भरतपुर, १२ भदौ ।
आफ्नो थातथलो छाडेर खाना, छाना, नाना र शिक्षाका लागि हाम्रा पितापुर्खा एक ठाउँबाट अर्को ठाउँमा बसाइँ जाने गरेका थिए । त्यसरी बसाइँ आएकाहरुले आवाद गरेको भूमि हो चितवन । त्यसो त समथरका केही थारु र पहाडी भेगका चेपाङलाई छाड्ने हो भने चितवन पूरै आन्तरिक आप्रवासीको भूमि हो भन्दा फरक पर्दैन । त्यसैले यहाँ विविध संस्कृति भेटिन्छ ।
अचेल सुरक्षा, सेवा र सुविधाका लागि पनि त्यस्ता आप्रवासनका घटनाहरु हुने गरेका छन् । सुरुमा यसरी बसाइँ जानेलाई हावापानी, समाज र संस्कृतिले अप्ठ्यारो पार्ने गरेको देखिन्छ । पछि उनीहरु बिस्तारै घुलमिल हुन थाल्छन् । यसरी जीवन फेरि लयमा चल्न थाल्छ । अचेल यस्तो आप्रवासन देशभित्र मात्र होइन, देशबाहिर पनि हुने गरेको पाइन्छ । हिजोआज नेपालभित्र एसईई वा +२ उत्तीर्ण गर्ने बित्तिकैका युवा विदेशको सपना देख्न थालिहाल्छन् । सक्नेहरु युरोप, अस्ट्रेलिया र अमेरिकाको सपना देख्छन् । नसक्नेहरु खाडी मुलुकमै भए पनि आफ्नो भविष्य खोज्न तल्लीन हुन्छन् ।
यसरी प्रवास जानेहरुको विषयलाई अचेलको साहित्यले प्रशस्त चित्रण गरेको पाइन्छ । चाहे कविता होस्, चाहे कथा होस् वा उपन्यास, सबैले यस विषयमा रुचि देखाउन थालेका छन् । बेलायतमा बसेर आफ्नो भविष्य खोजिरहेका कथाकार भरतकुमार श्रेष्ठ ‘विवश’को नवीन कथासङ्ग्रह ‘अपहरण’का कथामा पनि यही विषयलाई मुख्य रुपमा उठाइएको छ ।
कथाकार विवशको जन्म वि.सं. २०३२ मा तनहुँको भिमादमा भएको हो । उनका पिता जगतबहादुर श्रेष्ठ हुन् भने माताको नाम मिसिरी श्रेष्ठ हो । उनले त्रिभुवन विश्वविद्यालयबाट वनविज्ञान र अङ्ग्रेजी साहित्यमा उच्च शिक्षा हासिल गरेका छन् । हाल उनी बेलायत बस्दै आएका छन् । उनको पहिलो कृति ‘यात्रा जिन्दगीको’ अनुभूति ग्रन्थका रुपमा प्रकाशित भएको छ भने दोस्रो कृति ‘अपहरण’ शीर्षकको कथासङ्ग्रह बजारमा आएको छ ।
‘अपहरण’ कथासङ्ग्रहका कथा प्रयुक्त भाव
शुक्ला साहित्य सङ्गम, तनहुँले प्रकाशित गरेको ‘अपहरण’ कथासङ्ग्रह (२०७९) मा जम्मा १२ वटा कथाहरु समेटिएका छन् । कूल ३५२ पृष्ठको आयाम ओगटेको यो कृतिभित्र कथाहरुले भने जम्मा ३३४ पृष्ठ ढाकेका छन् । घटीमा ९ पृष्ठदेखि बढीमा ५७ पृष्ठको आयाममा फैलिएका यी कथाहरु केही लामा खालका छन् । सङ्ग्रहभित्रको पहिलो कथा ‘खरानीमा फुलिरहेको मखमली’ ५७ पृष्ठको आयाम बोकेको सबैभन्दा लामो कथा हो भने चौथो कथा ‘मेरो सानो घर’ जम्मा ९ पृष्ठमा संरचित छोटो खालको कथा हो । अन्य कथाहरु ‘पुत्रमोहका जिजीविषाहरू’ले १५ पृष्ठ, ‘दलीय यात्रामा नागबेली जीवन’ले २१ पृष्ठ, ‘चिट पनि उही, पट पनि उही’ले २५ पृष्ठ, ‘घरकी बत्ती’ले २५ पृष्ठ, ‘तन कता कता, मन त उहीँ’ले ३० पृष्ठ, ‘बाँचे हाँस्न पाइन्छ’ले २४ पृष्ठ, ‘फाली खुस्किएको हलो’ले ३३ पृष्ठ, ‘धर्मले नसिकाएको कर्म’ले ३६ पृष्ठ, ‘नभेटिएको हिरा भेटिँदा’ले ४१ पृष्ठ र ‘हैन ‘म’ मिस्टर बिन’ले १८ पृष्ठको आयाम ओगटेको छ ।
‘अपहरण’ कथासङ्ग्रहको पहिलो कथा ‘खरानीमा फुलिरहेको मखमली’ मा दलन, अत्याचार, बलात्कारजस्ता समाजमा व्याप्त पीडाको चित्रण छ । दश कक्षामा पढ्दापढ्दै बलात्कारको शिकार भएकी मखमलीसँग उसले एसएलसी उत्तीर्ण गरेपछि उसकै ब्राह्मण जातका नारायण सरले विवाह गरेको र मखमलीलाई पढ्न प्रेरित गरेको प्रसङ्ग आएको छ ।
दोस्रो कथा ‘पुत्रमोहका जिजीविषाहरू’मा छोराको मोहमा परेकी महिलाले आफ्ना चार वटा छोरा बुहारीबाट प्रताडना भोग्नु परेको, दुःख पाएर वृद्धाश्रममा जानु परेको र अन्त्यमा छोरी ज्वाइँले आफ्नो घरमा लिएर गएको कुरा गरिएको छ । तेस्रो कथा ‘दलीय यात्रामा नागबेली जीवन’ राजनीतिक विषयवस्तुलाई चित्रण गरिएको कथा हो । जीवनभर एमालेको राजनीति गरेर पनि कुनै पार नलागेपछि नेपाली काङ्ग्रेसमा प्रवेश गरी मावि तहको स्थायी शिक्षक बनेको कुरालाई यसमा चित्रण गरिएको छ । माओवादी सशस्त्र द्वन्द्वका घटना पनि यो कथामा चित्रण गरिएको छ ।
सङ्ग्रहको चौथो कथा ‘मेरो सानो घर’ विदेश जान चाहनेको कथा हो । देशमा आफूले भनेजति कमाइ नभएपछि भएको शिक्षक जागिर छोडेर विदेश जान काठमाडौँ गएको तर म्यानपावर कम्पनीमा विदेशबाट विचल्लीमा परेर फर्केका व्यक्तिहरुसँग भेट भएपछि विदेशमोह त्यागेर गाउँ फर्केको घटना यो कथामा मार्मिक रुपमा चित्रण गरिएको छ ।
पाँचौँ कथा ‘चिट पनि उही, पट पनि उही’ कथा आदर्शवादी खालको कथा हो । गाउँमा छँदा ज्यादती गरी हिँड्ने धनेले विदेशमा गएर जेल बस्नु परेपछि सुध्रिएको र गाउँमा आएर सबैसँग माफी मागेको देखाएर कथालाई आदर्श मोडमा टुङ्ग्याइएको छ ।
छैटौँ कथा ‘घरकी बत्ती’मा आजको समयमा फेसबुकले पारेको नकारात्मक प्रभावको चित्रण गरिएको छ । फेसबुकबाट प्रेममा परी विवाह गरेर अस्ट्रेलिया जान चाहेकी अनुलाई विवाहपछि घात हुन्छ । गाउँको साथीको मायालाई लत्याएर यस्तो निर्णय गरेकी उसको उही पुरानो साथीसँग भेट हुन्छ । उसले स्वीकारेपछि उनीहरु घरजममा बाँधिन्छन् घरकी बत्ती बन्न पुगेको कुरा यो कथामा आएको छ ।
कथासङ्ग्रहको सातौँ कथा ‘तन कता कता, मन त उही’मा बेलायत बस्दै आएको गौरव र पोखरा बस्दै आएकी चाँदनीको प्रेमको प्रसङ्ग आएको छ । आफू विदेशमा बसेको भए पनि उसको मन नेपालमै भएको कुरा यो कथामा मार्मिक रुपमा गरिएको छ । यति मात्र नभएर कोरोना कहरको कुरा पनि यो कथामा गरिएको छ ।
आठौँ कथा ‘बाँचे हाँस्न पाइन्छ’मा बाध्यताले बालक कालमै विवाह गरेकी, छोरी जन्मिएपछि माइती र घर दुबैतिरबाट हेलाँ भएपछि घर छोडेर पोखरामा अरुको घरमा काम गरेकी, काम गर्दै पढाइलाई अगाडि बढाएकी र प्रगति गरेकी एक सङ्घर्षशील नारीको कथा हो । यसमा आफू ३१ वर्ष पुगेपछि १५ वर्षकी छोरीसँग उसको भेट भएको देखाइएको छ । यो पनि आदर्शवादी खालकै कथा हो ।
नवौँ कथा ‘फाली खुस्किएको हलो’मा डाक्टर पेसामा संलग्न पति पत्नीका पीडाहरु छन् । आफ्नी पत्नीलाई डाक्टरी पेसाबाट छुटाएर घरधन्दामा लगाउन चाहने डाक्टर पतिको कर्तुतहरु छताछुल्ल भएका छन् । अझ आफ्नो घरमा काम गर्न राखिएकी एउटी केटीसँग पल्किएर पत्नीलाई हेप्ने गरेको सन्दर्भ पनि कथामा आएको छ ।
कृतिभित्रको दशौँ कथा ‘धर्मले नसिकाएको कर्म’मा एउटा हिन्दु पुरुष र मुस्लिम युवतीका बीचमा भएको प्रेमको सन्दर्भ आएको छ । उनीहरुको प्रेमले विभिन्न आरोह अवरोह पार गरी परिवारको सहमतिमा विवाहमा पुगेर टुङ्ग्याइएको छ । त्यसैले यो कथा पनि आदर्शवादी खालकै कथा बनेको छ ।
एघारौँ कथा ‘नभेटिएको हिरा भेटिँदा’मा नेपालबाट पढाइको सिलसिलामा अमेरिका बस्ने गरेको युवाको पीडा छ । उसलाई बिर्सने खालको बाइपोलर डिस अर्डर रोग लागेको, त्यसमा उसलाई उसका साथी विष्णु र कृपाले सहयोग गरी निको बनाएका, कृपासँग विवाह भएको, नेपालमा २०७२ सालको महाभूकम्प गएको घटना वर्णित छन् । यसमा डिभीलाई हराएको हीराका रुपमा चित्रण गरिएको छ ।
बाह्रौँ अर्थात् अन्तिम कथा ‘हैन ‘म’ मिस्टर बिन’मा एउटा चौध वर्षे बालक नेपालबाट भागेर हङकङ हुँदै कोरिया पुगेको, त्यहाँ उसले निकै दुःख गरेको, साहुको मन जित्न सकेको, १४ वर्ष काम गरेपछि उसलाई नेपाल फर्काइएको र त्यतिबेला उसको साहु निकै भावुक बनेको कुरा गरिएको छ । ऊ नेपाल फर्किएपछि उसका परिवार खुसी भएको कुरा पनि गरिएको छ । उसको अनुहार मिस्टर बिनसँग मिल्ने हुनाले उसले कोरियामा पनि सास्ती भोगेको र पोखरामा पनि उसलाई कतिले मिस्टर बिन भन्ने गरेको ठट्यौलो खालको घटना पनि कथामा आएको छ । तर यो कथा ठट्टाभन्दा पनि दुःखको कथा बढी बनेको छ ।
समापन
कथाकार भरतकुमार श्रेष्ठलाई ‘अपहरण’ कथासङ्ग्रह प्रकाशित गरेकोमा साधुवाद छ । उनको आत्मपरक खालको वर्णनशैली राम्रो छ । तर कतिपय कथामा एकभन्दा बढी पात्रको कथा भन्ने क्रममा म पात्रका मुखबाट भन्न लगाउँदा पाठकले कथावाचक को हो ? ठम्याउन हम्मेहम्मे पर्ने स्थितिको सिर्जना भएको छ । कथाहरु निकै लामा छन् । पढ्दा दिक्क नलागे पनि पढ्नका लागि समय बढी दिनुपर्ने समस्या खडा भएको छ । घटनाको ज्यादा वर्णन गर्ने उनको शैली अङ्ग्रेजी साहित्यका पुरातन लेखक डीएच लरेन्सको जस्तो लाग्छ । आगामी सङ्ग्रहमा यस्तो नहोस्, चुस्त दुरुस्त कथाहरु पढ्न पाइयोस् । लामो लेख्ने धैर्यता भए उपन्यासमा काम गर्ने सल्लाह दिँदै यो कृतिको सफलताको शुभकामनासहित यो समीक्षाबाट विश्राम लिन्छु । भवतु सब्ब मङ्गलम् ।
(समीक्षक प्रभात अक्षर समूह चितवनका अध्यक्ष हुन् ।)





