काठमाडौं, १४ भदौ ।
आउँदो मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले सोमबार (१३ भदौ) देखि लागु हुनेगरी आचारसंहिता राजपत्रमा सार्वजनिक गरेको छ ।
आयोगका अनुसार सोमबारबाट आचारसंहिता लागू भएको छ ।
आयोगले जारी गरेको आचारसंहितामा उम्मेदवारले निर्वाचनको मनोनयनपत्र पेश गर्न जाँदा वा घरदैलो कार्यक्रममा जाँदा पच्चीस जनाभन्दा बढीको जुलुस लिएर जान नहुने उल्लेख गरिएको छ । ‘निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा वा प्रचार प्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित पच्चीस जना भन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजा, गाजा तथा झांकी सहित जान नहुने,’ आचारसंहिताको दफा १३ (ण) मा उल्लेख गरिएको छ ।
त्यस्तै, उम्मेदवार वा दलले आफ्नो कार्यालय बाहेकको स्थानमा दलको झण्डा, डिजिटल बोर्ड वा फ्लेक्सको प्रदर्शन गर्न नहुने आयोगले भनेको छ ।
‘उम्मेदवार वा दलले आफ्नो कार्यालय बाहेकको स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रब्यदृश्य सामग्रीहरु प्रदर्शन गर्न नहुने ।’ आचारसंहितमा भनिएको छ ।
तर जुलुस, आमसभा, कोणसभा वा घरदैलो कार्यक्रममा खण्ड (ड) बमोजिमको आकारका दश दश वटासम्म झण्डा र चुनाव चिन्ह प्रयोग गर्न तथा राजनीतिक दल तथा उम्मेदवारको नाम र चिन्ह भएको एउटासम्म तुल वा फ्लेक्स राख्न बाधा नपर्ने आयोगले आचारसंहितामा जनाएको छ ।





