काठमाडौं, १५ भदौ ।
आगामी ४ मंसिरमा हुने संघीय तथा प्रदेशसभा चुनावमा करिब २ लाख ४६ हजार कर्मचारी परिचालन हुने निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार निर्वाचनमा आवश्यक पर्नेमध्ये करिब ९८ प्रतिशत कर्मचारीलाई मतदान केन्द्रमा खटाइनेछ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान केन्द्रको संख्यामा निर्भर भए पनि करिब २ लाख ४६ हजार ९६० जनशक्ति आवश्यक पर्ने बताए। आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान केन्द्रको संख्या करिब २३ हजार ७०० हुने अनुमान आयोगको छ। स्थानीय चुनावमा २१ हजार ९५५ मतदान केन्द्र तोकिएको थियो।
प्रवक्ता पौडेलले भने, ‘मतदान केन्द्र पुनरवलोकन भई बढ्ने सम्भावना रहेकाले सोही अनुपातमा जनशक्ति थपिनेछन्।’ आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा ११ जना जनशक्ति रहनेछन्। मतदान केन्द्रमा ८ कर्मचारी र ३ स्वयंसेवक राखिनेछन्।
स्थानीय तह चुनावमा महानगर, नगरपालिका र गाउँपालिकाअनुसार मतदान केन्द्रमा खटिने कर्मचारीको संख्या ५ देखि ८ जनासम्म थियो। उक्त चुनावमा निर्वाचन अधिकृतको कार्यालय ७५३ र मतगणनासमेत प्रत्येक पालिकामा भएकाले कर्मचारी संख्या १ लाख ९,०८८ थियो भने करिब ६५ हजार स्वयंसेवक परिचालित भएका थिए।
तर, आगामी चुनावमा १६५ निर्वाचन क्षेत्र मात्रै रहेकाले सोही संख्यामा निर्वाचन अधिकृतको कार्यालय रहनेछन्। मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा १,४८५ कर्मचारी नियुक्त हुनेछन्।
आयोगको केन्द्रीय कार्यालयसहित प्रदेश र जिल्लास्थित कार्यालयमा एक हजार जनशक्ति आवश्यक हुने बताइएको छ। केन्द्रीय कार्यालयमा काजमा आउने तथा प्रदेश र जिल्लाका कर्मचारीसहित सचिवालयमा १००० कर्मचारी रहने प्रवक्ता पौडेलले बताए। आयोगले मतगणनाका लागि २,४७५ जना कर्मचारी आवश्यक हुने जनाएको छ। प्रत्यक्ष निर्वाचन प्रणालीमा प्रतिनिधि सभातर्फ १६५ र प्रदेशसभातर्फ ३३० वटा क्षेत्र छन्।





