जिरोबाट हिरो बनेको नारायणी नमुना मावि

भरतपुर, १३ साउन

तत्कालीन नारायणी रात्रि हाइस्कुल यतिबेला नारायणी नमुना माविका रूपमा देशभर चर्चित छ । २०७८ मा लिइएको कक्षा १० को राष्ट्रिय परीक्षा एसइईमा यहाँका एक विद्यार्थीले ४ जिपिए ल्याएपछि झनै यो विद्यालयको चर्चा बढेको छ । यहाँबाट एसइई दिएका प्रशान्त अधिकारीले यसपालि ४ जिपिए अंक हासिल गरे । यो विद्यालयबाट ४ जिपिए आएको यो पहिलोपल्ट हो ।

हाल ३ हजार ५ सय विद्यार्थी अध्ययनरत यो विद्यालयको सफलता रातारात हात लागेको भने होइन । कुनैबेला एसएलसी परीक्षाको नतिजामा शून्य हात लागेको यो विद्यालयलाई ‘जिरोबाट हिरो’ भएको विद्यालयका रूपमा चिन्दा हुन्छ । त्यो किनभने यहाँबाट २०३८ सालमा एसएलसीमा सहभागी विद्यार्थी कोही पनि उत्तीर्ण भएनन् । अहिले यहाँका अधिकांश विद्यार्थी उच्च अंक ल्याएर उत्तीर्ण हुन्छन् ।

यो विद्यालयलाई अझै पनि पुरानो पुस्ताले ‘नाइट स्कुल’ भनेर चिन्छन् । सानो झुप्रोमा मइन्टोल बालेर रात्रि कक्षा सञ्चाल हुन्थे । प्रौढ स्कुलका रूपमा २०२० साल जेठ ६ गतेबाट नारायणी रात्रि हाइस्कुल सञ्चालनमा आएको थियो । तत्कालीन राष्ट्रिय प्राथमिक विद्यालय भरतपुरको खुलाचौरमा सानो झुप्रोमा करिब ७ महिना ७ कक्षा सुरु भयो । हावाहुरीले बत्ती निभाइदिने, झुप्रो भत्काइदिने समस्या आएपछि रात्रि हाइस्कुल हालको चितवन माविको तत्कालीन पुरानो भवनमा ५ कोठा भाडामा लिएर सञ्चालनमा ल्याइयो । त्योबेला वीरेन्द्र क्याम्पसको रात्रि कक्षासमेत सोही विद्यालयकै भवनमा चल्थे ।

“जागिरे, दिउँसो स्कुल जान नभ्याउने विद्यार्थी त्यो बेलामा पढ्न आउँथे”, यस विद्यालयलाई प्रधानाध्यापकको रूपमा १४ वर्ष नेतृत्व गरेका र अहिले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका टेकबहादुर थापाले विगत स्मरण गर्दै भने, “कमजोर विद्यार्थी बढी हुन्थे, ऊबेला रिजल्ट ज्यादै कमजोर थियो ।” २०३८ सालको एसएलसीमा शून्य नतिजा आउँदा ज्यादै चोट परेको उनले बताए ।

उनका अनुसार तह वृद्धि गर्न चाहने विद्यार्थी वा सामान्य लेखपढ गर्न जानेका विद्यार्थीसमेत कक्षा ७ मा भर्ना हुन सक्थे । “हामी उकालोबाट ओरालो झर्दै कक्षा चलाएका थियौँ”, कायाकैरनसँगको कुनै एउटा बसाइमा उनले लामो इतिहास कोट्याउँदै भनेका थिए– “सुरुमा मावि तह, त्यसपछि निमावि तह, त्यसपछि प्रावि तह हुँदै कक्षा विस्तार भएका थिए ।”

२०२४ साल फागुन १६ गते विद्यालयले स्वीकृति पाएको थियो । वन सीमा क्षेत्रबमे जग्गालाई २०२५ सालमा खनजोत गरेर विद्यालयको नाममा ओगटिएको थियो । त्यो बेला हालको विद्यालयको जग्गा ऐलानी थियो । २०२८ सालमा नयाँ शिक्षा योजना लागू भएपछि ८ देखि १० कक्षा रात्रि समयमा चलाउने स्वीकृति पाएपछि विद्यालय आफ्नै भवनमा सरेको थियो ।

