भरतपुर, १२ साउन ।
अपराधिक घटनामा विभिन्न मुद्दा खेपेका र ११ वर्ष जेलजीवन बिताइसकेका चितवनका र्याक्स भनिने साेचेन्द्र राईलाई प्रहरीले अदालत पेश गरेकाे छ ।
पछिल्लाेपटक पूर्वीचितवनको खैरहनीमा भएकाे एक सांघातिक हमलाका मुख्य अभियुक्त उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको टाेलीले बुधबार काठमाडौं पक्राउ गरेकाे थियाे ।
गत वैशाख २४ गते खैरहनी-६, सुनगाभा टोलका ३५ वर्षीय कुमार थापा मगरलाई धारिलोे हतियार प्रहार गरी गम्भीर घाइते बनाइ फरार रहेका राप्ती नगरपालिका–४ खहरेपुलका ३२ वर्षीय राईलाई बुधबार रातारात चितवन ल्याएर बिहीबार अदालत उपस्थित गराइएकाे हाे ।
अभियुक्त राईलाई चितवनबाट खटिएको प्रहरी टोलीले बुधवार प्रहरी वृत बालाजुको समन्वयमा काठमाडौँको तारकेश्वर –१० मनमैजुबाट प्रक्राउ गरेको थियाे। उनको साथबाट प्रहरीले १ थान खुकुरी, ७ थान मोबाइल सेट, ९ थान एन्सेल र नेपाल टेलिकमको सिमसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) नरहरि अधिकारीले जानकारी दिए ।
प्रवक्ता अधिकारी अनुसार राईविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ ज्यानसम्बन्धी कसुरको दफा १८३ को उपदफा २ बमोजिम हुने सजायमा संगठित अपराध निवारण ऐन, २०७० को दफा ९ को (क) बमोजिम थप सजाय हुनुपर्ने मागदाबी लिई असार २३ गते अदालतमा मुद्दा दायर गरिएको थियाे । त्यसपछि राईको नाममा चितवन जिल्ला अदालतले असार २७ गते पक्राउ पुर्जी र हाजिर हुन आउने म्याद जारी गरेकाे थियाे ।
पटकपटक जेल
प्रहरीले व्यापक खाेजी गरिरहेका राई यसअघि पनि थुप्रै मुद्दामा दाेषी ठहर भई जेल बसेका थिए । प्रहरीले दिएकाे जानकारीअनुसार उनी कर्तव्य ज्यान १, डाँका १, चोरी ३ वटा गरी पाँच वटा मुद्दामा संलग्न रही पटकपटक कारागरमा कैद बसेका थिए । उनी पछिल्लोपटक ११ वर्ष कारागारमा कैद भुक्तान गरी २०७७ साल जेठ १५ गते गणतन्त्र दिवसको दिनमा छुटेका थिए ।
त्यस्तै उनीविरुद्ध अहिले पनि ३ मुद्दा छन् । उनीविरुद्ध २०७९ वैशाख ११ गते काभ्रेपलान्चोकका लीलाबहादुर तामाङलाई खुकुरी प्रहार गरेको अभियोगमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । त्यस्तै इलाका प्रहरी कार्यालय गजुरी, धादिङमा मोटरसाइकल चोरी मुद्दासमेत दर्ता भई अनुसन्धानको क्रममा समेत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी अधिकारीले जानकारी दिए ।





