देवचुली, १७ साउन ।
पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत देवचुली नगर खण्डमा बिग्रिएको सडक मर्मत गरिने भएको छ । मंगलबार देवचुली नगरपालिका र बुटवल-नारायणगढ सडक निर्माण आयोजनाका प्रतिनिधिहरु बिच भएको छलफलमा यथाशीघ्र सडक मर्मत गरि आवागमन सहज गर्ने निर्णय भएको हो ।
देवचुली नगरपालिकाको तर्फबाट नगर प्रमुख हरिप्रसाद न्यौपाने, उप प्रमुख पार्वता तिवारी, नगर प्रवक्ता तिलप्रसाद काफ्ले, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी र एडिबीका आयोजना निर्देशक सुशिलबाबु ढकाल, चाईना स्टेट कम्पनीका नेपाल प्रतिनिधि सु यान, सडक विभागका ईन्जिनियर धिरज ढकाल, बुटवल नारायणगढ पूर्वीखण्ड आयोजना प्रमुख रमेश दृष्टिलगायतको उपस्थितमा छ्लफल गरिएको हो ।
बुटवल – नारायणगढ सडकखण्डको स्तरोन्नतिको क्रममा बिग्रिएका सडकका कारण दैनिक यात्रुहरुलाई सास्ती भएको गुनासो आएसँगै नगरपालिकाको पहलमा उक्त छलफलको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।छलफलमा सडक मर्मतसँगै सडक मर्मतमा आवश्यक पर्ने माटोलगायतका अन्य सामग्रीको लागि नगरपालिकाले सहजीकरण गर्ने समेत निर्णय भएको छ ।
यस खण्डको सडक पानी पर्नासाथ हिलो र घाम लाग्नासाथ धुलो उड्नुका साथै सानादेखि ठुला खाडलहरु दुर्घटनाको कारण बनेकाले नगरपालिकाले आयोजना निर्माण कम्पनीसँग छलफल गरि तुरुन्त सडक मर्मत गर्न लगाएको नगर प्रमुख न्यौपानेले बताए ।




