भरतपुर,१९ साउन ।
सरकारले आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि र प्रदेशसभाको चुनाव गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ४ मंसिरमा चुनाव गर्ने निर्णय गरेको हो ।
सत्ता गठबन्धनका शीर्ष नेताबीच भएको सहमतिअनुसार मन्त्रिपरिषद् बैठकले ४ मंसिरमा चुनाव गर्ने निर्णय गरेको हो । बुधबार बसेको गठबन्धनको बैठकले चुनावको मिति घोषणाका लागि सरकारलाई सुझाव दिने निर्णय गरेको थियो ।
गठबन्धनको सुझावअनुसार नै चुनावको मिति घोषणा भएको हो । यसअघि निर्वाचन आयोगले मंसिरको २ गते चुनावको मिति घोषणा गर्न सरकारलाई प्रस्ताव गरेको थियो ।
तर, प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावका लागि मंसिर ४ गते उपयुक्त हुने बताएका थिए । देउवाका ज्योतिषीले चुनावका लागि मंसिर ४ उपयुक्त मिति रहेको सुझाव बालुवाटारमा पेस गरेको बताइन्छ ।