भरतपुर निम्न माध्यमिक विद्यालय कक्षा ४ देखि ७ सम्म नयाँ भवनमा दिउँसो सञ्चालन भएको थियो । रात्रि हाइस्कुलमा शिक्षक अधिकांश भरतपुर अस्पतालका कर्मचारी थिए । २०४९ सालदेखि कक्षा १ देखि १० सम्मका कक्षा दिउँसो सञ्चालन भएको थियो । “सुरुका वर्षमा यो विद्यालयको छवि राम्रो थिएन”, उनले भने, “थोरै विद्यार्थी, कमजोर विद्यार्थीले भरिएको विद्यालयका रूपमा चित्रण हुन्थ्यो, रिजल्ट पनि उस्तै थियो ।”

विद्यालयको गिर्दो नतिजादेखि हैरान भएका थापाको नेतृत्वमा गुणस्तर सुधारका लागि नयाँ प्रयास सुरु भए २०४९ साल तिरबाट । उनी त्यसै साल विद्यालयको प्रधानाध्यापक बनेका हुन् । सुरुमा हप्ताको ३–३ दिन अंग्रेजी र गणितको थप कक्षा लिन सुरु गरियो । हल्ला पनि गर्ने, केही राम्रा विद्यार्थी तान्ने र विद्यार्थीको स्तरअनुसार सेक्सन विभाजन गर्ने भनेर त्यसपछि प्रवेश परीक्षा लिई विद्यार्थी भर्ना गर्न सुरु भयो । तेस्रो प्रयासस्वरुप उत्तीर्ण प्रतिशत ३२ बाट बढाएर ४० बनाइयो ।

“पछि प्रथम त्रैमासिक र अर्ध वार्षिक परीक्षामा पास नभए माथिल्लो कक्षामा जान नसक्ने व्यवस्था ग¥यौँ”, थापासँग लामो समय सहकार्य गरेका हालका प्रधानाध्यापक पूर्णप्रसाद दवाडी भन्छन्– “यी सब हल्लाका लागि मात्रै गरिएको थियो । तर, यसले गर्दा विद्यार्थीहरु सुरुदेखि नै मिहिनेत गरेर पढ्न थाले । यसले गर्दा बाहिरबाट पनि मिहिनेती विद्यार्थी आउन थाले र गुणस्तर सुधार हुन थाल्यो ।”

२०५७/५८ मा पुगेपछि विद्यालयले जिल्लामा प्रथम हुन सुरु ग¥यो । लगातार ८/१० वर्ष विद्यालय जिल्ला प्रथम हुँदै गयो । २०६८ सालदेखि नेपाल सरकारले राष्ट्रियरूपमा पनि मूल्यांकन सुरु गरेपछि पहिलो वर्ष मध्यमाञ्चल आठौँ भयो । २०६९ मा राष्ट्रिय पाँचौँ भयो । २०७० मा छैटौंँ, २०७१ मा एक्साइसाँैं, २०७२ मा राष्ट्रिय दोस्रो र मध्यमाञ्चल प्रथम भयो । २०७३ मा देशभरको दोस्रो र ३ नम्बर प्रदेशको उत्कृष्ट विद्यालय बन्न सफल भयो ।

अनि नमुना भयो

सरकारी लगानीमा स्थापना भएको नारायणी मावि संस्थागत विद्यालयसँगको प्रतिस्पर्धामा निकै अगाडि छ । यो विद्यालय अहिले उचित शैक्षिक गन्तव्यका रूपमा परिचित छ । विद्यालयको नाममा ६ विघा ४ कठ्ठा १४ धुर जग्गा छ । जसमध्ये नजिकैको सप्तगण्डकी क्याम्पसलाई १ विघा भोगचलनका लागि दिइएको छ ।

२ विघामा नारायणी पोलिटेक्निक इन्स्टिच्युट निर्माण भएको छ । अहिले ३ वर्षे सूचना प्रविधि डिप्लोमा कक्षा सञ्चालनमा छ । कक्षा ११ र १२ मा मा व्यवस्थापन र विज्ञान विषय पढाइ हुन्छन् । सबै कक्षामा अंग्रेजी तथा नेपाली दुबै माध्यममा पढाइ हुन्छन् । अतिरिक्त कक्षासमेत सञ्चालन हुने गर्छन् ।

२०५७ सालदेखि बौद्धिक तथा दृष्टिविहीन विद्यार्थीलाई छुट्टै इकाइ नै बनाएर पढाउने गरिएको छ । “विद्यालयले अहिलेको अवस्थासम्म आइपुग्न धेरै नै मेहनत गरेको छ”, प्रधानाध्यापक पूर्णप्रसाद दवाडी भन्छन्– “हाम्रो शैक्षिक नतिजा लगातार उही गतिमा सुधार भइरहेको छ, १० कक्षाको एसइई र १२ कक्षाको एसएलसीका नतिजा हामीले राम्रो गरिरहेको प्रमाण हुन् ।”

