काठमाडौं, २० साउन।
आगामी निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि समिति गठन गरेको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका नेता सम्मिलित ११ सदस्यीय समिति गठन गरेको हो ।
समितिमा कांग्रेसबाट कृष्ण सिटौला, ज्ञानेन्द्रबहादुर कार्की र गगन थापा, नेकपा माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन सदस्य रहेका छन् ।
नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव वेदुराम भुसाल, जनता समाजवादी पार्टी (जसपा) बाट रकम चेम्जोङ र रामसहायप्रसाद यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् । समितिलाई भदौभित्र सिट बाँडफाँटको निर्णयसहित प्रतिवेदन बुझाउन भनिएको छ ।
पाँच दलबीच संघ र प्रदेशको निर्वाचनमा पनि तालमेल गर्ने सहमति भएको छ ।




