भरतपुर, १२ साउन ।
चितवन भरतपुरमा शारदा रेडिमिक्स कंक्रिट प्रालिको शुभारम्भ गरिएको छ ।
छिटो र सरितोरुपमा विकास निर्माणमा सहयोग पुर्याउने लक्ष्यका साथ भरतपुरमा शारदा रेडिमिक्स कंक्रिट प्रालि सञ्चालनमा आएको हो ।
भौतिक पूर्वाधार निर्माणको बढ्दो क्रमलाई मध्यनजर गर्दै भरतपुर महानगरमा ठूलो परिमाणको कंक्रिट उत्पादन क्षमता सहितको शारदा रेडिमिक्स कंक्रिट १८ कठ्ठा जग्गामा फैलिएको छ ।
रेडिमिक्सका अध्यक्ष सुरेन्द्र विक्रम रावलले औपचारिक पूजाआजासहित भरतपुर १६ स्थित शिवघाटमा उद्योगको शुभारम्भ गरेका थिए ।
उद्योगले एम १०, एम १५, एम २०, एम २५ र एम ३० गरी ५ प्रकारका सामग्रीहरु उत्पादन गर्ने अध्यक्ष रावलले बताए ।
बजारको माग अनुसार राम्रो सेवा, उच्च गुणस्तरीय सामग्री उत्पादन गरेर विभिन्न ठाउँमा सेवा पुर्याउने रावलले आशा राखे ।
अरोमा विल्डरका अध्यक्ष, शारदा रेडिमिक्समा सञ्चालक तथा इन्जिनियर अजय कुमार सिंहले भवनको सम्पूर्ण डिजाईन तथा फिलिङ गरेका हुन् ।
रेडिमिक्समा सुरेन्द्र विक्रम रावल, राजेन्द्र विक्रम रावल, रवि शमशमेर थापा, सुधिर कुमार ढकाल र अजय कुमार सिंहसहित ५ जनाको लगानी रहेको छ ।
उद्योगले प्रतिघण्टा ८० घनमिटर कंक्रिट उत्पादन गर्ने सञ्चालक रावलको दावी छ । आवासीय घर, व्यवसायीक ठूला महलहरु, सडक, पुललगायतमा ढलान गर्न आवश्यक पर्ने कंक्रिट उत्पादन गरी चितवन, हेटौडा, बुटवल र दमौलीसम्म सेवा उपलब्ध गराउने लक्ष्य रहेको रावलले बताए ।
उनका अनुसार यस उद्योगबाट उत्पादित कंक्रिट प्रयोग गर्दा गुणस्तरीय ढलान हुनुका साथै उपभोक्ताको समयको समेत बचत हुनेछ । ४० तलासम्मको ढलानलाई सजिलै कंक्रिट माथि पठाउन सक्ने उद्योगले जनाएको छ । उद्योग सञ्चालनको लागि ५ जना उद्यमीले १० करोड रुपैयाँ लगानी गरेको जनाइएको छ ।
झण्डै एक सय जनालाई रोजगारी उपलब्ध गराइएको उद्योगले जनाएको छ ।
उद्योगसँग सुरुवाती चरणमा ५ वटा ट्रान्जिष्ट मिक्स्चर, मोलिपम्प, जेसीबी, अफिसियल बोलेरोलगायतका साधनहरु रहेका छन् । बुम पम्प भने आउने प्रक्रियामा रहेको छ ।
शारदा कम्पनीको रेडिमिक्स कंक्रिट तेस्रो कम्पनी हो । पहिलो कम्पनी शारदा पेट्रोल पम्प र दास्रो शारदा ट्राभल्स एण्ड टुर्स हो । जसले सौराहादेखि काठमाडौँसम्म र सौराहादेखि पोखरासम्म पर्यटन बसहरु सञ्चालन गर्दै आईरहेको छ । यस्तै शारदा कम्पनीलाई अब शारदा ग्रुपकै अगाडी बढाई भरतपुरमा नयाँ होटल खोल्ने तयारी पनि रहेको छ ।





