पुरस्कारको सूचीमा परेका पुस्तक नै पाठकको रोजाई

भरतपुर, २३ साउन ।
चितवनमा साहित्यिक किताबको बिक्रीवितरण र चर्चा अन्य जिल्लाको तुलनामा धेरै हुने गर्दछ । पुस्तक प्रकाशक, वितरक तथा लेखक स्वयंले पनि बेलाबेलामा यो कुरा भन्ने गरेका छन् । चितवनमा साहित्यिक किताबका पाठक धेरै भएका कारणले प्रकाशक र लेखकहरू आफ्नो किताब चितवनमा छिटो पठाउन र पुस्तकको विमोचन तथा परिचर्चा गर्न पनि रुचि राख्छन् । सोही अनुसार चितवनमा हप्तैपिच्छे कुनै न कुनै किताबको अन्तरक्रिया तथा विमोचन भइरहेको हुन्छ ।

जिल्लाका पुस्तक पसलहरूमा फाट्टफुट्ट साहित्यिक किताबको बिक्री भैरहेको व्यवसायीहरू बताउँछन् । सप्तगण्डकी क्याम्पस गेट अगाडि रहेको न्यू गण्डकी पुस्तक पसलका संचालक खडानन्द दवाडीका अनुसार पुरस्कारको मनोनयनमा परेका र पुरस्कार पाएका किताबको खोजी धेरै हुने गरेको छ । स्थानीय लेखकका कृतिहरू पनि आफ्नो पसलबाट धेरै बिक्री भएको दवाडीले बताए ।

सोमबार मदन पुरस्कार- २०७८ को अन्तिम सूची सार्वजनिक भयो । नेपालको सबैभन्दा ठूलो र प्रतिष्ठित पुरस्कारका रूपमा मदन पुरस्कारलाई लिइन्छ । मदन पुरस्कार पाएका किताबहरू वर्षाैँसम्म पनि नियमितरूपमा बिक्री भैरहेका हुन्छन् । पुस्तक बजारमा किताब नबेच्ने तर स्टेसनरी सामग्रीहरू मात्रै बेच्ने पसलमा पनि पुरस्कार प्राप्त गरेका कृतिहरू भने सजाएर राखिएको देख्न सकिन्छ ।
सौराहाचोकस्थित न्यू नेशनल बुक्स एण्ड स्टेसनरीका संचालक डिलिन्द्र पौडेल भन्छन्, ‘बेलाबेलामा कसैकसैले किताब खोजिहाल्नु हुन्छ, कुन किताब भनेर सोध्यो भने पुरस्कार पाएकै किताबको नाम लिनुहुन्छ । बेच्न पनि सजिलो हुन्छ ।’

सोमबार सार्वजनिक भएको मदन पुरस्कार–२०७८ को श्रेष्ठ सूचीमा डा. नवराज लम्सालको ‘अग्नि’, डा. दामोदर पुडासैनी ‘किशोर’ को ‘ग्रिष्मको नीलो बतास’, वसन्त बस्नेतको ‘महाभारा’, दीपा मेवाहाङ राईको ‘यादको सन्दुक’, डा. नयनाथ पौडेलको ‘लिच्छवि लिपि’, डा. नीलमणि ढुंगानाको ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’, सुजित मैनालीको ‘सती–इतिहास र मीमांसा’ र पद्मसुन्दर जोशीको ‘हिति प्रणाली’ पुस्तक श्रेष्ठ सूचीमा परेका हुन् । सूचीमा परेका यिनै ८ पुस्तकमध्ये एउटा पुस्तकले २०७८ सालको मदन पुरस्कार प्राप्त गर्नेछ ।

मदन पुरस्कारपछि धेरै चर्चा हुने अर्काे प्रतिष्ठित पुरस्कार पद्मश्री हो । यो पुरस्कार पाउने किताबको पनि बजारमा राम्रै माग हुने गरेको मास्के पुस्तक भण्डारका संचालक सरोज मास्के बताउँछन् । पद्मश्री पुरस्कारले श्रेष्ठ सूची भनेर अघिल्लो महिना १५ वटा किताबको नाम सार्वजनिक गरेको थियो । जसमा डा. नवराज लम्सालको ‘अग्नि’, केशवराज ज्ञवालीको ‘अर्काे भोर’, दीनानाथ शर्माको ‘एक सम्बोधन समयमाथि’, राजबको ‘काफ्काको काम सकियो’, कविता राईको ‘गुरू’, लोकराज भट्टको ‘छाइल’, दिलिप बान्तवाको ‘ताल्चा’, अलका आत्रेयको ‘निनाद वल्लरी’, राजेन्द्रमान डंगोलको ‘पैतालामा हिउँ, आँखामा हिमाल’, उषा हमालको ‘भिक्षुसँग प्रेम’, डा. विप्लव ढकालको ‘भोजपुरको वाङ्मय’, वसन्त बस्नेतको ‘महाभारा’, दीपक पराजुलीको ‘मिथ्या’, केबल बिनाबीको ‘यादहरूको संग्रहालय’ र गिरीश गिरीले लेखेको ‘सत्यमोहन’ रहेका थिए ।
पुरस्कार समितिले यी १५ वटा किताबमध्येबाट पनि अघिल्लो साता उत्कृष्ट ५ भनेर अद्यावधिक सूची सार्वजनिक गरेको छ । उत्कृष्ट पाँच कृतिमा नवराज लम्सालको अग्नि, केवशराज ज्ञवालीको अर्काे भोर, उषा हमालको भिक्षुसँग प्रेम, दीपक पराजुलीको मिथ्या र केबल बिनाबीको यादहरुको संग्रहालय छन् । यी ५ किताबको सूचीबाट कुनै एउटा किताबले पद्मश्री पुरस्कार प्राप्त गर्नेछ ।

पुरस्कारको श्रेष्ठ सूची सार्वजनिक भएपछि पाठकहरूमाझ ती कृतिको चर्चा हुने गर्दछ । सूचीमा अटाएका किताब अधिकांश पाठकले पढिसकेका हुन्छन् भने पढ्न छुटाएका पाठकले पनि ती पुस्तक संकलन गरेर राख्न चाहन्छन् । ‘पुरस्कारको सूचीमा परेका किताबलाई हामीले सेटै बनाएर राख्ने गरेका छौँ’, नारायणगढस्थित सम्पूर्ण किताबका संचालक शिरिषा सापकोटाले भनिन्, ‘पाठकले यस्ता किताब एकैपटक खरिद गर्न चाहन्छन्, स्कुल कलेजका पुस्तकालय र सामुदायिक पुस्तकालयले पनि यस्तै किताबलाई संकलन गर्न खोज्छन् ।’ कतिपय पाठकले पनि यस्तै सूचीमा परेका किताबलाई सजिलोसँग आफ्नो छनोटमा पार्ने गरेको सापकोटाले बताइन् ।

कथाकार वसन्त पराजुलीले किताबको सूची सार्वजनिक हुँदा पढ्ने किताब छनोट गर्न सजिलो लागेको बताए । ‘बजारमा धेरै किताब आउँछन्, कुन किताब पढ्ने कुन छोड्ने अलमल भएको बेलामा सूची सार्वजनिक हुँदा पाठकलाई सजिलो भएको हुनुपर्छ’, पराजुलीले भने ।

`मोसो´ उपन्यासका लेखक सूर्यप्रकाश कँडेल पुस्तकको सफलताको मानक पुरस्कारलाई मान्दैनन्, तर पुरस्कारले लेखकलाई आफ्नो कर्ममा दत्तचित्त भएर लाग्न प्रेरित गर्ने र उत्साहित बनाउने उनको ठम्याई छ । उनी भन्छन्, ‘पुस्तक छनौट गर्न अलमलमा परेका लेखक वा पाठकलाई ठूला पुरस्कारका सूचीले सहयोग पुर्‍याउँछ । त्यसैले यस्ता सूचीलाई सहयोगी सूचीका रुपमा लिनु पर्छ ।’

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट