एक युगको साक्षी : चनौलीको चौतारो

चौतारो भन्ने बित्तिकै तपाईंको मनमा के–कस्तो किसिमको चित्र कोरिन्छ ? के सोच्नुहुन्छ ? कुन ठाउँको तस्बिरले तपाईंलाई पछ्याइरहन्छ ?
लेकबेसी गर्दा थकाई मार्न चौतारोको सहारा लिनुभयो होला । गाईभैँसी चराउँदा–चराउँदै दिउँसोको टन्टलापुरे घाममा थकाई मार्न चौतारो खोज्नुभयो होला । अथवा काठे पुलको कुलोमा पौडी खेलेर ढुङ्गामा सुतेपछि भएको गर्मीलाई शीतल पार्न पनि चौतारै खोज्नुभयो होला । खैर, केही छैन । जे–जसरी चौतारोलाई सम्झिए पनि मलाई लाग्छ, त्यसले पक्कै सुखद अनुभूति दियो । आफ्नो बाल्यकाललाई कसैगरी ब्युँताइदियो ।

मैले भने चौतारो भन्नेबित्तिकै ‘चनौलीको चौतारो’ सम्झिहाल्छु । त्यस वरपरका दृश्य–परिदृश्यले मलाई आह्लादित बनाउँछन् र बाल्यकालका स्मृतिहरू मानसपटलमा तँछाडमछाड गरी आउँछन् । एउटा स्वप्नमय संसारमा पुगे जस्तो लाग्छ ।
जापानमा कामको थकाई मार्दा होस् वा रेल स्टेसनमा साथीभाइ कुर्दा होस्, म चनौलीको उही पुरानो चौतारो सम्झिहाल्छु, जहाँ मैले सुखद बाल्यकाल बिताएँ । साइकल खेल्दै–पेल्दै आउने पसिना त्यही छहारीमा बसी सुकाएँ । आउनुस्, आज म तपाईंलाई यसैको सेरोफेरोको केही कहानी सुनाउँछु ।

भरतपुर–मेघौली सडकखण्डमा पर्ने चनौली बजार पछिल्लो समय पश्चिम चितवनको व्यापारिक केन्द्रका रूपमा यसले आफ्नो परिचय फराकिलो पार्दैछ । कस्मेटिकदेखि किराना पसल होऊन् या तन्दुरीदेखि तात्ताता सेल अनि सुन पसल र सुपरमार्केटसम्म यहाँ छन् । यसले आफ्नो आयतन फराकिलो त पारेको छ नै, सबैलाई जीविकोपार्जनमा सघाएको पनि छ । कृषि कर्म गर्नेदेखि होटल र जग्गाको कारोबारबाट मालामाल भएकाहरू पनि यही सेरोफेरोमा छन् । शिक्षा र प्राज्ञिक जगत्मा पौरख गरी गाउँघरमा उज्यालो ज्योति छर्न मरिहत्ते गर्ने यसै पेरिफेरीमा छन् ।

बजारको बीचमा छ चौतारो । यसमा छ समीको रुख । जब मैले तातेताते गर्न सिकेँ, बुवा अनि हजुरबाहरूको हातको कान्छीऔँला पक्रिएर मैले छरछिमेक गर्न थालेँ, त्यति बेलै मैले यो चौतारो देखेको हुँ । त्यति मात्र होइन, बुवा–हजुरबाहरूको हातका औँला पक्रिन छाडेपछि साथीसँगातीसँग आसपास खेल्न जाँदा होस् या कैँची र डन्डीबाट साइकल रेसमा नै किन नहोस् — यो चौतारोको छहारीले मेरा पसिना ओभाइदिएको छ । थकाई मेटाइदिएको छ ।

त्यति बेला मात्र होइन, अहिले पनि यो चौतारो त्यसरी नै बसिरहेको छ । हर घटना–परिघटनाको साक्षीका रूपमा अनवरत बसिरहेको छ । चौतारो आरम्भमा कस्तो रूपको थियो, कति पटक निर्माण वा पुनःनिर्माण भयो ? म यसै भन्न सक्दिनँ । यद्यपि २०३२ सालमा यसमा समीको रुख रोप्ने व्यक्ति मित्रलाल प्रधान हुन् भन्ने चाहिँ थाहा छ । यसको मलजलको काम भने भीमसेन श्रेष्ठलगायत स्थानीय सामाजिक अगुवाहरूले गरे भन्ने सुन्न पाइन्छ । यो लेख प्रकाशित भइसकेपछि यसको संरक्षण र मलजल गर्ने अघिल्लो पुस्ताका केही नाम पक्कै बहसमा आउने छन् र सबैलाई थाहा पनि हुनेछ । अहिले पछिल्लो पुस्ताले पनि यसको संरक्षण गरिरहेको कुरा त प्रत्यक्ष देखिरहेका छौँ ।
बेला–बेला हाँगा छिमल्दै चाडबाडको सन्दर्भ पारेर यो चौतारोलाई सुन्दर बनाइएको हुन्छ । रमाइलो पक्ष त के छ भने २०४९ सालमा यही चौतारो छेवैमा बसेर चिया पिउँदै गर्दा तत्कालीन कानुनमन्त्री तारानाथ रानाभाटलाई गिरिजाप्रसाद कोइरालाले आफ्नो मन्त्रीपरिषद्बाटै छिमलेका थिए ।
२०४८ सालको प्रवेशिका परीक्षामा देशभरमै बोर्ड दसौँ बनेका शिवलाल रिजाल पनि दद्रेनीबाट यही चौतारोमा झोला बिसाउँदै भीमनगर स्कुल जाने गर्दथे ।

तोरी पेल्न मात्रा होइन सिरम्ला र चिउरा कुट्न नाम्लो लगाएर चोकबजार जानुपर्ने बाध्यतालाई बाबुराम साहु र राम थापाहरूले ब्रेक लगाइदिएपछि धेरैले यही चौतारोमा बसेर पालो कुरुन्जेल समय कटाउने गर्दथे । चनौली आसपासबाट भारतीय गोर्खा सैनिकमा भर्ती भएर उन्नति गर्ने थुप्रै घर–परिवार छन् । भर्ती हुने दाउमा धेरैले एकाबिहानैदेखि यही चौतारोमा बुट बजार्थे । आखिर हामीलाई चौतारोले ‘ओत’ मात्रै दिँदैन थकान पनि मेट्छ । सुन्दर भविष्य उन्मुख हृदयलाई शीतलतापूर्वक गन्तव्यतर्फ डोर्‍याउँछ ।

विशेषगरी हिन्दू धर्मावलम्बीहरू चौतारो संस्कृतिमा बढी लगनीशील देख्छु म । चौतारो बनाई त्यहाँ समी वा बर वा पीपल रोप्ने र तिनमा ब्रह्मा, विष्णु र शिवको बास खोज्ने संस्कृति उनीहरूको छ । अनि शनिबार त्यहाँ जल चढाउँदा, दर्शन गर्दा वा छुँदा पनि राम्रो हुने विषय विभिन्न धर्मशास्त्रमा उल्लेख गरेको पाइन्छ । पीपलको रुखलाई यसै पनि ज्ञान र शान्तिको प्रतीकका रूपमा लिन सकिन्छ । यसको पातको आकार ह्दयको जस्तै हुने भएकाले यसलाई मायाको प्रतीक भने पनि भयो । पछिल्लो दशकमा समीको रुख चौतारोको रूपमा लोकप्रिय देखिन्छ । त्यसो त चार शताब्दी पुरानो ‘राजाको चौतारा’ नामले लोकप्रिय कास्कीको चौतारोमा पनि समीकै रुख छ । गोर्खा फुजेलस्थित ३०० वर्ष पुरानो समीको रुखलाई विश्वकै ठूलो समीको रुखको रूपमा लिइन्छ ।

म उही प्रसङ्गमा आउँछु । मेरै चौतारोमा । त्यही चनौलीको चौतारोमा, जसले मलाई अहिलेसम्म भुल्ने छुट दिएको छैन । तीजमा आमा, दिदी–बहिनी, हजुरआमाहरूले यही चनौलीको चौतारोमा नाचगान गरेको म सम्झिन्छु । बाल्यकालमा वरपरका छिटफुट पसलेहरूलाई जम्मा पारेर यही चौतारोमा सामूहिक देउसीभैली देखाएको पनि मेरै आँखाअगाडि झलझली छ । यसको छहारीमा के भएनन्, तीजमा चेलीबेटीहरू छमछमी नाचेनन् कि, आमा–हजुरआमाहरूले पूजाअर्चना गरेनन् कि अथवा बा–हजुरबा–काकाहरूले गफका चुट्किला मारेनन् कि । कछाड लगाउने हजुरबाहरूले चुनढुङ्गाले कोतरेर बनाएको ‘बाघचाल’ खेल्ने ठाउँ पनि यही बन्यो । के थाहा, साँझपख एकान्त पारेर प्रेमी–प्रेमिकाहरूले मायाप्रीति पनि साटे होलान् ।

नारायणगढ वा टाढाटाढासम्म जाने बस कुर्ने चौतारो यही हो, जसले एउटा प्रतीक्षालयको पनि काम गरेको छ । यति मात्र होइन, तीजमा गीत प्रतियोगिता, तिहारमा झन्डीबुर्जा खेल्ने र पटाका पड्काउने ठाउँ पनि यही प्रिय चौतारो थियो । डिजेल राख्ने ड्रम जोडेर सांस्कृतिक कार्यक्रमको मञ्च बनाएको सम्झना मलाई हिजोअस्ति जस्तो लाग्छ । आमा समूहले अक्षय तृतीयाको सन्दर्भ पारेर घैँटोमा भेलीपानी राख्ने चलनले सम्भवतः निरन्तरता पाइरहेको होला ।
चनौलीको ‘क्षितिज युवा क्लब’ निकै पुरानो हो, जसले पश्चिम चितवनमै गतिलो प्रभाव राख्थ्यो । क्लबले खेलकुद मात्र होइन, सांस्कृतिकदेखि जनचेतनाका विभिन्न कार्यक्रमले उसले आफ्नो दबदबा यस क्षेत्रमा राम्रैसँग राखेको थियो । क्षितिज युवा क्लबको संस्थापक अध्यक्ष कृष्ण घले हुन् भने २०४७ सालमा जिल्ला प्रशासनमा दर्ता भएपछि हुमराज रेग्मीले यसको नेतृत्व लिएको देखिन्छ । हाल भने चनौलीबजार व्यवस्थापन समिति सक्रिय छ । जसको संस्थापक अध्यक्ष तीर्थ रेग्मी हुन् भने वर्तमान अध्यक्ष विनोद लामा हुन् ।

मलाई लाग्छ, पश्चिम चितवनमा चोकमा रुख रोप्ने सभ्यता चनौलीले नै विकास गरिदिएको हो भन्दा अत्युक्ति नहोला । चनौलीको चौतारोबाट प्रभावित भएर, यसैको सिको गरेर । जब चनौलीमा चौतारो बन्यो, त्यसपछि विभिन्न चोकचोकमा यस्ता चौतारो बन्ने लहर नै ल्यायो । त्यस्ता केही उदाहरण म सम्झिन्छु, जहाँ पछि चोकमा चौतारो बने – महेन्द्रचोक, विशालचोक, कृष्णचोक, धर्मचोक, गाविसचोक (विजयनगर), स्वामीचोक, कैलाशनगरचोक, विशालचोक (फनपार्कदेखि अगाडि), मुनालचोक, तेलौलीचोक, भुवनबस्तीचोक, अमृतचोक, सिमरीटाउनचोक, गर्दीचोक, ढिकुनचोक, स्याउलीबासचोक, रमाइलोडाँडाचोक आदि ।
चनौलीमा चौतारो बन्यो । विभिन्न कालमा चौतारोको स्वरूप पनि फेरियो । त्यहाँ चौतारो मात्र बनेन, यो त समय–समयका घटना एवम् परिवर्तनका साक्षी बनिरहेको छ । राजनीतिक होस् या सामाजिक, विकासको होस् या विनाशको— सबथोकको एउटा अविचलित दर्शकका रूपमा यो अद्यापि बसिरहेको छ । आज मात्र होइन, यसले भोलि पनि त्यसैगरी मानिसका कृत्य हेर्नेछ । पञ्चायतमा पञ्चहरूले पञ्चसभा गर्न होस् या ०४६/४७ को परिवर्तन नै किन नहोस् — उनीहरूले कुनै न कुनै रूपमा यही चौतारोमा बसी कहिले वक्तव्यबाजी गरे, कहिले भाषण गरे त कहिले परिवर्तनका स्वर सुसेले । स्थानीय तहको निर्वाचन होस् या संसदीय — सबैमा जनप्रतिनिधिले आफ्ना कुरा जनतालाई सुनाउने थलो यही चौतारो बनाए । ०६२–६३ को आन्दोलनको थलो मात्र यो बनेन, १० वर्षे माओवादी सशस्त्र युद्धकालमा समेत माओवादीले छापामार शैलीमै किन नहोस्, यही चौतारोलाई छहारी बनाए । पञ्चरक्षाका लागि प्रतिकार समितिले यही चौतारोमा बसेर सर्वसाधारणलाई धम्क्याए, जनसभा गरे । आफ्ना घोषणा सर्वसाधारणलाई सुनाए । त्यसो त ०४६ को फागुनमा एकनारायण पौडेल, करुणानिधि अर्याल, भरत अधिकारी र राम थापासहितका योद्धाहरू यही चौतारो अघिल्तिरबाट गिरफ्तार भएर टिकौलीमा थुनिएका थिए ।

धेरै टाढा नजाऔँ, भर्खरै सकिएको स्थानीय तहको चुनावका क्रममा पनि कतिपय जनप्रतिनिधिले यसलाई आफ्ना धारणा सर्वसाधारणसमक्ष पुर्‍याउने माध्यम बनाए हुन् । मङ्सिरको चुनावमा पनि त्यही गतिविधि दोहोरिने प्रस्टै छ । अझै गहिरिएर हेर्दा यही चौतारोमा शीलत ताप्दै भाषण गर्ने पुष्पकमल दाहाल र सुशील कोइराला मुलुकमै प्रधानमन्त्री भए भने पृथ्वीमान गुरुङ र अमिक शेरचन प्रदेश प्रमुखसम्म भए । विक्रम पाण्डे, नारायण शर्मा पौडेल, विजय सुवेदी, चित्रबहादुर श्रेष्ठ, तीर्थ भुषाल, रामकृष्ण घिमिरेलगायतका राजनीतिज्ञहरू सांसद र मन्त्रीसम्म भए । यसका अतिरिक्त स्थानीय राजनीतिक नेताहरूको चर्का सम्बोधन धेरैैपटक सुन्यो यो चौतारोले । त्यसैले चनौलीको यो चौतारो मान्छेका अनेक सुखदुःख, आपत्विपद् र राजनीतिक घटना–परिघटना आदिको साक्षी त हो नै, सँगै सदियौँको त्यो समाज र अहिलेको विकासको यो दुनियाँ देख्ने पनि यही चौतारो हो । किनकि अहिले चनौली बजारले विकासमा पश्चिम चितवनको वैकल्पिक सहरको झल्को दिन खोज्दैछ । चहलपहल र गतिविधिको हिसाबले रामपुर, गीतानगर, पार्वतीपुर, जगतपुरलाई चनौलीले धेरै पछाडि छोडिसकेको भान हुन्छ ।

सर्वसाधारणका लागि मालपोत होस् या नापी कार्यालय यहीँ छन् । खेतीपातीको भण्डारणका लागि शीतभण्डार होस् या सुरक्षाका लागि इलाका प्रहरी चौकी यहीँ विद्यमान छन् । अस्पताल, रेडक्रस र विद्युत् सबस्टेसनदेखि कमर्सियल बैङ्क चनौलीका गहनाकै रूपमा स्थापित छन् । रेडियो साहिनोले जनतालाई सूचित गरिरहेको छ । थारु होमस्टे मात्रा होइन ॐ शान्तिको रूपमा परिचित ब्रह्माकुमारी राजयोग सेवा केन्द्र यहीँ छ । विकासले पूरै कोल्टे फेरिसक्यो । परिवर्तनको यो ‘ड्रास्टिक चेन्ज’ ले भरतपुरको खाँचो चनौलीले टार्न थालेको मलाई अनुभूति हुन्छ । औँलामा गन्न सकिने चिया पसल र किराना पसल थिए, त्यतिबेला । तर अहिले ठूल्ठूला मलदेखि सुपरमार्केटसम्म बनिसकेका छन् । उतिबेला फोनिक्स साइकल हुने घर हातको औँलामा गन्न सकिन्थ्यो । तर अहिले गाडी हुने घर गन्नै मुस्किल पर्छ ।
अहिले गमिल्याउँदा लाग्छ, त्यो चौतारोदेखि यो चौतारोसम्म आउँदा धेरैथोक बदलियो । मान्छे बदलिए । देशमा विभिन्न तन्त्र आए । चनौलीको चौतारोले पञ्चायत देख्यो । बहुदल देख्यो । लोकतन्त्र देख्यो । अहिले गणतन्त्र पनि देखिरहेको छ ।
एउटै मान्छेलाई बच्चामा देख्यो, युवा अवस्थामा देख्यो । प्रौढावस्थाको साक्षी पनि बन्यो । र धेरैको मृत्यु पनि यसले देख्यो । अरू पनि के–के देख्यो, देख्यो । यसले अझै पनि के–के देख्नेवाला छ ।

त्यो बेलादेखि अहिलेसम्म धेरै कुरा फेरियो । चनौलीको चौतारो जहाँको त्यहीँ छ । एउटा अटल एवम् अविचलित रूपमा यसले सबैका क्रियाकलाप हेरिरहेको छ । हेरिरहनेछ ।

(विगत १७ वर्षदेखि जापानमा बसोबास गर्दैआएका पौडेल चनौलीका बासिन्दा हुन् ।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट