देवचुली, २० साउन ।
देवचुलीमा बाढीबाट क्षति भएको क्षेत्रमा तत्कालै मर्मतको काम गरिने भएको छ । बाढीबाट क्षति भएको क्षेत्रमा प्राविधिकसहित देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले शुक्रबार अवलोकन गरेका छन् । अवलोकनसँगै नगरप्रमुखले क्षतिग्रस्त क्षेत्रमा तत्काल काम गर्न निर्देशन दिएका छन् ।
केही दिन अघिको वर्षाका कारण बौलाहा खोलामा आएको बाढीले देवचुली- ३, ५ र १२ नम्बर वडामा पुर्याएको क्षती साथै देवचुली ८ र ९ नम्बर वडामा सिँचाइ हुने लोकाहा खोलामा रहेको बाँधमा पुर्याएको क्षतीको स्थलगत अवलोकन गरिएको हो ।
बौलाहा खोलाले देवचुली ३, ५ र १२ नम्बर वडामा क्षति पुर्याएको ठाउँमा तत्काल तटबन्धन गर्ने र सिँचाइ कुलाको क्षेत्रमा तटबन्धन गरि पानी पठाउने नगर प्रमुख न्यौपानेले बताए । नगर प्रमुख न्यौपानेका अनुसार नगरपालिकाबाट विपद व्यवस्थापनमा छुट्याइएको बजेटबाट तत्कालै काम गरिनेछ । खोलाको कटान रोक्नका लागि तत्काल लागत स्टेमेट तयार गरि काम अगाडी बढाउने ईन्जिनियर टीकाराम बस्यालले बताए ।
अवलोकनमा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी, विपद व्यवस्थापन समितिको संयोजक तथा देवचुली वडा नम्बर ३ का अध्यक्ष होमनाथ पौडेल, देवचुली वडा नम्बर ५ का अध्यक्ष कृष्णप्रसाद सापकोटा, देवचुली वडा नम्बर ८ का अध्यक्ष नुनप्रसाद बाचे, देवचुली वडा नम्बर ९ का अध्यक्ष बलिराम सापकोटा र देवचुली नगरपालिकाका ईन्जिनियर टीकाराम बस्यालसहितको टिम पुगेको थियो ।




