देश लुट्ने साझा अभियानमा नेताहरु एक भए : विक्रम पाण्डे

भरतपुर, ७ भदौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेले देशलाई सिक्किमिकरण गर्ने षड्यन्त्र भैरहेको बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक भूपु सैनिक संगठन चितवनको कार्यसमिति गठन कार्यक्रममा बोल्दै पूर्वमन्त्री पाण्डेले सिद्धान्तहिन बनेका दलहरु विदेशीको इशारामा लागेको आरोप पनि लगाए । “अनेक बहाना बनाएर देशलाई सिक्किमिकरण गर्न छद्मवेशमा नेताहरु लागेका छन्”, उनले भने, “कमजोर भएँ, प्रधानमन्त्री बनाइदिनु, मेरा मान्छेलाई मन्त्री, सांसद बनाइदिनु भन्दै हिँड्न थालेका छन् ।” उनले संसदीय व्यवस्थानै ठिक छैन भन्दै हिँडेका नेताहरु अहिले अलमलिएको बटुवा सरह बनेको बताए । “पूर्व जाने पश्चिमतिर, पश्चिम जाने पूर्वतिर लागेको बटुवाजस्तै भएका छन्, देशमा आमुल परिवर्तन ल्याउने भन्दै हिँडेका दलहरु विदेशीको इशारामा नाचेका छन् ।” दलहरु देशलाई लुटेर खाने साझा अभियानमा लागेको आरोप पनि उनले लगाए । “अब राष्ट्रवादीहरु राष्ट्र बचाउन लाग्नुपर्छ”, उनले भने, “फेरी देशलाई संकटमा लैजान खोज्नेहरुलाई रोक्नुपर्छ ।” उनले भूपु सैनिकहरुले सिकेका युद्धकौशल, सीपलाई राष्ट्र निर्माणमा उपयोग गरिनुपर्ने बताए । सो अवसरमा राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकाल, उपाध्यक्ष जीवलाल पुरीलगायतले राष्ट्रवादीहरु एकजुट हुनुपर्नेमा जोड दिए ।

यसैबीच, राष्ट्रिय प्रजातान्त्रिक भूपु सैनिक संगठन चितवनको अध्यक्षमा भुवनराज देवकोटा चयन भएका छन् । देवकोटाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन भएको राप्रपा भरतपुर महानगरका सचिव सुलभ सिग्देलले जानकारी दिए । उपाध्यक्षमा बलविक्रम थापा र धनबहादुर गुरुङ, सचिवमा रवीन्द्र पाण्डे र हरिराम पण्डित चयन भए । कोषाध्यक्षमा वीरेन्द्र पाण्डे चयन भए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट