बोझापोखरी सवस्टेशन र स्थानीयबीच ५ बुँदे सहमति

देवचुली, २४ साउन ।
नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको ३३ केभी लाइनको अवरोध गर्ने स्थानीय र आयोजनाबीच ५ बुँदे सहमति भएको छ । देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपाने र नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको रोहबरमा देवचुली- ९ को लोकाहा पुलदेखि पूर्वतर्फ निर्माण कार्यमा अवरोध भएको क्षेत्रका स्थानीयसँग छ्लफल गरि सहमति भएको हो ।

लोकाहा पुलदेखि पूर्वको विशालटारको मुख्य बाटोमा पहिलेदेखि रहेको पोलहरु रहेकै स्थानमा नयाँ पोल गाडी पुरानो पोल निकालेर ३३ केभी र घरमा जाने एलटी लाइनलाई कभर्ड तारबाट तान्ने ,लाइन निर्माणका क्रममा कुनै पनि स्थानीय व्यक्तिको निजी सम्पतिलाई क्षति नहुनेगरि काम गर्ने, विशालटार क्षेत्रमा गर्नुपर्ने अन्य विद्युत सुधारका कामहरु गर्ने र रत्ने चोकमा रहेको ट्रान्सर्फमर स्थानीयले जग्गा उपलब्ध गराएको स्थानमा सार्ने, लोकाहा पुलदेखि पूर्व गोरेघुम्तीसम्म एबीसी कभर्ड तार तान्ने र बाँकी स्थानमा समेत क्रमशः कभर्ड तार प्रयोग गरिदिने, सहमति पश्चात स्थानीय र आयोजनाले समन्वय गरि तुरुन्तै निर्माण कार्य सुचारु गर्ने, गराउने र सो कार्यमा स्थानीयबाट कुनै अवरोध नगर्ने गरि ५ बुँदे सहमति गरिएको हो ।

समस्या समाधानका लागि मंगलबार भएको छ्लफलमा स्थानीय हेमबहादुर रावलले सुरक्षित रुपमा लाइन विस्तार नगरेसम्म लाइनको काम गर्न समुदायले अवरोध गरेको बताए । हामीलाई असर हुनेगरि लाइनको काम नगर्न पटकपटक अनुरोध गर्दा नमानेपछि बाध्य भई अवरोध गरिएको उनले बताए ।

त्यस्तै विभिन्न स्थानबाट पोल बिस्तार भएकोमा पछि ठाउँ परिवर्तन गरि आफ्नो क्षेत्रबाट ३३ केभी लाइन लैजाँदा विशालटारबासी त्रसित भएको स्थानीय दीपक भट्टराईले बताए । आयोजनाले राम्रोसँग स्थानीयको कुरा नसुनीदिँदा समस्या भएको भट्टराईले बताए ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले उज्यालो गण्डकी कार्यक्रम अन्तर्गत बुलिङटार गाउँपालिकाका जनताहरुलाई विद्युत पहुँच पुर्‍याउने सरकारको अभियानलाई समुदायले सहजीकरण गर्नुपर्ने बताए । सुरक्षित लाइन विस्तारका लागि स्थानीयसँग समन्वय गरेर काम गर्न आयोजनाले ध्यान दिनुपर्ने बताए ।

कभर्ड तारको प्रयोग गरि समुदायलाई असर नपर्ने गरि काम गर्न, रत्ने चोकमा रहेको ट्रान्सर्फमर अन्य स्थानमा सार्न र स्थानीय व्यक्तिको निजी सम्पतिलाई क्षति नहुनेगरि आयोजनाले काम गर्नुपर्ने देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेले बताए । त्यसै आयोजना डिभिजन प्रमुख विनोद पन्थीले सहमतिका लागि पटकपटक बैठक बसिरहेको र सहमतिकै आधारमा लाइन विस्तार गरिने बताए ।

छलफल कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपाने, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी, नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठक, सशस्त्र प्रहरी नायव उपरीक्षक विनोद खतिवडा, देवचुली वडा नम्बर १३ का वडाध्यक्ष एकदेव पौडेल, कार्यपालिका सदस्य मधुमाया गुरुङ्ग, नेपाल विद्युत प्राधिकरण कावासोतीका प्रमुख अमित कर्ण, आयोजना डिभिजन प्रमुख विनोद पन्थी, स्थानीय हेमबहादुर रावल, विष्णु भुसाल, दीपक भट्टराईलगायतका स्थानीयहरुको उपस्थिति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट