भरतपुर, १० साउन ।
नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल (इन्जा)ले यस वर्षको इन्जा ग्रामीण पत्रकारिता पुरस्कार सप्तरीकी दीपा कर्ण र सिन्धुपाल्चोकको मेलम्ची रेडियोलाई प्रदान गर्ने निर्णय गरेको छ । पचास/पचास हजार राशी सहित पत्रकार कर्ण र मेलम्ची रेडियोलाई पुरस्कृत गर्ने निर्णय इन्जा निर्णायक मण्डलले सोमबार गरेको इन्जाका केन्द्रीय उपाध्यक्ष एवं इन्जा एशियाका अध्यक्ष टंक पन्तले जानकारी गराए ।
एक दशक अगाडि देखि सप्तरीको स्थानीय रेडियो हुँदै राष्ट्रिय सञ्चारमाध्यममार्फत मैथिली भाषाको विकास, संरक्षण र प्रवर्द्धन एवं मधेशका समाचार प्रवाहमा उल्लेख्य योगदान पुर्याउँदै आएकी युवा पत्रकार दीपा कर्णले ग्रामीण जीवन त्यसमा पनि तराईमा लैंगिक समानताका लागि पत्रकारिता मार्फत आफ्नो क्रियाशीलता बढाउँदै आएकी छन् ।
त्यसैगरी ग्रामीण आवाजलाई उजागर गर्ने उद्धेश्यले २०६९ सालमा सिन्धुपाल्चोकको मेलम्चीबाट प्रसारणमा आएको रेडियो मेलम्ची १०७.२ मेघाहर्जले आफनो प्रसारणमार्फत त्यहाँका स्थानीय नागरिकहरुलाई सुसुचित गर्ने र उनीहरुका आवाजलाई जस्ताको तस्तै सम्प्रेषण गरेर सामुदायिक रेडियोको मर्मलाई आत्मसात गरेको छ । ०७२ सालको विनाशकारी भुकम्प र गत वर्ष इन्द्रावती र मेलम्ची खोलामा आएको विनाशकारी बाढीले रेडियोका प्रसारण यन्त्र र महत्त्वपूर्ण कागजातहरुमा क्षति पुर्याए पनि त्यस रेडियो तत्काल अस्थायी संरचनाको स्टुडियोमार्फत प्रसारण गरेर भएपनि नागरिकको आवाज र सूचनाको हकलाई उजागर गर्ने दायित्वबाट पछि परेन । यसले गर्दा सामुदायिक रेडियो प्रतिको जनविश्वास अझ मजबुत बनाएको छ ।
त्यसैगरी एक लाख राशीको सहितको इन्जा खोजी पत्रकारिता पुरस्कार पत्रकार गजेन्द्र बुढाथोकीलाई प्रदान गर्ने र पचास/पचास हजार राशी सहितको इन्जा बौद्धिक पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार कपिल काफ्ले र त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभागका उपप्राध्यापक देवराज अर्याललाई प्रदान गर्ने गरी निर्णायक मण्डलले यस अघि नै घोषणा गरिसकेको छ । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल इन्जाको पाँचौं वार्षिकोत्सव एवं इन्जाडेको अवसरमा यहि साउन १४ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यतामा शनिबार आयोजना गरिने विशेष कार्यक्रममा पुरस्कार वितरणसँगै वरिष्ठ पत्रकार हरि लम्साल, अग्रज पत्रकार गोपाल शर्मा र संचारिका समूहकी निवर्तमान अध्यक्ष नितु पण्डितलाई सम्मान गरिने भएको छ ।