शिक्षा मन्त्रालयले २०६९ सालमा १ सय ५१ सूचकमाथि अध्ययन विश्लेषण गरी यो विद्यालयलाई ‘नमुना मावि’ का रूपमा घोषणा गरेको थियो ।

राष्ट्रियस्तरमै उत्कृष्ट 

तत्कालीन रात्रि हाइस्कुलका पालमा जिल्ला एसएलसी परीक्षामा सहभागी विद्यार्थी २०२४ सालमा जिल्ला प्रथम भएका थिए । २०५६ सालदेखि यो विद्यालयले जिल्लास्तरीय मूल्यांकनमा अग्रस्थानमा रहँदै आएको थियो । २०६८ सालदेखि निरन्तर यो विद्यालयले राष्ट्रियस्तरमा आफ्नो छवि कायमै राख्यो । र विभिन्न उतारचढावमाझ यो ख्याती जारी नै छ । “देशभरिकै विद्यालयमध्ये उत्कृट कायम भइरहनु ज्यादै चूनौतीपूर्ण कार्य हो”, दवाडी भन्छन्– “यी सबै चुनौती चिर्न हाम्रो सामुहिक प्रयासले सम्भव भएको हो ।”

यसपालि एसइईमा ४ जिपिए ल्याउने विद्यार्थी प्रशान्त अधिकारीलाई बधाई दिँदै प्रधानाध्यापक पूर्णप्रसाद दवाडी, साथमा प्रशान्तका अभिभावक

उनले विद्यालयको यो सफलतामा शिक्षकको भूमिका महत्त्वपूर्ण रहेको बताए । “शिक्षकले बढी समय नदिने, अनुभवी शिक्षक नहुने हो भने नतिजा सुधार गर्न ज्यादै मुस्किल पर्छ”, उनले भने, “थप कक्षा चलाउन, विद्यार्थीलाई ‘काउन्सिलिङ’ गर्न शिक्षक शिक्षिकाको लगाव नै महत्त्वपूर्ण छ ।” उनले विद्यार्थीलाई घरमा पढ्ने वातावरण तयार गर्ने अभिभावकको समर्पणले कमजोर विद्यार्थीको नतिजा सुधार गर्न सघाएको बताए ।

नारायणीले अन्यत्रका उत्कृष्ट विद्यार्थी ल्याएर नतिजा राम्रो देखाउँछ अनि हामीले बनायौँ भन्छ भन्ने आरोप बजारमा छ नि भन्ने प्रश्नमा प्रधानाध्यापक दवाडी भन्छन्– “यो कुरामा सत्यता छैन, भन्नेहरूलाई भन्न दिनुस् । तर, सत्य के हो भने केही राम्रो वातावरण पाएका विद्यार्थीलाई हामीले मेहनत गरेर उत्कृष्ट बनाउँछौँ । केही वर्ष अन्त राम्रो गरेका विद्यार्थीलाई हामीलाई ल्याएर खुला छोडिदिने हो भने यति राम्रो नतिजा त्यत्तिकै आउन्न थियो होला नि ।”

यसैपालि पनि करिब २ सय विद्यार्थीलाई लागि प्रवेश परीक्षा लिँदा २ हजार २ सय विद्यार्थीले परीक्षा दिए । स्कुल परिसरमा मेलाजस्तै भीड लागेको थियो ।

यस्तो दृश्य हेर्दा नारायणी माविमा सबैको पहुँच नभएको देखिन्छ नि भन्ने जिज्ञासामा दवाडी भन्छन्– “हाम्रा पनि बाध्यता छन्, विद्यार्थी थुपारेर मात्रै हुँदैन, हाम्रा जनशक्ति हुनुप¥यो, स्रोतसाधन हुनुप¥यो, कक्षा कोठा हुनुप¥यो । त्यही सीमितताले गर्दा आउन खोजेका सबैलाई हामी राख्न सक्दैनौँ ।”

प्रवेश परीक्षाको बेला यहाँका व्यवस्थापकहरूले फोन अफ गरेर बस्नुपर्ने हुन्छ । विद्यार्थीलाई भर्ना गरिदिन भन्दै उच्च पदस्थ व्यक्तिहरूसम्मको फोन आएर हैरानी खेप्नुपर्ने हुन्छ ।

विद्यालयका प्रधानाध्यापक पूर्ण प्रसाद दवाडीसँगको कुराकानी हेर्नुहोस् :

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट