गैँडाकोट, २२ साउन ।
नेकपा (एमाले) का सांसद तिलक महतोले गैँडाकोट नगरपालिकामा मेयर र उपमेयर गुमाउनु परेको स्थानीय निर्वाचनको क्षतिपूर्ति मंसिर ४ गते हुने बताएका छन् । आइतबार गैँडाकोटमा अखिल नेपाल महिला संघ गैँडाकोट नगर कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद महतले गोल खाइयो भन्दैमा खेलाडीले फुटबल खेल्न नछाड्ने बताए ।
सांसद महतले गैँडाकोटमा नेकपा एमालेले हार्दा सुखी नेपाली, समृद्ध नेपालको सपनामा धक्का लागेको विचार व्यक्त गरे । उनले जितमा खुसी हुने र हारमा निरास हुने भइयो भने जिन्दगीका योजनाहरु सफल हुन नसक्ने बताए । हार्नेहरुले फेरि जित्ने उनको भनाइ थियो ।
सांसद महतले बुलिङ्टार गाउँपालिकामा ३२ वर्षपछि काँग्रेसले हार्नु एमालेका लागि ठूलो उपलब्धि भएको बताए । उनले कुनै पनि मानिस समस्याविहीन नहुने भन्दै समस्याबाट माथि उठेर पार्टीको झण्डा उठाउनु पर्ने बताउनु भएको थियो ।
महिलालाई ५० प्रतिशत प्रतिनिधित्व
अखिल नेपाल महिला संघ गैँडाकोट नगर कमिटीको दोस्रो अधिवेशनमा मन्तव्य व्यक्त गर्ने वक्ताहरुले महिलालाई ५० प्रतिशत प्रतिनिधित्व दिइनुपर्ने बताएका छन् । गैँडाकोट नगरपालिकाका निवर्तमान मेयर एवं नेकपा (एमाले) जिल्ला सचिवालय सदस्य छत्रराज पौडेलले महिलालाई कम्तीमा पनि ५० प्रतिशत प्रतिनिधित्व हुनुपर्छ भनेर आवाज उठिरहँदा पनि आज ३३ प्रतिशतको हाराहारीमा महिला वर्गलाई नेतृत्वमा पुर्याउन सफल भएको बताए ।
नेकपा एमाले सरकारमा गयो भने महिलाका हक र अधिकार सुनिश्चित हुने उनको भनाइ थियो ।
संघकी नगर अध्यक्ष गीता तिवारीको अध्यक्षतामा सम्पन्न अधिवेशन उद्घाटन समारोहलाई नेकपा एमालेका केन्द्रीय सदस्यद्वय रविन्द्र अधिकारी र कृष्ण पौडेल, नेकपा एमाले गैँडाकोट नगर अध्यक्ष षडानन्द लामिछाने र कावासोती नगर अध्यक्ष रामकृष्ण ढुंगाना लगायतले सम्बोधन गरेका थिए ।
संघकी नगर उपाध्यक्ष योगमाया तिवारीले स्वागत मन्तब्य ब्यक्त गरेको उक्त कार्यक्रमको सञ्चालन नगर सचिव पार्वती ज्ञवाली सापकोटाले गरेकी थिइन् ।





