पाठकको अदालतमा लेखक ढकाल

भरतपुर, ५ भदौ ।
अक्षर समूह चितवनले शनिबार भरतपुरमा एक कार्यक्रमको आयोजना गरी उपन्यासकार महानन्द ढकाललाई पाठकको अदालतमा प्रस्तुत गरेको छ । ढकालको हालै प्रकाशित बुह्रान उपन्यासको अन्तरक्रिया कार्यक्रमका सिलसिलामा उनलाई पाठकको अदालतमा उभ्याइएको हो ।

‘पाठकको अदालतमा महानन्द ढकाल’ कार्यक्रमलाई गणेश श्रमणले सहजीकरण गरेका हुन् । श्रमणले उदय अधिकारी, रेशम विरही र लेखक ढकालसँग करिब १ घण्टा छलफल गरे । बुह्रान उपन्यासले उठाएका विषयमा सहजकर्ता श्रमणले अधिकारी, विरही र ढकालसँग वार्तालाप गरेका हुन् । छलफलका क्रममा वक्ताहरूले उपन्यासमा समेटिएको कथाका प्लटहरूमा थारूहरूका दुःख लिपिवद्ध भएको बताए ।
पुस्तकमा बसाइसराइका बाध्यता एवम् थारू समुदायमा लामो समयसम्म प्रचलित कमैया तथा कमलहरि प्रथाबाट सिर्जित अवस्थालाई समेटिएको छलफलका क्रममा वक्ताहरूले बताए ।

उपन्यासमा जातीय समानताका लागि अन्तरजातिय विवाह महत्वपूर्ण हुनसक्ने कुरा औंल्याउन खोजिएको छ । समान आर्थिक हैसियत भएका फरक समुदायका पार्वती र माइलामध्ये पार्वतीको जीवनस्तरमा परिर्वतन आउँदा माइलाको जीवनस्तरमा परिर्वतन नआउनुका कारणहरूको खोजी गरिएको छ । थारू जाति र उनीहरूले ज्यानको बाजी लगाएर गरिएका कन्द्रा आन्दोलन, कमैया, कमलरी, थरूहट र भूमिगत आन्दोलन आदिबाट प्राप्त उपलब्धिहरूको लेखाजोखा गरिएको छ । छलफलमा यी प्रसंगलाई वक्ताहरूले प्रमुखताका साथ चर्चा गरे ।

अन्तिममा न्यायाधीशको भूमिकामा रहेका एलबी क्षेत्रीले ढकालको पक्षमा फैसला सुनाए । ‘उपन्यासमा लेखकले पात्रहरुमाथि न्याय गर्ने प्रयास पुरापूर गरेकाले उनीहरूको खुसी र स्वतन्त्रताले नै ढकाललाई न्याय दिनुपर्छ भन्ने निचोडमा पुगेँ’, क्षेत्रीले भने, ‘यति राम्रो उपन्यास लेख्ने लेखकलाई आगामी पाँच वर्षभित्र दुई वटा उपन्यास लेख्ने सजाय तोकेको छु ।’

कार्यक्रमको अध्यक्षता गरेका रमेश प्रभातले बुह्रानका बारेमा बोल्दै विभिन्न सम्झौतामा अल्झेको माइला थारु अन्तिममा विद्रोहमा उत्रिएको प्रसंग पुस्तकको राम्रो पक्ष भएको बताए । कार्यक्रममा पाठकहरूले पनि लेखक ढकाललाई विभिन्न जिज्ञासा राखेका थिए ।
समूहका पूर्वअध्यक्ष प्रभाकर पण्डितको स्वागतपछि अन्तरक्रिया कार्यक्रमका प्रमुख वक्ता हेरम्बकुमार असीमले बुह्रान थारू समुदायको समग्र चित्रण भएको बताए । ‘बुह्रान भूगोल हो, सपना पनि हो, यसमा अपूर्ण क्रान्तिको वर्णन छ’ असीमले भने, ‘पुस्तकमा सम्पादकको ध्यान नपुग्दा वर्णविन्यासगत गल्तीहरू बग्रेल्ती छन् ।’

सांग्रिला बुक्सले बजारमा ल्याएको पुस्तकको मूल्य ५९५ रुपैयाँ रहेको छ । यस पुस्तकलाई सम्पूर्ण किताबले वितरणको जिम्मा लिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट