भरतपुर, १८ साउन ।
टिबी हिमालको नेतृत्वमा डाेजर अपरेटर चालक संघ पुनर्गठन भएको छ । केन्द्रीय संघको चितवनमा सम्पन्न चौथो साधारणसभा एवम् १९औँ विशेष भेलाले हिमालकाे नेतृत्वमा नयाँ कमिटी पुनः गठन गरेको हाे ।
नवगठित संघको उपाध्यक्षमा बैकुण्ठप्रसाद रिजाल र रमेश सापकोटा, सचिवमा मीनबहादुर घिसिङ, सहसचिव लक्ष्मण विक र काेषाध्यक्ष मनाेज दर्जीसहित पदाधिकारी निर्विरोध चयन भएका छन् ।
यस्तै सदस्यहरूमा कमल रसाइली, प्रदीप विक, उमेश विक र अर्जुनबावु न्याैपाने चयन गरिएको नवनिर्वाचित अध्यक्ष हिमालले जानकारी दिए ।
कार्यक्रममा स्वतन्त्र चालक समाजका केन्द्रीय अध्यक्ष मिलन श्रेष्ठले मजदुर एकता नै आजकाे आवश्यकता रहेको बताउँदै समस्या हुँदा मात्रै संगठन खाेजिएकाे गुनासो गरे । प्रमुख अतिथिसमेत रहेका अध्यक्ष श्रेष्ठले राजनीतिक दलहरूले आफूहरूलाई साधनको रूपमा प्रयोग गरिरहेकाले त्यसलाई ताेड्नुपर्नेमा जाेड दिए । जिल्ला समन्वय समिति चितवनकी उपाध्यक्ष कल्पना काफ्ले सापकोटाले मजदुरको समस्या सम्बाेधनका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । संस्थागत एकता लागि केन्द्रीकृत हुन उनले सुझाव दिए ।
महिला अधिकारकर्मी एवं मजदुर नेता सावित्री पाैडेलले चालकका समस्या समाधानका लागि राज्य उदासीन भएको आराेप लगाउँदै नीति नियम कार्यान्वयनमा गर्नुपर्नेमा समेत जाेड दिइन् ।
कार्यक्रममा स्वतन्त्र चालक समाजका केन्द्रीय प्रवक्ता रेशमराज पाैडेल, कर्णाली प्रदेशका पहिलो अपरेटर दिनेश वयक, वरिष्ठ डाेजर मेकानिक कमल रसाइली, जनवादी गायक भेष रसाइली, आसिहारा काईकुन प्रशिक्षक अमृत विक, संस्थाका संस्थापक काेषाध्यक्ष मनाेज परियारलगायतको अतिथि थिए ।
नवगठित कमिटीको पहिलो बैठकले सहकारी माेडलमा काेष खडा गर्ने निर्णय गरेको छ । योसँगै देशव्यापी सदस्यता वितरण कार्यलाई समेत अघि बढाउने संघका सचिव मीनबहादुर घिसिङले जानकारी दिए ।





