
यसवर्षको ‘एसक्यूसी अन्तर्राष्ट्रिय अधिवेशन २०२२’ काठमाडौंमा अवस्थित सेन्ट जेभियर्स स्कूल, गोदावरीमा आगामी असोज १४ देखि १६ गतेसम्म आयोजना हुँदैछ ।




