विद्यार्थीलाई कुलतबाट टाढा राख्न पाठ्यसामग्री

रत्ननगर, २५ असार ।
जिल्ला प्रहरी कार्यालय चितवनले विद्यार्थीलाई कुलत र अपराधबाट जोगाउन शिक्षण संस्था आधारित पाठ्यसामग्री निर्माण गरेको छ । स्थानीय सरकार–समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत उक्त कार्यालयले पाठ्यसामग्री निर्माण गरी शिक्षण संस्थासम्म पुर्‍याउने अभियान सुरु गरेको छ ।

यसको पहिलो प्रयास स्वरुप रत्ननगर नगरपालिकासँग सहकार्य गरेको छ । शनिबार रत्ननगर टाँडीमा आयोजित कार्यक्रममा नगरपालिकाभरका शिक्षण संस्थासँग समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । त्यहाँ रहेका सामुदायिक तथा संस्थागत विद्यालय र क्याम्पससँग समझदारी गरिएपछि प्रहरीले तयार गरेको पाठ्यसामग्री हस्तान्तरण गरिएको छ । यौन दुर्व्यवहार, लागूपदार्थ दुर्व्यसनी, साइबर अपराधलगायत किशोर एवं युवावस्थामा आइपर्ने समस्या, कारण र यसबाट दूर रहन अपनाउन सकिने उपायहरू पाठ्यसामग्रीमा सिकाइएका छन् ।
“पछिल्ला समय विद्यालय तथा क्याम्पसमा यौन दुव्र्यवहार र लागूपदार्थको दुव्र्यसन बढेका कारण समस्या भएको छ”, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले भने– “हामीले कैयौँ घटना देखेका छौँ, जसले शिक्षण संस्था शान्तिपूर्ण क्षेत्र होइन, कुरुक्षेत्र बन्ने डर बढेको छ ।” त्यही हुन नदिनका लागि स्कुले र क्याम्पस पढ्ने विद्यार्थीका लागि यो पाठ्यसामग्री तयार गरिएको उनले बताए । “समुदायमा सूचना पुर्‍याउने प्रमुख माध्यम नै शिक्षक विद्यार्थी हुन्”, उनले भने– “त्यसैले उनीहरूलाई नै सन्देशको प्रमुख बाहक बनाइएको हो ।”

कार्यक्रममा प्रमुख अतिथि रहेका रत्ननगर नगर प्रमुख प्रलाद सापकोटाले हरेक शिक्षण संस्थामा अनिवार्य लागू भए यो पाठ्यसामग्रीले शान्तिपूर्ण समाज निर्माण र समाज रुपान्तरणमा ठूलो भूमिका निर्वाह गर्ने बताए । “लागूपदार्थ प्रयोग र यस्तै कारणले मेरा केटाकेटी थुनिए भनेर मलाई दैनिक कम्तीमा १० फोन आउँछन्”, उनले भने– “यस्तो अवस्था हटाउनका लागि एक मात्रै माध्यम शिक्षा नै हो ।” उनले नगरपालिकाभित्रका हरेक शिक्षण संस्थालाई यो पाठ्यसामग्री भरपुर उपयोग गर्न र शिक्षक–विद्यार्थी दुबैलाई पठाउन अनुरोध गरे । लागू भए/नभएको अनुगमन गर्न नगरपालिका आउने उनले बताए । जिल्ला प्रहरी प्रमुख अधिकारीले पनि अनुगमन गर्ने बताएका थिए । १ महिनामा अनुगमन गरी नगरपालिका र प्रहरी दुबैले समीक्षा गरी अभियान विस्तार गर्ने उनले बताए ।

कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ महिला अधिकारकर्मी मीना खरेलले यौन दुर्व्यवहार, लागूऔषध दुरुपयोग र साइबर अपराध अहिलेको प्रमुख समस्या भएको बताइन् । यसलाई घटाउन यो कार्यक्रम प्रभावकारी हुने उनले बताइन् । “दैनिक ६ जना बालिका यौन दुव्र्यवहारमा परेका छन्, १८ जनाले त आत्महत्या गर्दा रहेछन्”, उनले भनिन्– “यस्ता समस्या हल गर्ने भनेको विद्यालय शिक्षाले नै हो ।”

प्रहरीले बनाएको पाठ्यसामग्रीमा युवा र किशोरावस्थामा आउने समस्या, दुर्व्यसन, गलत व्यवहार, अपराध, आत्महत्यालगायतको कारण र समाधानका उपाय सुझाइएका छन् । प्रहरीले यस पाठ्यसामगग्रीलाई विद्यालयको पाठ्यभारमै समेटेर जान अनुरोध गरेको छ । प्रहरी उपरीक्षक अधिकारीले कम्तीमा १० नम्बर बराबरको पाठ्यभार यसलाई छुट्याइदियो भने सबै विद्यार्थीले अनिवार्य पढ्ने बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट